Media Network

लुम्बिनीमा रोज राणा मन्त्री बनेपछि कांग्रेसमा विवाद, असन्तुष्ट पक्षकाे सामाजिक सञ्जालमा रोइलो


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

बुटवल । हालै मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका छन । मुख्यमन्त्री भएको ८ महिनासम्म पनि चौधरीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका थिएनन् । यो विस्तारपछि पनि अझै एक मन्त्रालय आफैं‌ले राखेका छन् । 

लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रिमण्डल अझै पनि पुर्ण हुन सकेको छैन् यद्यपी भर्खर मात्रै निर्माण भएको नयाँ टिम पनि विवादित हुन पुगेको छ ।मुख्यमन्त्री चौधरीले कांग्रेसका सांसद सरोज थापा रोज राणा लाई उद्योग तथा यातायात मन्त्री बनाएपछि उनी विवादमा परेका हुन् । मन्त्री थापाले आइतबार शपथ लिएर कार्यभार पनि सम्हाले पनि कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै सामाजिक सञ्जाल र मिडियामा आलोचना भएको हो ।

मन्त्री बनेका थापा २०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट उम्मेदवार भई प्यूठानको प्रदेश सभा क्षेत्र ख बाट निर्वाचित भएका थिए ।मन्त्री बनाउदा समन्वय नगरेको भन्दै कांग्रेसको संस्थापनइतर समूहले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएको छ भने कांग्रेस बाहिरबाट पनि आलोचना भइरहेको छ । मुख्यमन्त्री चौधरीले मन्त्रालय फुटाएरै कांग्रेसबाट थापालाई उद्योग र माओवादीबाट कृष्णा केसीलाई सहरी विकास मन्त्री बनाएका हुन् ।


किन विवादित छन् थापा ?

सरोज थापा उर्फ रोज राणाविरूद्ध मानव बेचबिखनको अभियोग सहित चलचित्र निर्माणको आवरणमा गुण्डागर्दीसमेत गर्ने गरेको आरोप लागिरहेको छ ।

प्रहरीको रेकर्डअनुसार मानव बेचबिखनको अभियोगमा थापालाई २०६७ वैशाख १३ गते पक्राउ गरिएको थियो । मानव बेचबिखनसम्बन्धी जाहेरी परेको भोलिपल्ट प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमै रहेका बेला थापामाथि अर्को जाहेरी परेको थियो। डान्सबारमा युवतीहरूलाई नग्न रूपमा नाच्न लगाएको आरोपसहित जाहेरी परेको थियो । उनलाई प्रहरीले मानव बेचबिखनसम्बन्धी मुद्दा चलाएको थियो । त्यसबेला थापा ६ महिना पुर्पक्षका लागि थुनामा बसेका थिए ।गुण्डागर्दी र मानव बेचबिखन आरोप लागेका थापा नेपाल तरूण दल हुँदै कांग्रेस राजनीतिमा सक्रिय भएर प्रदेश सांसद बनेका हुन् ।

थापालाई मन्त्री बनाएको विषयमा कांग्रेसको केन्द्रीय नेतृत्वले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद