देशका विभिन्न सहकारीबाट ऋण लिई ग्यालेक्सी टीभीमा लगानी गरेर सर्वसाधारणको पैसा हिनामिना गरेको भन्दै लामिछानेविरुद्ध समाचार आइरहेका छन् । यही प्रसंगमा श्रेष्ठले देशको लागि सम्पत्ति बन्न नसके घाँडो नबन्न आग्रह गरेका थिए ।
‘यदि तपाईं कसैका लागि, समाजका लागि अथवा देशका लागि सम्पति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनी दिनुहोला । यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ, भए पछाडि हटेर सहयोग गरिदिनुहोला,’ सलाइको काँटीसहितको तस्वीर राख्दै विराजभक्तले बुधवार स्टाटस लेखेका थिए ।
सो स्टाटसपछि रास्वपा कार्यकर्ता सभापतिलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै सामाजिक सञ्जालमा श्रेष्ठविरुद्ध खनिएका थिए । २०७९ को प्रतिनिधि सभा चुनावमा विराजभक्त काठमाडौं– ८ बाट विजयी भएका थिए । आफ्नो स्टाटसलाई लिएर भइरहेका टिकाटिप्पणीपछि श्रेष्ठले बिहीबार आफू सभापति लामिछानेको उपग्रह नभएको भन्ने आशयको टिप्पणी गरेका छन् ।
श्रेष्ठले बिहीबार लेखेका छन्, ‘यम ग्रह’ ग्रह हो कि होइन भन्ने धेरै बहसहरू भए, तर ती बहसले यम ग्रहलाई केही फरक नै परेन, ऊ विधाताले निर्देशित विधिमा आज पनि चलिरहेकै छ,’ श्रेष्ठले अगाडि लेखेका छन्, ‘बहस गर्नेहरू पृथ्वीमा नजन्मँदा पनि त्यही विधिमा चलिरहेको थियो र भोलि बहस गर्नेहरू नरहँदा पनि त्यही विधिमा चल्नेछ ।’सभापति लामिछानेले पार्टीलाई विधिभन्दा पनि निजी कम्पनी जसरी चलाउन खोजेको भन्दै श्रेष्ठलगायत केही नेताहरू असन्तुष्ट छन् ।