Media Network

केदार कार्कीको सम्पत्ति : २५ तोला सुन र ८ लाख ब्यालेन्स


खबरस्टोरी संवाददाता

४ माघ २०८०,बिहीबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पति घटेको विवरण सार्वजनिक गरेका हुन् ।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए । मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेश गरेका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पति विवरणमा बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख छ । विराटनगरमा पनि तीन वटा घडेरी र एक खेती रहेको उल्लेख छ । विराटनगर ७ मा तीन वटा घडेरी देखाएका कार्कीले वडा नम्बर ७ मै एक बिघा दुई कट्ठा जग्गा देखाएका छन् ।
मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गरेका छन् । उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् । उनकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत छिन् ।
कार्कीले बूढीगंगा–२ ‘क’मा पौने ९ धुर, बूढीगंगा–२ ‘क’मै सवा ११ धुर र बूढीगंगा–८ ‘ख’मा ३ कट्ठा जग्गा छ । बूढीगंगाको जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गरेका छन् ।
उनकी पत्नीको नाममा विराटनगरका ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ । विराटनगरभित्र कित्ता नम्बर ४० को २५० वर्गमिटर, कित्ता नम्बर ३० को ८८६.२५ र कित्ता नम्बर २४ को ४२६.२५ वर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ ।
२०७८ सालमा मन्त्री हुँदा कार्कीले बुझाएको सम्पत्ति विवरणमा विराटनगर ७ मै ४१०, ४५०, ४०१ वर्गमिटरका घडेरी र १० कट्ठा जग्गा पनि रहेको उल्लेख थियो । अहिले भने उनले ती जग्गा अहिले नरहेको बताएका छन् । विराटनगरको १० कट्ठा जग्गासहितका घडेरी बिक्री गरेका कारण नयाँ सम्पत्ति विवरणमा नखुलाएको उनको सचिवालयले जनाएको छ ।
छोराहरुका नाममा समेत बैंक ब्यालेन्स, एक थान स्कुटर
कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी छ । मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख छ ।
उनको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रूपैयाँ ९० पैसा, उनकी श्रीमती शान्तादेवीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५७८ रूपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० रुपैयाँ छ ।
यसैगरी छोराहरु साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रूपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरुको नाममा छन् ।
कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाएका छन्, जसमा ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । सवारीसाधनमा श्रीमती शान्तादेवीको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर रहेको देखाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद