Media Network

सधैँ स्वस्थ रहन सरल तर प्रभावशाली पवनमुक्तासन गरौँ


khabarstory

१५ चैत्र २०७७,आईतवार

शरीरलाई स्वस्थ, यौवनलाई अक्षुण्ण राखी दीर्घजीवन बिताउन चाहने सदाकालको मानव चाहना हो । नैसर्गिक रूपले प्राप्त हुने सहजज्ञान वा वृत्ति पशु तथा सूक्ष्मजीवहरूमा पनि हुन्छ । प्राकृतिक सहजज्ञानले उत्प्रेरित भई आफ्नो जीवनरक्षा र वंशवृद्धि उनीहरूले पनि गर्छन् । तर, बाँच्ने चाहना वा बाँचिरहन चाहने इच्छा जसलाई ‘जिजीविषा’ भनिन्छ, यो मानव ‘मन’को चाहना हो । जसलाई अध्यात्मले ‘तृष्णा’ भन्छ, यो मानव मात्रको विशिष्ट गुण हो ।

यही कहिल्यै तृप्त नहुने आकांक्षा, मोह र लिप्सा–लालसामा निहित सकारात्मक ऊर्जाले गर्दा एकातर्फ मानिसले आश्चर्यजनक उपलब्धिहरू हासिल गरेको छ भने अर्कोतर्फ यसैभित्र निहित नकारात्मक ऊर्जाले गर्दा उसले अनेकौँ विनाशकारी विध्वंसका शृंखला पनि बनाएको छ ।

निरोगी काया

आज हामी प्रकृतिप्रदत्त होइन, कृत्रिम जीवन बाँचिरहेका छौँ । हाम्रो वरिपरिको हावापानी दूषित छ । खाद्यान्न, तेल, दाल–मसला आदिमा गैरखाद्य वस्तु मिसाइएको छ । साग–तरकारी, फलफूल सबै हाइब्रिड, रसायनिक हार्माेन र विषादीयुक्त छन् । अझ त्यसमा थप, व्यस्तताको नाममा हाम्रो आफ्नै दैनिकी र अस्वस्थकर बानी–व्यवहारले हाम्रो स्वास्थ्य अवस्था पूरै जोखिममा छ । 

आजको भौतिक र सामाजिक परिस्थितिमा हामी आफूलाई स्वस्थ राख्न सकिरहेका छैनौँ । आज मानिस शारीरिक र मानसिक रूपले अस्वस्थ्य छ । कुन विकसित र धनी देश, कुन विकासशील र गरिब देश, के शहर के गाउँ, सबैतिर मधुमेह रोगीको बढ्दो संख्या हेर्नोस् । क्यान्सरको फैलँदो प्रकोप हेर्नोस् । ब्लडप्रेसर र अन्य मुटुका रोगीहरूको बढ्दो संख्या हेर्नोस । डिप्रेसनउन्मुख युवाहरूको भीड हेर्नोस् । लागुऔषधिको फैलँदो प्रभाव हेर्नोस् । उक्लँदो यो तालिका घट्ने अवस्थामै छैन । अझ नयाँ–नयाँ प्राणघातक रोगहरू दिन प्रतिदिन बढिरहेका छन् । कोरोना महामारी त्यसको ज्वलन्त उदाहरण हो । 

यदि शरीर स्वस्थ छैन भने मन पनि स्वस्थ रहँदैन र मन स्वस्थ छैन भने हाम्रो विचार पनि स्वस्थ हुँदैन । यस्तो अवस्थामा कुनै पनि व्यक्ति आफ्नो कार्यक्षेत्रमा कसरी सफलता प्राप्त गरी उन्नतिको शिखर चढ्न सक्छ ?

मानिस पृथ्वीमा जन्मेदेखि उसले मृत्युवरण नगरेसम्म उसको जीवनको हरेक पक्ष तथा दैनिक व्यवहारमा उसको स्वास्थ्य अभिन्न रूपले सम्बन्धित हुन्छ । कुनै पनि व्यक्ति स्वस्थ भएमा मात्र उसले आफूलाई जुनसुकै क्षेत्रमा सहभागी गराउन सक्छ र आफ्ना आवश्यक्ताहरू परिपूर्ति गर्न सक्छ । कुनै व्यक्तिको स्वास्थ्य स्थिति सकारात्मक भएमा मात्र उसले आफ्ना लागि र आफ्नाे घरपरिवार, टोल–छिमेक, समाजलगायत राष्ट्र र सम्पूर्ण विश्व समुदायका लागि फलदायी भूमिका निर्वाह गर्न सक्छ । 

स्वस्थ शरीर मानवीय धन हो, अस्वस्थता जीवनको अभिशाप हो । त्यसैले ‘निरोगी काया’ पहिलो सुख हो ।

RITZ

Shikhar Insurance

नर्सिङ होम संस्कृति

दीर्घजीवनको चाहनाले मानवलाई आफ्नो स्वास्थ्यप्रति आदिकालदेखि नै सजग र सचेत बनाउँदै आएको छ । २१औँ शताब्दीमा पनि आधुनिक स्वास्थ्य चिकित्सा विज्ञानमा मानव स्वास्थ्यको अवधारणा यसै मूल तत्त्व वरिपरि घुमेको छ । रोगव्याधी र शारीरिक दुर्बलताबाट मुक्त भई लामो समयसम्म यस पृथ्वीमा बाँच्नु यसको मुख्य ध्येय हो । मानवको भौतिक स्वास्थ्य र रोगको उपचारात्म विधिको गुणस्तरीय प्रविधिमा यो बढी केन्द्रित छ । तर, दिनानुदिन महँगो हुँदै गएको आधुनिक नर्सिङ होम चिकित्सा जनसाधारणका लागि पहुँचबाहिर हुँदै गएको छ भने सामुदायिक अस्पतालहरूको गुणस्तर र सेवा खस्कँदो अवस्थामा छ ।

लब्धप्रतिष्ठित खप्तडबाबा (परमहंस स्वामी श्री सच्चिदानन्द सरस्वती) आफ्नो चर्चित पुस्तक ‘स्वास्थ्य–विज्ञान’मा लेख्नुहुन्छ, 'अनपेक्षित आहार र बिहारका कारणले नै हुन सक्छ, वर्तमान विश्वमा धनी र गरिब सबै नै रोगी भए । आज सर्वत्र रोग र रोगीको संख्या अत्यधिक मात्रामा बढिरहेको छ । रोगको निदान र उपचार पद्धति नै अत्यन्त खर्चिलो हुनाका कारण र विपन्न वर्गका लागि स्वास्थ्यलाभ गर्नु निकै कठिन हुँदै गइरहेको छ । राजसिक र तामसिक प्रवृत्तिको आचार–विचार, तनावपूर्ण वातावरण, खानपान, अनैतिक र अस्वस्थकर व्यवहार नै रोग र रोगीको वृद्धिको कारण हो । यी कुरामा असाध्यै बुद्धि पुर्‍याउनुपर्ने बेला आइसकेको छ ।'

प्राकृतिक जीवनपद्धतिअनुसार बाँच्न र प्रकृतितर्फ फर्कने सुझाव यस पुस्तकमा पाइनेछ ।

योगको समग्रता

योगले स्वास्थ्यको अवधारणालाई पराकिलो तथा उच्च आयाममा हेरेको छ । योगले सही अर्थमा हामीलाई स्वास्थ्यको अर्थ र महत्त्व दिन्छ । त्यसको बोध गराउँछ । रोग (शरीर र मन दुवै)को मूल कारणलाई समात्छ र जडनिर्मूल गर्ने प्रयास गर्छ । 'स्वस्थ’ हुनुको तात्पर्य नै ‘स्व’– आफु वा स्वयम् । ‘स्थ’– स्थित रहनु । अर्थात् स्वयम्‌मा स्थित रहनु नै स्वास्थ्य हो । 

योगले भन्छ– स्वास्थ्य, दीर्घजीवन र शान्ति हाम्रो अन्तर्जगत्‌सँग सम्बन्धित छ । मानव स्वास्थ्यका सबै प्रक्रिया भित्रबाट सुरु हुन्छ । भित्र गडबड भयो कि ? भित्र तलमाथि पर्‍यो कि ? शरीर बाहिर प्रकट हुन्छ । सत्य त्यही हो । 

योगले भन्छ– हाम्रो स्वास्थ्य हाम्रै हातमा छ । यसका लागि प्रत्येक व्यक्तिको प्रमुख कर्तव्य भनेको आफ्नो स्वास्थ्यप्रति सधैँ सजग भैरहने र सार्थक उपायहरूलाई अवलम्बन गर्नु नै हो । स्वास्थ्यको प्राकृतिक नियम र सिद्धान्त हामीले थाहा पायौँ र त्यसको सचेत भई पालन गर्‍यौँ भने आफूलाई स्वस्थ राख्न धेरै गाह्रो विषय पनि होइन । अजर–अमर कोही हुँदैन तर स्वस्थ भई बाँच्न सकिन्छ । योगलाई हामीले दैनिक जीवनको अंग बनाएर व्यवहारमा लागू गर्‍यौँ भने यो कार्य अझ सजिलो हुन जान्छ ।

जति समय र धन हामी डाक्टरको अघिपछि गर्न लगाउँछौँ । डाक्टरको क्लिनिक वा नर्सिङ होमको प्रतीक्षालयमा बिताउँछौँ या रोगी भएर आफूलाई दुर्वल बनाउँछौँ, त्यसको आधा समय पनि यदि हामीले योग क्रियाकलापलाई दियौँ भने न समयको बर्बादी हुन्छ, न त धनको अपव्यय नै हुन्छ ।

योगले हामीलाई भित्रतिर लान्छ । प्रकृतिले वा ईश्वरले शरीरको रचना ‘सम्पूर्ण रूप’ मा गरेको छ । आफूलाई स्वस्थ राख्ने पूरै व्यवस्था शरीरभित्रै छ । मनोशरीर अजस्र शक्ति–स्राेतको भण्डार हो । 

शरीरमा विकार वा विजातीय तत्त्व जम्मा हुनु, मन विकारग्रस्त र दूषित हुनु रोग वा रोगको मूल कारण हो । आज हामीले जानेका जति पनि रोगहरू छन् वा भोलि उत्पत्ति हुने हुन्, ती सबैको कारण शरीरमा विकार जम्मा हुनु वा रोकिनु र मन विकारग्रस्त र दूषित हुनु हो ।

यदि हामी सचेत भई आफ्नो शरीरको ख्याल राख्छौँ, विकार र विजातीय तत्त्वलाई शरीरमा जम्मा भइरहन दिँदैनौँ, मन विकारग्रस्त र दूषित पार्दैनौँ भने हामी पनि रोगी–मनोरोगी हुँदैनौँ । 

‘स्वास्थ्य’ भनको नै शरीरका भित्री अङ्गहरू पुष्ट, सवल, क्रियाशील र मन विकाररहित हुनु हो ।

भित्री अङ्गहरू चाहे त्यो मुटु, कलेजो, फोक्सो, किडनीजस्ता भाइटल अङ्ग हुन् वा आन्द्रा, मुत्राशय र प्रजनन अङ्ग हुन् अथवा अन्तस्राव ग्रन्थी र नाडी–स्नायुहरू हुन्, ती सबै सबल र क्रियाशील हुनु ‘शरीर–स्वास्थ्य’को मूल आधार हो ।

हामीले गम्भीरतापूर्वक मनन गर्नुपर्ने कुरा के हो भने रोग लागेपछि उपचार नगराउनु, औषधि सेवन नगर्नु भनेकै होइन । औषधिले प्रभावकारी काम गर्न पनि त भित्री अङ्गहरू सबल र क्रियाशील हुनुपर्छ । यो त अनिवार्य सर्त हो ।

यदि औषधिले नै व्यक्तिलाई ‘स्वस्थ’ बनाउँथ्यो वा ‘स्वास्थ्य’ दिन्थ्यो भने रोगको उपचार गर्ने आधुनिकभन्दा अत्याधुनिक नयाँनयाँ प्रविधिकाे विकास भएको छ । प्रभावकारीभन्दा प्रभावकारी औषधिहरू, बलवर्द्धक र उत्तेजना बढाउने टोनिकहरू बजारमा उपलब्ध छन् । सबै व्यक्तिहरू स्वस्थ हुनुपर्ने होइन त ? तर, त्यसो त भएको छैन । बरु उल्टै रोग र गोगीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । नयाँनयाँ रोगहरू देखा परिरहेका छन् । 

फेरि पनि दोहोर्‍याउनुपर्ने हुन्छ– आधुनिक चिकित्सा विज्ञानको आविष्कार र विकास निरर्थक हाेइन । बरु त्यसको प्रभावकारी र उच्चत्तम लाभ त्यतिबेला मात्र लिन सक्छाैँ, जब हामी ‘औषधि’ मा नै निर्भर नभई स्वास्थ्यसम्बन्धी नैसर्गिक नियम र सिद्धान्तलाई सजग भई पालना गर्छौं । 

योग मानव समाजलाई शारीरिक र मानसिक रूपले स्वस्थ राख्न पूर्ण रूपले सक्षम छ । जब व्यक्ति शरीरले स्वस्थ र मनले शान्त हुन्छ, तब ऊ आफ्नो ‘स्वभाव’मा आउँछ । कसैलाई धोखा नदिनु, गाली नगर्नु, दूर्व्यवहार नगर्नु, अरुको चोरी नगर्नु, व्यभिचार नगर्नु तथा सहयोग, सद्भाव र शान्तिजस्तो सद्गुणहरूको आन्तरिक विकास र सोअनुसारको व्यवहार नै ‘मानवीय–स्वभाव’ हो ।

पवनमुक्तासन

हामीले योगसम्बन्धी अघिल्ला लेखहरूमा योगको वैज्ञानिक पक्ष र पद्धति, आसन सिद्धिका विधिहरू, योग अभ्यासीले जान्नैपर्ने कुरा र प्रभावशाली शवासन विधिबारे चर्चा गरेका थियौँ । यस आलेखमा हामी योगासनअन्तर्गत प्रारम्भिक आसन समूहमा पर्ने, सबैले गर्न सक्ने सरल तर लाभदायी पवनमुक्तासन समूहमा पर्ने आसनहरूको महत्त्व सम्बन्धमा चर्चा गर्नेछौँ ।

पवनको अर्थ ‘वायु’ र मुक्तको अर्थ ‘निष्कासन’ र आसनको अर्थ शरीरको एउटा विशेष स्थिति वा अवस्था हो । तसर्थ पवनमुक्तासन यस्ता आसनहरूको समूह हो, जसले शरीरबाट ‘वात’ वा वायु निष्कासन गर्न मद्दत गर्छ । 

पवनमुक्तासन समूहमा पर्ने आसनहरूलाई प्रारम्भिक आसन समूहमा राखिएको छ । यी आसनको अभ्यासले शरीरका जोर्नीलाई खुकुलो र मांसपेशीहरूलाई लचिलो बनाउने महत्त्वपूर्ण कार्य गर्छ । तसर्थ यी आसनको अभ्यास नयाँ साधकहरूका साथै दुर्वल, दीर्घरोगी, मुटुरोगी,उच्च रक्तचाप भएका र अशक्त व्यक्तिहरूका लागि साह्रै उपयोगी छ । 

जोर्नीहरूलाई खुकुलो र मांसपेशीहरूलाई लचिलो बनाउन यी आसनहरूको अभ्यास उच्च श्रेणीका आसनहरू अभ्यास गर्ने साधकहरूले पनि प्रारम्भमा गर्दछन् ।

पवनमुक्तासन समूहमा पर्ने आसनहरू अभ्यास गर्न सजिलो छ र यसले शरीरमा निस्कने कफ, पित्त र वायुलाई सन्तुलनमा राख्न प्रभावकारी भूमिका निर्वाह गर्छ । यसमा वायुको अर्थ हामीले खाना खाएपछि पाचन प्रक्रियामा आन्द्रामा उत्पन्न हुने वायुसँगै शरीरको प्रत्येक हाडजोर्नीमा उत्पन्न हुने वायुहरू पनि हो भनेर बुझ्नुपर्दछ ।

शरीरभित्र हुने नकारात्मक रासायनिक प्रक्रियाका कारण हाडजोर्नी कडा हुन थाल्छ । पाचन प्रक्रियामा अम्ल र पित्तरस सहायक भए पनि ‘युरिक अम्ल’ पनि बन्दछ, जो शरीरबाट निरन्तर बाहिर निस्कनुपर्दछ । तर, शरीरमा धेरै युरिक अम्ल उत्पन्न हुँदा र त्यो शरीरबाट सहजतापूर्वक बाहिर निष्कासन नहुँदा यसले केही अंगको ठीक ढंगले काम गर्ने क्षमतामा अवरोध सिर्जना गर्छ । त्यही नै हाडजोर्नी सुन्निने र दुख्ने कारण हो ।

पवनमुक्तासन समूहका आसनहरूको अभ्यासले शरीर, विशेष गरी हाडजार्नीहरूबाट वायु र अम्ल निष्कासन गर्न सहयोग गर्छ । 

लामो समय बिमारीपछि ठीक भएका व्यक्तिहरूलाई शिघ्र स्वास्थ्य लाभ प्राप्त गर्न यी आसनहरूको अभ्यासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै, त्यस्ता अशक्त र दुर्वलहरू जसलाई आफ्नो केही अंगहरू चलाउन गाह्रो छ, तिनीहरूका लागि पनि यी आसनहरू प्रभावकारी छन् ।

पवनमुक्तासन समूहमा पर्ने आसनहरूलाई हामी हाडजोर्नीको बाथरोग निरोधक र वायु निरोधक गरी दुई समूहमा विभाजन गर्न सक्छाैँ ।

१. हाडजोर्नीको बाथरोग निरोधक अभ्यास

योगासनको यसअन्तर्गत पर्ने अभ्यासहरूलाई ‘सूक्ष्म–व्यायाम’ पनि भनिन्छ । यिनीहरूको अभ्यासले हाडजोर्नीहरू र शरीरका अन्य अंगमा प्रभावशाली असर पार्दछ । यद्यपि यिनीहरूको अभ्यास सरल देखिन्छ तर अभ्यासीहरूमा यसको अति सूक्ष्म र दीर्घकालीन प्रभाव पर्छ । योगको कठिन आसन गर्ने साधकहरूले पनि शरीर र मनलाई तयार गर्न सुरुमा सूक्ष्म व्यायामहरू गर्दछन् ।

सूक्ष्म व्ययामअन्तर्गत हामी निम्न क्रियाकलापहरू गर्न सक्छाैँ:

  • खुट्टाको औँला मोड्ने ।
  • खुट्टाको कुर्कुचा मोड्ने र त्यसको धुरीमा वृत्ताकार घुमाउने ।
  • घुँडा मोड्ने र त्यसको धुरीमा वृत्ताकार घुमाउने ।
  • मेरुदण्ड दायाँँ–बायाँ मोड्ने र कमरलाई वृत्ताकार घुमाउने ।
  • अर्ध तितली आसन र घुँडा घुमाउने ।
  • पूर्ण तितली आसन ।
  • मुट्ठी बाँधने र हत्केला खोल्ने ।
  • मुट्ठी घुमाउने र हत्केला मोड्ने ।
  • कुहिना मोड्ने र काँध घुमाउने ।
  • घाँटी तलमाथि गर्ने, मोड्ने र घुमाउने ।

यी आदि अत्ति सहजसूक्ष्म व्यायामका प्रमुख क्रियाकलापहरू हुन् । सूक्ष्म व्यायामका यी क्रियाहरू आधुनिक चिकित्साको फिजियोथेरापि विधामा व्यापक रूपमा प्रयोग गरिन्छ ।

२. वायु (वात) निरोधक अभ्यास

मानिसको पेटमा जम्मा भएर बसेको वायु निष्कासन गर्न र कब्जियत हटाउन पवनमुक्तासनअन्तर्गतका यी आसनहरू अत्यन्तै उपयोगी छन् । यिनीहरूलाई विधिपूर्वक नियमित गर्नाले यसले अपचका साथै पुरानो कब्जियतसमेतलाई बिस्तारै जडनिर्मूल पार्छ ।

दोस्राे चरणका यी आसन कठिन आसन अभ्यास गर्ने साधकहरूलाई समेत सहयोगी हुनुका साथै  ती व्यक्तिहरूले पनि गर्न सक्छन्, जो स्नायु वा मांसपेशीहरूको गडबडी अथवा हाडहरू भाँचिएर उपचार गराए पनि पीडित छन् ।

यसअन्तर्गत हामी निम्न आसनहरू गर्न सक्छाैँः

  • सुतेर एकपछि अर्को खुट्टा घुमाउने, साइकल चलाउने, नौका चलाउने, चक्राकार दुवै खुट्टा घुमाउने ।
  • सुतेर एक–एक गरी र दुवै खुट्टा (घुँडा) मोडेर छातीमा टँसाउने र टाउको उठाएर नाकले घुँडा छुने ।
  • घुँडा छातीमा मोडेर दुवै हातले समाई ओल्टो–कोल्टो फर्कने र बस्ने ।
  • नौकासन ।
  • हस्तोपादासन ।

ध्यान दिनुहोस्, हामी योगासनको प्रारम्भिक चरणमा छौँ । कुनै पनि आसन गर्दा त्यसका क्रियाहरूलाई दोहोर्‍याउनुपर्ने हुन्छ । तसर्थ नियमित अभ्यास गर्दा एउटा निश्चित संख्या जस्तो १० पटक दोहोर्‍याउने अथवा निश्चित समय १ मिनेटसम्म नियमित गर्नाले प्रभावकारी परिणाम प्राप्त हुन्छ । 

नयाँ अभ्यासीहरूले सुरुमा योग शिक्षक अथवा पुराना साधक वा भरपर्दो योगासनको पुस्तकबाट सूक्ष्म व्यायाम तथा आसनका विधिहरू सिकेर घरको एउटा सफा कुनामा बसेर यसको नियमित अभ्यास गर्न सक्छन् ।

अभ्यासको प्रारम्भ

आसनहरूको प्रारम्भ गर्नुपूर्व अभ्यासीहरूले आफूलाई शारीरिक र मानसिक रूपले तनावरहित अवस्थामा ल्याउनुपर्छ । यसका लागि सुरुमा शरीर तताउने यौगिक जगिङको क्रिया गरेपछि शवासन गरी शरीरलाई शिथिलीकरण गर्नुपर्छ ।

शवासन गरी शिथिलीकरण गर्दा एकातिर यसले शरीरलाई खुकुलो र हलुको बनाउँछ भने अर्कोतिर मनलाई शान्त गरी व्यक्तिलाई आसनहरूको अभ्यास गर्न तयार गर्छ । जति शारीरिक र मानसिक रूपले शिथिल र शान्त भई हामी आसनहरूको अभ्यास गर्छौं, त्यसको प्रभाव पनि त्यही रूपमा वृद्धि हुन्छ ।

अन्त्यमा, 

असल स्वास्थ्य नै व्यक्तिको जीवन हो, त्यसैले भनिन्छ- स्वास्थ्य नै जीवन हो । स्वास्थ्य मानिसको स्थिर अवस्था नभई निरन्तर गतिशील प्रक्रिया भएकाले यसले बदलिँदो वातावरणमा समायोजन हुन उसलाई सक्षम बनाउँछ । व्यक्ति स्वस्थ हुनु भनेको परिवार, समाज र राष्ट्र नै स्वस्थ हुनु हो ।  त्यसैले प्रत्येक जनपक्षीय राष्ट्रिय सरकारले आफ्नो नागरिकको स्वास्थ्य सुरक्षाको दायित्व लिएको हुन्छ । जुन देशमा आमनागरिकको जनस्वास्थ्य जति अब्बल हुन्छ, त्यति नै त्यस राष्ट्रको उन्नति र समृद्धि बढ्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद