Media Network

हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं, हामीलाई हेप्न पाइँदैन : धवलशमशेर जबरा


खबरस्टोरी संवाददाता

१८ माघ २०७९,बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गरेका हुन् ।

बुधबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाएका थिए ।

राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताए ।

‘हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं’, उनले भने, ‘यो कुरा (धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न) संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ ।’

आफूहरुलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताए । ‘यो व्यवस्था नमान्ने भएको भए हामी जंगल जान्थ्यौं, यही व्यवस्था र यही संविधानभित्र बसेर यो संविधानलाई हामीले बोकेका मूल्य मान्यताभित्र परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर हामी आएका छौं’ उनले भने ।

उनले अन्तिममा भने, ‘हामीलाई हेप्ने काम, हामीलाई होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद