Media Network

हिमाली क्षेत्रमा गरिएको वृक्षरोपणले पशुपालकहरू मर्कामा


khabarstory

१५ चैत्र २०७७,आईतवार

जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न र वनको क्षेत्रफल बढाउन विश्वव्यापी रूपमा नै व्यापक वृक्षरोपणलाई प्रोत्साहन गरिएको छ । यद्यपि, वृक्षरोपण परियोजनाहरूले पशुपालकहरूलाई विस्थापित गर्न सक्दछन् र तिनीहरूको जीविकोपार्जनलाई जोखिममा पार्न सक्दछन् । पशुपालहरूले आफ्नो परम्परागत पेसा छाडेमा उनीहरू हिँड्ने क्षेत्रमा भू-स्खलन हुनुका साथै पर्यावरणीय क्षति समेत पुग्न सक्दछ।

भारत र अमेरिकाका अनुसन्धानकर्ताहरूले हालै प्रकाशित आफ्नो अध्ययन प्रतिवेदनमा विगतका पाँच दशकहरूमा पश्चिमी हिमालीक्षेत्रका हिउँदे चरन क्षेत्रहरूमा सञ्चालन गरिएका वृक्षरोपण कार्यक्रमहरूले गड्डी पशुपालकहरूको जीवनमा कसरी नराम्रो असर पारेको छ भनेर खोजेका छन् ।

हिमाञ्चल प्रदेशको काँगरा जिल्लामा बसोवास गर्ने गड्डी समुदायमा सन् २०१८/१९ मा गरिएको अनुसन्धानको प्रतिवेदन ‘इकोलोजी एण्ड सोसाइटी’ जर्नलमा प्रकाशित भएको थियो । अनुसन्धान अमेरिकी अन्तरिक्ष संस्था (नासा) को भूमि प्रयोग परिवर्तन कार्यक्रमद्वारा सहयोग गरिएको थियो । अनुसन्धानले ६५८ हेक्टरमा फैलिएका ६४ स्थानहरूलाई समेटेको थियो ।

वृक्षरोपण कार्यक्रम

प्रतिवेदनका अनुसार, सन् १९५० देखि २००५ सम्ममा भारत सरकारले देशको १० प्रतिशत भूभागमा वृक्षरोपण (हाल भएको वन क्षेत्रको करिब आधा) भएको बताएको थियो । हिमाञ्चल प्रदेश वन विभागको तथ्याङ्कले पनि गड्डीहरू हिँड्ने मार्गहरूमा त्यस्तै व्यापक वृक्षरोपण भएको सङ्केत गर्दछ।

यति मात्र हो‍‍इन, भारतले पशुपालन जस्ता ग्रामीण जीविकोपार्जनका माध्यमहरूलाई पर्ने असरलाई ध्यान नै नदिई संयुक्त राष्ट्र संघलाई बुझाएको आफ्नो जलवायु प्रतिवद्धतामा देशमा वनको क्षेत्रफल २१ प्रतिशतबाट ३३ प्रतिशत सम्म पुर्‍याउने प्रतिवद्धता जनाएको छ ।

हिमाञ्चल प्रदेशमा गरिएको वृक्षरोपणका ’boutमा प्रश्न गर्दा वन विभागका राजेश शर्माले भने, ‘सन् २०१५ मा भारतले पेरिस सम्झौता अन्तर्गत २.५ देखि ३ अर्ब टन सम्मको कार्बन सोस्न सक्ने क्षमताको विकास गर्न सन् २०३० सम्ममा ४५ लाख हेक्टर क्षेत्रमा रुख रोप्ने प्रतिबद्धता जनाएको थियो । यो लक्ष्यलाई सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूका बीच भौगोलिक स्थिति र पहिले भएको वन क्षेत्रको आधारमा भाग लगाइएको थियो । हिमाञ्चल प्रदेशले हरेक वर्ष १०,००० हेक्टरमा रुख रोप्ने आफ्नो लक्ष्य सफलताका साथ पूरा गर्दै आएको छ ।’

तर, भारत अझै आफ्नो लक्ष्य भन्दा पछाडि रहेको देखिन्छ । विज्ञान र प्रविधिसम्बन्धी संसदीय स्थायी समितिले फेब्रुअरी १२, २०२० मा जारी गरेको ‘भारतमा वनको स्थिति’ रिपोर्टका अनुसार राष्ट्रिय वृक्षरोपण कार्यक्रमअन्तर्गत वृक्षरोपण गतिविधिमा उल्लेख्य गिरावट आएको छ । कार्यक्रमअन्तर्गत सन् २०१३-१४ मा ८०,५८३ हेक्टरमा वृक्षरोपण गरिएको थियो भने सन् २०१५-१६ मा यो सङ्ख्या ३२,९८६ हेक्टरमा झरेको थियो । समितिले ग्रीन इन्डियन मिसन र राष्ट्रिय वृक्षरोपण कार्यक्रमका विभिन्न कार्यक्रमहरूलाई चाहिने भन्दा कम बजेट दिइएको सङ्केत गरेको थियो ।

RITZ

Shikhar Insurance

गड्डीहरूमा प्रभाव

धौलाधार क्षेत्रमा सयौँ वर्षअघिदेखि भेडा-बाख्रा चराउँदै हिँड्ने गड्डीहरू कृषि तथा पशुपालनमा निर्भर छन् । गड्डीहरूलाई भारत सरकारले अनुसूचित जातिको मान्यतासमेत दिएको  छ ।

हामीले दशकौँदेखि [बढेको] वृक्षरोपणका कारण भेडा-बाख्रालाई उपलब्ध घाँसको मात्रा घटेको, मिचाहा प्रजातिहरूको फैलिएको, घुमन्ते जातिहरूको मार्ग अवरुद्ध भएको र उनीहरूको जमिनमाथिको पहुँच परिवर्तन भएको पत्ता लगायौँ, अन्वेषकहरूले उक्त प्रतिवेदनमा लेखेका छन् ।

गड्डीहरू हिउँदमा घाँस खोज्दै काँगराका तल्ला भेगहरूमा झर्छन् भने गर्मी याममा काँगरा, चम्बा, लाहौल र स्पिती उपत्यकाका माथिल्ला भेगमा सर्ने गर्दछन् ।

वनसँगै गड्डीरूले उच्च भूभागमा रहेका सार्वजनिक तथा निजी जग्गाहरू समेत प्रयोग गर्ने गर्दछन् । माथिल्लो भेगमा रहका सार्वजनिक जग्गामा भेडा चराउन वन विभागले इजाजत पत्र दिन्छ भने गाउँको नजिक रहेका चरनहरूको प्रयोग गर्न स्थानीय सरकारको स्वीकृती चाहिन्छ । निजी जग्गामा भेडा चराउन भने कृषकहरूसितको व्यक्तिगत सम्बन्ध जरुरी हुन्छ ।

गड्डीहरूको बसोवास रहेको हिमाञ्चल प्रदेशमा पर्ने चाँदपुर । [तस्विर : आभा जोग्लेकर]

गड्डीहरूको बसोबास रहेको हिमाञ्चल प्रदेशमा पर्ने चाँदपुर । [तस्वीर : आभा जोग्लेकर]

जीविकामा असर

वृक्षरोपणले गड्डीहरूको जीवनयापनलाई अझै जोखिमयुक्त बनाएको छ । जग्गाहरूमा पर्खाल लगाइएको छ भने तिनीहरू हिँड्ने मार्गहरूमा अवरोध खडा भएका छन् । जनावरहरूले नखाने प्रजातिका रुखहरू रोपिएकाले पशुहरूका लागि यहाँ कम चारा उपलब्ध छ । नयाँ वृक्षरोपणले मिचाहा झाडीहरू फैलिनका लागि उचित वातावरण तयार पार्दछन् । यस्ता मिचाहा वनस्पतिले पशुहरूको स्वास्थ्य र वृद्धिमा समेत असर पार्ने देखिएको छ ।

देहरादुनस्थित पारिस्थितिक प्रणाली, विकास तथा अनुसन्धान केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता तथा प्रतिवेदनका सह-लेखक, विजय रामप्रसादले भने, ‘वृक्षरोपणले स्थानीय वनस्पतिका प्रजातिहरूको संरचनामा परिवर्तन ल्याएको छ र घाँसको उपलब्धतामा पनि असर पारेको छ । वृक्षरोपण गरिसकेपछि लगाइने पर्खालले घुमन्तेहरूलाई आफू हिँड्ने मार्ग परिवर्तन गर्न बाध्य पार्दछ र चरनहरूमा उनीहरूको पहुँचलाई असर पर्दछ ।’

काँगराको थाला गाउँकी रत्न देवी भन्छिन्, गत वर्ष उनको बगालका २५० भेडा-बाख्रा मध्ये १८० अज्ञात बोटमा चरेर बिरामी परे र एकै चोटि मरे । घटनाले उनलाई निकै मर्माहत बनाएको थियो । तर यो धटनाका बाबजुद उनको परिवारले बगाललाई निरन्तरता दियो र फेरि बाख्रा र भेडामा लगानी पनि गरेको थियो ।

गड्डीहरूले दूध, मासु र ऊन बेचेर आफ्नो जीविका चलाउँछन् । तर अहिले आएर उनीहरू हुर्किनसकेका जनावरहरू पनि बेच्न थालेका छन् ।

त्यसै क्षेत्रका अर्का गड्डी मुसाफिर रामले भने, ‘कलिला [जनावरहरू] लाई नचिनेका बिरुवाले हानि गर्ने सम्भावना बढी हुन्छ । धेरै जना [मानिसहरूले] हिउँदमा माथि सर्नु भन्दा पहिले साना बाख्रा र भेडा बेच्न खोज्दछन् ।’

बाख्राहरूले वृक्षरोपण गरिएको ठाउँमा ‘कुल्चीमिल्ची’ गर्न सक्दछन् भने भेडा झाडीमा अल्झिए भने तिनले दिने ऊन बिग्रिन्छ र आम्दानी घट्दछ । त्यसैले मानिसहरू भेडा भन्दा धेरै बाख्रा पाल्न बाध्य भएका छन् ।

अनुपयुक्त रुखहरू

अन्वेषकहरूका अनुसार विगत ४० वर्षमा वन विभागले रोपेका रुखका प्रायजसो प्रजातिहरू पशुहरूको आहाराका लागि अनुपयुक्त छन् । सन् १९९० को दशकसम्म, सरकारी वृक्षरोपण कार्यक्रमहरूले फराकिलो पात भएका रुखको प्रजातिहरू (जस्तै कटुस र खयर) र घाँसे मैदानहरूलाई व्यापारिक रुपमा फाइदाजनक चोप र काठ उत्पादन हुने रूखहरूले प्रतिस्थापन गरेका थिए । यी प्रजातिहरू जनावरहरूले खाँदैनन् । हालसालै आएर रैथाने फराकिला पात हुने प्रजातिहरूमा बढी जोड दिइएको छ, तर झाडी, जडीबुटीहरू र चरन मैदानहरू अझै उपेक्षित छन् ।

गड्डी जातिकै गोविन्द जीत प्रतिवेदनमा उल्लेख गरिएको एउटा कुरासित सहमत भए, ‘हामीले के देखेका छौँ भने जाडोको याममा जनावरहरूले खाने घाँस र पीपल जस्ता बोटबिरुवाहरू अब देखिन छोडेका छन् ।’

न्यून सफलता

त्यसमाथि, नयाँ वृक्षरोपण अन्तर्गतका विरुवाहरूको सफलता दर एकदमै निराशाजनक छ । धेरै जसो ठाउँहरूमा स्थानीय गाउँलेहरूले वृक्षरोपण गरिएका स्थानहरूको मर्मत सम्भारमा मद्दत समेत गर्दैनन् । तल्लो काँगराको लपियाना गाउँका गड्डी उदद्म सिंहले भने, ‘गत २० वर्षमा पटक पटक वृक्षरोपण गरिएको मेरो घर नजिकैको १० हेक्टर जग्गामा दुई वटा रुख मात्र ठडिएका छन्।’

सिंहले छानिएका प्रजातिहरू स्थानीय वातावरणका लागि उपयुक्त नहुनु यस्तो असफलताको कारण रहेको बताए । कहिलेकाहीँ त वन विभागको विरोध गर्न समेत गड्डीहरूले जानाजानी जनावरहरूलाई रुखका बिरुवामा चराउँछन् ।

पर्खाल र हिँडडुलमा रोक

भर्खरै लगाइएका रुखहरू बचाउन वन विभागले १५ वर्षसम्मका लागि यी क्षेत्रहरूमा पर्खाल खडा गरेको छ ।

राज्य सरकारको वन विभागका प्रदीप ठाकुरले भने, ‘हिमाञ्चल प्रदेशमा करिब १०,००० हेक्टर मा रुख रोपिएको छ । नयाँ वृक्षरोपण गरिएका ठाउँहरू कम्तीमा ५ वर्षका लागि बन्द गरिनुपर्छ अन्यथा यसले भूस्खलन निम्त्याउँछ । तर, पर्खाल नलाइएका स्थानहरू खुला छन् जहाँ गड्डीहरू जान सक्दछन् ।’

उनले भने, ‘हामी बाँदरको आतङ्क रोक्नका लागि फराकिला पात भएका बोटबिरुवाहरू, जडीबुटीहरू तथा फलफूलका रूखहरू रोप्छौँ ।’

किसानहरूको प्रतिरोध

गड्डीहरू निजी भूमि तथा गाउँका सार्वजनिक जग्गाहरूमा बढी निर्भर भएका छन् । तर, यहाँ तिनीहरूले खेतालाहरूको प्रतिरोधको सामना गर्नुपरेको छ ।

विगतमा किसानहरूले धान काटेपछि बाँकी रहेको पराल खुवाउन र बाख्राको मलमुत्रलाई मलको रूपमा प्रयोग गर्न पशुपालकहरूलाई स्वागत गदर्थे । तर, अहिले यसमा परिवर्तन आइसकेको छ ।

चाँदपुर गाउँका थिम्पू भन्छन्, ‘पहिले गर्मीमा बाख्रा र भेडाहरू मलकिट (निजी कृषि जमिन) मा चर्थे । अहिले आएर किसानहरू फूलको खेती गर्छन् र भेडाबाख्राहरूले आफ्नो बाली नास गर्लान् भन्ने कुरामा उनीहरू सतर्क रहन्छन् । हामीले आफ्नो बाख्रा र भेडाहरूलाई खेती गरिने जग्गाहरूबाट टाढा राख्नुपर्छ र किसानहरूसित भेडाहरूलाई खुवाउने घाँस किन्नुपर्छ ।’

 

पशुपालकहरूको आवाज सुनियोस्

गड्डीहरूलाई वृक्षरोपण तथा जलविद्युत परियोजनाहरूका ’boutमा निर्णय लिने प्रक्रियामा खासै सहभागी गराइँदैन र गरिहालिए पनि औपचारिकता निभाउनका लागि मात्रै गरिन्छ ।

अनुसन्धान प्रतिवेदनका सह-लेखक मिनिसोटा विश्वविद्यालयका फोरेस्ट फ्लाइसम्यानले द थर्ड पोललाई भने, ‘वृक्षरोपण कार्यक्रमले गड्डी जस्ता जोखिममा समूहहरूलाई हानि पुर्‍याउन सक्छ । त्यसैले वृक्षरोपण कहाँ गर्ने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने निर्णय लिँदा उनीहरूको आवाज सुनिनुपर्दछ ।’

यसका साथै, उनीहरू हिँड्ने मार्गहरूमा बढ्दो शहरीकरण, जलविद्युत् परियोजनाहरूको विकास, गाडीहरूको आवतजावत र वृक्षरोपण क्रियाकलापले पनि बाधाहरू उत्पन्न गराएका छन् ।

त्यसैले घुमन्ते गड्डीहरूले आफ्ना मार्गहरू परिवर्तन गरेका छन्। उनीहरूले या त आफ्नो घुम्ने समयलाई छोट्याएका छन् (स्पेडूका केही गोठालाहरू गर्मीमा लाहौल र स्पीतिसम्मै मार्गमा जाँदैनन्) वा छिमेकी मंडी जिल्लाका अन्य स्थानहरूमा घुम्ने गरेका छन् ।

घट्दो पशुपालन

भारतीय पञ्जिकरण अधिकारीले जारी गरेको आँकडा अनुसार, हिमाञ्चल प्रदेशका १ लाख ७८ हजार गड्डीहरूमध्ये धेरैले पशुपालन व्यवसाय त्यागेका छन् र वैकल्पिक आय स्रोतहरू फेला पारेका छन् ।

यसका चार सम्भावित परिणामहरू हुन सक्ने अन्वेषकहरूलाई चेतावनी दिएका छन् । ‘पहिलो, यसका कारण वस्तुभाउको चरनमा कमी आउन सक्छ। दोस्रो, गड्डीहरूको पशुधनमा आउने ह्रासका कारण उनीहरूका जनावरहरूले खाएर तथा कुल्चेर बढ्नबाट रोकेका रुखहरू बढ्नेछन् र यसका कारण यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो असर पर्नेछ । तेस्रो, गोठालाहरू आफ्नो चरन अधिकार रक्षाका लागि लड्थे । उनीहरू नभएपछि अरूलाई खानी वा जलविद्युत् विकासका लागि यी जमिनहरूमाथि दाबी गर्न सजिलो हुन सक्छ,’ अध्ययनले भन्छ ।

गड्डी समुदायका सदस्य तथा हिमाञ्चल ऊन महासंघका अध्यक्ष त्रिलोक कपुरले भने, ‘चरन क्षेत्रको उपलब्धतामा आएको कमी तथा घुम्ने मार्गहरूमा असामाजिक तत्वहरूले पशुधन चोरी गरिदिनाले गड्डीहरूको जीवन एकदमै कठिन हुन पुगेको छ । समुदायको हितको लागि मात्र नभई राज्यको अर्थतन्त्रको भलाईका लागि समेत पशुपालकहरूलाई सहयोग गर्न मैले राज्य सरकारलाई आग्रह गरेको छु ।’

दूध र मासु जस्ता उत्पादनहरूमा औषधिका गुण हुन्छन् भने यहाँको मल र ऊनको त विश्वव्यापी ब्रान्ड नै बनिसकेको छ, उनले भने । कपुर घुमन्तेहरू हिँड्ने मार्गमा शिविरहरू सञ्चालन गर्छन्, पशुहरूलाई खोप दिन्छन् र राम्रो मूल्यमा भेडाको ऊन पनि खरिद गर्दछन् ।

गड्डी समुदायका एक सदस्य आफ्नो बथानलाई डोर्याउँदै [तस्विर: आभा जोग्लेकर ]

गड्डी समुदायका एक सदस्य आफ्नो बथानलाई डोर्‍याउँदै [तस्वीर: आभा जोग्लेकर ]

कुर्चीमा बसेर गर्नुपर्ने काम गर्नु र आफ्नो जीविकोपार्जनका स्रोतहरूको विविधीकरण गर्नु उनीहरूका लागि सहज नभएको काँगरा एकीकृत विज्ञान तथा अनुकूलन सञ्जालकी अनुसन्धानकर्ता नेटवर्कका तथा प्रतिवेदनकी सह-लेखक आभा जोग्लेकरले भनिन् । यद्यपि उनले थपिन्, ‘हामीले के पत्ता लगायौँ भने गड्डी समुदायका मानिसहरू गैरकृषिक्षेत्रका रोजगारीहरूतर्फ विस्तारै सर्दैछन् । कोही सिपाही छन् त कोही शिक्षक, साना व्यापारी, र मजदुर छन् । आफू जाडो याममा बस्ने चरन क्षेत्रमा केही परिवारहरू आकासे पानीमा निर्भर भएर मकै, धान र दलहन खेती गर्न थालेका छन् । राजनीतिक सम्पर्क भएकाहरूले राम्रा सरकारी जागिर पाउँछन् वा ऊन बेच्ने, जर्सी गाई पाल्ने आदिजस्ता आफ्नै व्यवसाय सुरु गर्छन् ।’

हिमाञ्चल प्रदेशको पशु सेवा विभागका सहायक निर्देशक सन्दिप मिश्राले भने, ‘गड्डी समुदायका मानिसहरू बलिया हुन्छन् र आफ्नो क्षेत्रको पहाड र जङ्गलहरूका ’boutमा जानकार पनि हुन्छन् । त्यसैले केहीले पर्यटकहरूलाई पथप्रदर्शन गर्ने काम पाउँछन् । कतिपयले राज्य सरकारको सहयोगमा पर्यटकहरूका लागि आफ्नै होमस्टे चलाउँछन् । कोहीले सीमान्तकृत तथा अनुसूचित जनजाति समुदायलाई दिइने आरक्षणअन्तर्गत सरकारी जागिर पाउन सक्दछन् ।’

सीमा शर्माको बाइलाइनमा द थर्ड पोल डट नेटमा प्रकाशित यो समाग्री यहाँ साभार गरिएको हो ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद