Media Network

आँखा पाक्ने रोगबाट कसरी जोगिने ?


खबरस्टोरी संवाददाता

२५ श्रावण २०८०,बिहीबार

काठमाडौँ।अहिले आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । साना बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ, जसका कारण गण्डकी प्रदेशमा विद्यालयमा समेत बिदा दिइएको छ ।

यस्तोमा आँखा पाक्ने रोगबाट कसरी जोगिने भन्ने धेरैलाई चिन्ता भइरहेको हुन्छ । यसबाट जोगिने मुख्य उपाय सरसफाइमा ध्यान दिनु हो । आँखा पाक्ने समस्या भइहालेमा निम्न कुरामा ध्यान पु¥याउनुपर्छ ।

साबुनपानीले हात धुने

आँखा पाक्ने व्यक्तिलाई छुँदा, उसले प्रयोग गरेका सामान छुँदा र आँखामा औषधि लगाइसकेपछि साबुनपानीले हात धुनुपर्छ । किनकि आँखा पाक्ने रोग आँसु र कचेराका कारण सर्ने गर्छ । यी सबै गरिसकेपछि हात धुँदा संक्रमण हुने जोखिम न्यून हुन्छ । त्यसैले हेलचेक्र्याइँ नगरी आँखा पाक्ने रोग लागेका मानिससँग प्रत्यक्ष सम्पर्कमा आउँदा हात धुने गर्नुपर्छ ।

छुट्टै सुत्ने

आँखा पाकेको छ भने त्यस्ता व्यक्ति निको नभएसम्म छुट्टै कोठामा सुत्नु राम्रो हुन्छ । यसो गर्दा संक्रमित व्यक्तिको घरका अरु सामानसँग प्रत्यक्ष सम्पर्क हुन पाउँदैन र सर्ने सम्भावना कम हुन्छ । त्यस्तै आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल, तकिया, लुगा, मोबाइल, ल्यापटप लगायत सामान अरुले प्रयोग नगर्नु उत्तम हुन्छ ।

मुख धुने

आँखा पाकेको बेला पटकपटक मुख धुनुपर्छ । यसबेला आँसु बगिरहने र कचेरा आइरहने भएकाले मुख धुँदा ती आँसु र कचेरा पखालिन्छन् । जसले अरुलाई सर्ने सम्भावना न्यून हुन्छ । तर आँखालाई हातमा पानी राखेर झिमझिम गर्ने वा आँखालाई बल गरेर धुने कार्य भने गर्नुहुँदैन । यसले संक्रमण बढ्न सक्छ । त्यसैले आँखा चिम्लेर दैनिक चार–पाँच पटक धुन सकिन्छ ।

चश्मा लगाउने

आँखा पाकेका व्यक्तिले कालो चश्मा लगाएर बस्नुपर्छ । यसो गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । साथै आँखाको नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठ्यारो र चिडचिडापन हुने भएकाले त्यसबाट जोगाउन मद्दत गर्छ । साथै संक्रमित आँखामा थप बाह्य संक्रमण हुनबाट रोक्न पनि मद्दत गर्छ ।

एन्टिबायोटिक प्रयोग गर्ने                                 

आँखा पाकेमा चिकित्सकलाई जाँच गराएर एन्टिबायोटिक लगाउन सकिन्छ । दिनको तीनदेखि पाँच पटकसम्म यसलाई लगाउन सकिन्छ ।

भीडभाडबाट टाढा रहने

आँखा पाकेको छ भने भीडभाडमा हुने स्थान जस्तै, विद्यालय, पार्क र मलमा जानुहुँदैन । सकेसम्म घरमै बस्दा उचित हुन्छ । यसले गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । प्रायः बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई यो रोग चाँडै सर्छ ।

आँखा पाकेपछि के गर्ने?

साबुनपानीले राम्ररी हात धुने,

आँखा सफा राख्ने,

आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुनपानीले हात धुने,

फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,

दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,

आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,

अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,

आफूखुशी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,

आँखा बेस्सरी नमिच्ने। यसो गर्दा कर्नियामा घाउ हुन सक्छ, कहिलेकाहीं आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ।

संक्रमितसँग नसुत्ने, भीडभाड हुने ठाउँमा नजाने,

सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,

कालो चश्माको प्रयोग गर्ने

Share:
Reaction :
ताजा समाचार
खेलकुद