Media Network

गृहसचिव भट्टराईबाट नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०८०,मंगलवार

काठमाडौं।गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गृहसचिव दिनेश भट्टराईलाई हार्दिक स्वागतगरेका हुन्। सो क्रममा गृहसचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए।

निरीक्षण भ्रमणका क्रममा गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिए।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्ने बताए। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव भट्टराईले भने, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु ।’ प्रहरीले नागरिक समक्ष गर्ने कार्यव्यवहारबाट सरकारको छवि उजागर हुने उल्लेख गर्दै उहाँले प्रहरी प्रशासनले गरिब, निमुखा, शोषित पीडित, कमजोर एवं पहुँचबिहिन नागरिकको सारथी बनी उजुरी, गुनासो तथा समस्यालाई सम्बोधन गर्न अग्रसरता एवम् थप क्रियाशिलता हुनुपर्नेमा जोड दिए । 

गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै  नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए । प्रहरी संगठन आफैमा अनुशासनको पर्याय भएको उल्लेख गर्दै गृहसचिव भट्टराईले भने, ‘कुनै पनि सुरक्षाकर्मीलाई पेशागत आचरण विपरीत काम गर्न छुट छैन । तसर्थ सदाचारलाई मूलमन्त्र मानेर आदेशको श्रृङ्खला अनुरूप कार्य गर्न सकल दर्जालाई म निर्देशन गर्न चाहान्छु ।’ मातहतका प्रहरी कार्यालयहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवाको गुणस्तर र बितरण प्रक्रियामा आमूल सुधार गरी सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउन कार्ययोजनाका साथ काम गर्न जरूरी रहेको उनले बताए । 

साथै उनले सरूवा, बढुवा, पदस्थापना लगायतका वृत्ति विकासका अवसरलाई न्यायोचित र अनुमानयोग्य बनाउने र अनावश्यक दवाव सिर्जना गर्ने जस्ता गैर व्यावसायिक प्रवृत्तिलाई निरूत्साहित गरिने बताउँदै संगठनमा स्थापित आदेशको श्रृङ्खला अनुरूप आगामी दिनमा वृत्ति विकासका अवसरलाई न्यायोचित तवरबाट अगाडि बढाइने बताए । महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै सार्वजनिक सम्पत्तिको तोडफोड लगायत अवाञ्छित, अराजक र उच्छृङ्खल गतिविधिलाई निरूत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउन समेत निर्देशन दिए ।

सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवद्वय केदारनाथ शर्मा र जितेन्द्र बस्नेत, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् भर्चुअल रूपमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद