Media Network

पार्टी कार्यालयसमेत चलाउन सकेन वैद्य माओवादीले


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं । वि.सं. २०६२ मंसिर ७ गते संसदवादी राजनीतिक दलहरुसँग १२ बुँदे समझदारीपछि २०६३ मंसिर ५ गते सरकारसँग विस्तृत शान्ति सम्झौता गरी खुल्ला प्रक्रियामा आएपछि माओवादीप्रतिको आकर्षण ह्वात्तै बढ्यो । नेपालका ठूला राजनीतिक दलहरुलाई धावा बोल्दै गएको माओवादी २०६४ सालको पहिलो संविधानसभाको चुनावबाट पहिलो पार्टी बन्यो ।

ने.क.पा. (एकताकेन्द्र–मसाल) र ने.क.पा. (माओवादी) बीचमा २०६५ पौष २९ गते पार्टी एकता भई नेकपा (एकीकृत माओवादी) हुन पुगेपछि पार्टीको आकार अझ ठूलो भयो । 

२०६६ असार–साउनमा बसेको एकीकृत पार्टीको बैठकले बहुपदीयमा प्रणालीमा लैजादा हाल नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य पार्टीको शक्तिशाली उपाध्यक्ष बनाइए । पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । 

खुला राजनीतिमा आएपछि काठमाडौंको कोटेश्वरस्थित पेरिशडाँडामा माओवादीको आलिसान महल बन्यो । पेरिशडाँडाको आलिशान महलमा एउटा कक्षामा प्रचण्ड हुन्थे भने अर्को कक्षमा मोहन वैद्य भेटिन्थे । अन्य पदाधिकारीहरुको छुट्टाछुट्टै कार्यकक्ष थिए । 

बहुपदीय निर्णयअनुसार अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष वैद्य, उपाध्यक्षद्वय डा. बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ (प्रकाश), महासचिव रामबहादुर थापा (बादल) तथा सचिवमा सि.पी. गजुरेल (गौरव) र पोष्टबहादुर बोगटी (दिवाकर) थिए ।  

फुटको श्रृंखला 

०६५ सालमा एकीकृत बनेको माओवादी लामो समय सिङ्गो रहन सकेन । पहिलो संविधानसभा विघटन भएपछि पार्टीमा अन्तरसंघर्ष चर्किन शुरु भयो । माओवादीकै डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि पार्टीभित्रको संघर्ष उत्कर्षमा पुग्यो । 

भट्टराईले पार्टी निर्णय विपरित बिप्पा सम्झौता गरेपछि सरकारविरुद्ध नै मोहन वैद्य समूह सडक संघर्षमा उत्रिए । जतिबेला नेत्रविक्रम चन्द, रामबहादुर थापा, सीपी गजुरेल, देव गुरुङ लगायतका शीर्षस्थ नेताहरु बैद्यको साथमा थिए । सत्तामा रहेको एकीकृत माओवादीभित्र संघर्ष चर्किँदै जाँदा वैद्य समूहबाट प्रचण्डबाट अलग भयो । प्रचण्डबाट अलग भई नेकपा–माओवादी बनाई बौद्ध भेला गर्दा विप्लव, बादल, पम्फा, देव गुरुङ लगायतका ठूलो पंक्ति वैद्यतिरै रहे । 

भौतिक सम्पत्तिको रस्साकस्सी 

पार्टी विभाजनपछि शान्तिप्रक्रियामा आएपछिको भौतिक सम्पत्तिको दाबी पनि वैद्य माओवादीले गर्यो । देशैभरका पार्टीबाट निर्मित कार्यालयहरु कसले कब्जा गर्ने भन्ने होडबाजी चल्यो । तर, प्रचण्डका सामु वैद्य समूहको केही लागेन । केन्द्रीय कार्यालय भवन पेरिशडाँडासहित देशैभरका कार्यालय प्रचण्ड समूहले नै कब्जा जमायो । 

भाडामा सञ्चालन गरिरहेको बुद्धनगरको पार्टी कार्यालयमा वैद्य नेतृत्वको ड्यास माओवादी खुम्चियो । एकीकृत माओवादीसँग छुट्टिएर बनेको ड्यास माओवादी पनि सग्लो रहेन । वैद्यबाट तत्काल क्रान्ति सम्भव नभएको भन्दै विप्लव बुद्धनगरबाट बाहिरिए । विप्लव वाहिरिएपछि पनि बादल, पम्फा, देव गुरुङ लगायतको समूह बैद्यतिरै थिए । तर वैद्यबाट अब राजनीतिक लाभ लिन नसकिने निश्कर्षका साथ बादलसँगै एउटा ठूलै समूह वैद्यबाट अलग्गिए । वादलसमूहबाट बुद्धनगरको कुर्चि, जोगाउन पनि वैद्य समूहले निकै पापड बेल्नु पर्यो । 

वैद्य शक्तिबाट क्षीण हुँदा कार्यालय चलाउनै मुश्किल 

बुद्धनगरको कार्यालय त जोगियो तर कार्यालयको भाडातिर्न भने वैद्य माओवादीलाई मुश्किल पर्न थाल्यो । लामो समयदेखि थुप्रिएको घरभाडातिर्न नसकेपछि कार्यालय नै छोड्ने निश्कर्षमा वैद्यहरु पुगे । पार्टीको प्रकाशनहरुसमेत बुद्धनगर कार्यालयबाट सञ्चालन हुँदै आएका थिए । कार्यालयको भाडा नै तिर्न सक्ने अवस्था नभएपछि छोड्नुपरेको एक केन्द्रीय सदस्यले बताए । 

आर्थिक अभावमा कार्यालय सञ्चालन खर्चसमेत जुटाउन नसकेको वैद्य माओवादीको केन्द्रीय कार्यालयले कुपण्डोलको प्रदेश कार्यालयलाई सम्पर्क कार्यालय बनायो । समस्या केन्द्रीय कार्यालयको मात्रै होइन, प्रदेश कार्यालयको पनि उस्तै । 

आर्थिक अभावकै कारण प्रदेशले भाडामा लिएको कुण्डोलको सिङगो घरमा पनि कार्यालय सञ्चालन गर्न सम्भव भएन । त्यसपछि सीमित कोठाहरु मात्रै लिएर घर छाडिदियो । टिनको छाना हालेर सोही ठाउँमा बनाइएको शहीद स्मृति भवनमा मात्रै वैद्य माओवादीको झण्डा फहरायो । 

इच्छुक प्रतिष्ठानले आंशिक राहत

सिङगो माओवादी हुँदा घट्टेकुलोस्थित खोलाछेउमा सरकारले छुट्टाइदिएको जग्गामा कृष्ण सेन इच्छुक स्मृति प्रतिष्ठान बन्यो । प्रतिष्ठानको संरक्षक अहिले पनि मोहन वैद्य छन्, अध्यक्ष हिरामणी दुखी । वैद्य रहँदासम्म प्रचण्ड समूहले प्रतिष्ठानमा आफ्नो दाबी छाडेको छ । जसले गर्दा पार्टीका बैठक लगायतका गतिविधिहरु गर्न वैद्य माओवादीलाई सहज भएको छ । 

प्रतिष्ठानको भब्य महलको केही भाग भाडामा लगाइएको छ । ब्यवसायिक प्रयोजनमा आएको भवनमा वैद्य माओवादीले कार्यक्रम गर्न भने छुट पाएको छ । प्रतिष्ठानमा रहेका ईश्वरचन्द्र ज्ञवाली पनि हालै पार्टी छाडेर प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरिसकेका छन् । यद्यपि प्रतिष्ठानमा वैद्य समूह कमजोर भएको अवस्थामा इच्छुक प्रतिष्ठानको लाभ पनि लिन नसक्ने अवस्था आउने देखिएको छ । 

कुनै जिल्लामा छैन पार्टी कार्यालय 

पार्टी सदस्यहरुको लेबीबाट धानिएको वैद्य माओवादी आर्थिक रुपमा टाट पल्टिदै गएको छ । केही आंशिक प्रदेशको सम्पर्क कार्यालयबाहेक कुनै पनि जिल्लामा कार्यालय सञ्चालन गर्ने औकात वैद्य माओवादीले राखेको छैन । 

पार्टीलाई अर्धभूमिगत अवस्थामा राख्ने र सत्ताको मोर्चा बनाउने भन्दै सीपी गजुरेलको नेतृत्वमो देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) निर्वाचन आयोगमै दर्ता भयो । २०७४ सालको चुनावमा भाग लिएको देजमो गएको स्थानीय चुनावमा भने भाग लिएन । चुनावी मोर्चाकै रुपमा गठित देजमोलेसमेत देशका कुनै पनि जिल्लामा पार्टी कार्यालय सञ्चालन गर्न सकेको छैन । 

आफ्नै पूर्व सहकर्मी प्रचण्ड पेरिशडाँडादेखि खुमलटारसम्म राइँदाईँ गरिरहेका छन् भने चिल्लो गाडीमा ठूलो सुरक्षा घेराभित्र ओहोरदोहोर गरिरहँदा वैद्य र उनी सम्बद्ध पार्टी आर्थिकरुपमा टाट पल्टिदै गएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद