Media Network

महाअभियोग सिफारिस समितिले चोलेन्द्रलाई बयानका लागि बोलायो (पत्रसहित)


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौँ । प्रतिनिधिसभाद्वारा गठित महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाएको छ। 

समितिले जबरालाई बुधबार आरोपसँग सम्बन्धित विषयमा सोधपुछका लागि बोलाएको हो। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश जबरासँग बयान लिइने समितिले जनाएको छ। 

समितिका सचिव लक्ष्मीप्रसाद गौतमद्वारा बैठकका लागि समितिका सदस्यहरुलाई पठाइएको पत्रमा छलफलको विषयमा ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग लगाइएको सम्बन्धित विषयमा सोधपुछ तथा बयान लिने’ उल्लेख छ।

जबराविरुद्ध २०७८ फागुन १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा महाभियोग दर्ता भएको थियो। संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर उनीमाथि महाभियोग दर्ता गरिएको थियो।

गत फागुन २२ मा बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको छानबिन गर्न संविधानको धारा १०१ अनुसार ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो।

समितिमा एमालेका सांसदहरु विष्णुप्रसाद पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन्। यस्तै कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर बिष्ट, नेकपा माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन्।नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एकवाल मियाँ र जनता समाजवादी पार्टी (जसपा) बाट प्रमोद साहसहित ११ जना सांसदहरु रहेका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद