Media Network

अर्बपतिदेखि व्यवसायीहरु प्रत्यक्ष चुनावी मैदानमा


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौँ। आसन्न प्रतिनिधि र प्रदेशसभाको सदस्य मनोयन दर्ता सकिएको छ । उम्मेदवार छनोट तथा दर्ता गर्दा आसन्न निर्वाचनमा धेरै व्यापारिक घरानाबाट प्रत्यक्ष निर्वाचन लढ्ने भएका छन् । 

निर्वाचनमा अर्वपति बिनोद चौधरी लगायत विभिन्न जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य, निर्माण क्षेत्रमा स्थापित व्यवसायीहरू समेत लढ्ने भएका छन् ।  एक दर्जनले लढ्ने भएका छन्।

नेपाली एक मात्र डलर अर्बपतिका रूपमा चिनिएका व्यापारी तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरी नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार बनेको छन् । उनले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।  

चौधरी २०६४ को संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद् बनेका थिए। चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । यस पटक भने प्रत्यक्षबाट चुनाव लड्ने तयारीमा रहेका चौधरीको जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा गर्दैछन् ।   

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट व्यवसायी समेत रहेका इन्द्रबहादुर बानियाले पनि आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २(ख) बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनको भूगर्भ सिमेन्ट र निर्माण सेवा कम्पनीहरूमा लगानी रहेको छ ।   

त्यस्तै, व्यवसायी उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । शिक्षा लगायत जलविद्युत, पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानी गरेका श्रेष्ठ प्रतिनिधिसभाको प्रत्यक्षबाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । उनी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत हुन् ।  

त्यसैगरि, मेगा बैंकका सञ्चालक तथा व्यवसायी बालकृष्ण सिवाकोटी पनि चुनावी मैदानमा होमिएका छन् । बैंक, मल, होटल, केबलकार लगायत क्षेत्रमा लगानी गरेका सिवाकोटी नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले दोलखाबाट प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्माण व्यवसायी विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनावी मैदानमा होमिएका छन् । व्यवसायी पाण्डे राप्रपाबाट चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका हुन् । 

व्यवसायी किसान श्रेष्ठले पनि बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्न उम्मेदवारी दर्ता गराएका छन् । कृषि, होटल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेका श्रेष्ठ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

यस्तै, निर्माण व्यवसायी कान्छाराम तामाङले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै, पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नुवाकोटको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।  

आसन्न निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका अर्का व्यवसायी हुन्, झपट बोहोरा । बैंक तथा बीमा क्षेत्रमा लगानी गरेका बोहोरा एमालेबाट आछामको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । वित्तीय संस्था, जलविद्युत लगायत क्षेत्रमा लगानी गरेका अर्का व्यवसायी तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महत्तो पनि जनता समाजवादी पार्टी जसपाका तर्फबाट सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । 

त्यस्तै, निर्माण व्यवसायी मोहन आचार्य कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रसुवाबाट उम्मेदवारी दर्ता गराएका छन् भने व्यवसायी लालप्रसाद लिम्बु एमालेबाट झापाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।   

पर्यटन व्यवसायी राजेन्द्र बजगाईँले कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि टिकट दिएको हो । बजगाईँ यसअघिको निर्वाचनमा पनि उम्मेदवार बनेर पराजित भएका थिए ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद