Media Network

२०१७ साल पुष १: राजा महेन्द्रको "कू" र कालो दिन


अञ्जन बस्नेत

१ पुष २०७९,शुक्रबार

काठमाडौँ। आज  पुष १ गते नेपाली राजनीतिमा प्रजातन्त्रवादीहरुको लागि कालो दिन गरिएको भन्ने छ ।६० वर्ष अघि २०१७ सालमा आजकै दिन तत्कालीन राजा महेन्द्रले दुई तिहाइ बुहमत ल्याएको नेपाली कांग्रेसको सरकार र संसद माथि राजा मेहन्द्रले सैन्यबलमा “कू“ गरेर शाही निरंकुशता सुरु गरेका थिए। लोकतन्त्रवादीहरुले पुस २ गतेलाई ‘कालो दिन’ मान्ने गरेका छन् । 
राजतन्त्रवादी एवं केही ‘राष्टवादी’हरुले पूर्वराजा महेन्द्रलाई राष्ट्रवादी धारका दुरदर्शी राजनीतिज्ञका रुपमा लिने गरेका छन् । प्रजातन्त्रवादीहरु त्यसैले पुष १ लाई कालो दिनका रुपमा चिन्छन्।
पुष १ गतेले देशको पहिलो पटक स्थापित प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य मात्र गरेको  थिएन। मुलुकमा कायम रहँदै आएको शाहवंशीय राजतन्त्रको बिरोधमा आवाजसम्म निकालिदिएको थियो।
धेरै मानिसहरु आजसम्म पनि भन्ने गर्छन् बीपी र राजा महेन्द्र मिलेर त्यो बेला प्रजातान्त्रिक शासन व्यवस्था चल्न पाएको भए देशको अवस्था नै परिर्वतन हुने थियो ।
प्रजातन्त्रवादीहरुले त्यस दिनलाई कालो दिन मनाउँदै गर्दा पाठ्यपुस्तकमा मात्रै होइन परीक्षामा समेत पौष १ लाई नेपालको इतिहासमा किन कालो दिनको रुपमा मनाइन्छ ? भन्ने प्रश्न समेत सोधिँदै आइरहेको छ । पुनरुत्थानवादी शक्ति नेपालले भने यस दिनलाई कालो सूचिबाट हटाउन पर्ने माग गरिरहेको छ ।
पौष १ मा राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि नेपाली भाषालाई अनिवार्य गरेको,  नेपालमा भारतीय नोटहरुको प्रयोगमा कमी ल्याएको,  विदेशीलाई नेपाली भूमी किन्नमा निषेध  गरेको जस्ता महत्वपूर्ण कार्य गरेकोले पौष १ लाई नेपाली इतिहासमा अविस्मरणीय दिनको रुपमा मनाउनुपर्ने पुनरुत्थानवादी शक्तिले माग गरेको हो ।
पुष १ गते किन कालो दिन
विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था लागु गरेको विरोधमा कालोदिवस मनाउने गरिएको हो ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला तत्कालिन प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चश्मा’ कथा संग्रह बाहेकका साहित्यको रचना गर्नु भएको हो । ‘दोषी चश्मा’ कथा संग्र्रह भने विसं २००८ मै प्रकाशन भइसकेको थियो ।
नेपाली काँग्रेस, नेपाल तरुण दल लगायतले हरेक बर्षको पुस १ गतेलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनको संझना गरेर कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।
कसरी आएको थियो पुष १
२०१५ सालका सांसद श्रीभद्र शर्माले त्यो दिनको स्मरण गर्दै ‘बीपीसँगका केही स्मरण’ नामक आफ्नो पुस्तकमा लेखेका छन्, ‘घाम एकदमै प्यारो लाग्ने याममा आकाश जब बादलले डम्म ढाकिन पुग्छ र वातावरण पूरै रुदिलो र बुदिलो वन्छ, त्यस्तो दिनलाई संस्कृत भाषामा दुर्दिन भनिन्छ।
रातिदेखि बुँदाबुँदी पानी परेको र आकाश पूरै कालो बादलले डम्म ढाकिएको । चिसो बतासले मुटु कमाउने र कुहिरोले गर्दा दृष्टि परसम्म फैलिन नपाउने दुर्दिन थियो पुष १ गते।
बिहानैदेखि काठमाडौंका सडक गल्ली र चोक चोकमा सेनाका बख्तर बन्द गाडीहरु ओहरदोहर गर्न थाले। त्यो दृष्यले सम्भावित दुर्घटनाको संकेत गरिरहेको थियो । राजाले आज भोलीमा ‘कु’ गर्छन् भन्ने हल्ला धेरै दिनदेखि चलेको थियो।’
खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिए।
कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए। यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे।
राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन। पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए।
उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन। जे पर्छ हामीले बेहोर्नु पर्छ’।
कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने  ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु। सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ।’
राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो। कुन बेला के हुने हो थाहा छैन। विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन्।
अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो। सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति  अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो। ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार प¥यो ? राणा छक्क परे।
दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला।

स्नेही निजी सचिव–
दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन। तर के हतार प¥यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे।

बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए। बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको। दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन्।

पुष १ को ‘कु’का योजनाकार पूर्व प्रधानमन्त्री तुलसी गिरीले गत जेठको अन्तिम साता एक बिहान मसँ भनेका थिए– ‘कु हुन्छ भन्ने हामी केहीलाई थाहा थियो तर मिति बारे राजाबाहेक कसैलाई सुइँकोसम्म थिएन।

पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए। नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन।

राजाले कु को योजनाबारे पर्याप्त छलफल र गृहकार्य गरे पनि साइत भने आफ्नो मुटु भित्र बन्द गरेर राखेका थिए। कसलाई कसरी समाउने, के गर्ने भन्ने योजना पनि राजा आफैले आफ्ना निकट सहयोगीलाई समेत बताएका थिएनन्।

कु को योजनामा राजालाई राजनीतिक तहमा सल्लाह दिने प्रमुख  योजनाकार तुलसी गिरी भन्छन् ‘हुन त मसँग कुरा भएरै एक्सनको प्लान राजाले बनाएका हुन्। तर पुष १ गते नै कदम चाल्दैछन् भन्ने मलाई पनि थाहा थिएन।’

कु भएको दिन पुष १ गते बिहान ५ बजे नै गिरी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेट्न गएका थिए। गिरीले उपाध्यायसँग सोधे, ‘सहरभरी सिपाही मात्र छन्। तपाई गृहमन्त्री, केही हुनेबाला छ ।’ उपाध्यायले भने ‘खै मलाई त केही थाहा छैन।

हेर डाक्टर यो गृहमन्त्री हुनु भन्दा त सामान्य सिपाही भएको भए केही थाहा हुन्थ्यो की ? हिजो सुवर्णजीसँग बाटोमा भेट भएको थियो। ल वाईवाई म त कलकत्ता गए भनेर हिडे।’

अर्कोतर्फ रातभर सुत्न नसकेका विपक्षी दलका नेता भरतशमशेर बिहानै बीपीलाई भेट्न प्रधानमन्त्रीको त्रिपुरेश्वरस्थित सरकारी निवास पुगे। दुई नेताबीच राजाले आजै कु गर्न सक्छन् भन्ने विषयमा कुरा भयो। बीपीले भने ‘राजाले हतियार प्रयोग गरे भने तत्काल त्यसको प्रतिरोध गर्ने साधन प्रजा पक्षमा छैन।’

त्यस समयमा बीपीका भतिजा शेखर कोइराला शान्तभवन स्थित (हालको पाटन अस्पताल) मा टन्सिलको उपचार गराउँदै थिए। पुष १ गतेकै बिहान उनको अप्रेशन हुँदै थियो। शेखर भन्छन्, ‘बिहान बीपी बाबा अस्पताल आउनुभयो र त्यही उहाँले भन्नु भएको थियो आज राजाले समाउँछन् होला।’
 
अर्कोतर्फ राजाले राजनीतिक षड्यन्त्रको सम्पूर्ण योजना तयार गरेपछि पुष १ गते बिहान मात्र सेनापति नीरशमशेर राणा र प्रहरी प्रमुखलाई बोलाएर आफू मुलुकको शासनभार हातमा लिने निष्कर्षमा पुगेका सुनाए । उनले भने ‘तिमीहरु सहयोग गर्ने भए गर नत्र दरबारको सेनाले यो काम गर्ने छ।’ सेनापति राणाले सोधे, ‘सरकारबाट कहिलेदेखि यो कदम उठाई बक्सन्छ।’ राजाले भने ‘अहिले नै।’

राजाको आदेश सुनेपछि प्रधानसेनापतिले आश्चर्य जनाउँदै भने, ‘सरकार यो त व्यवस्था विपरित हुन्छ । चुनिएर आएको यस्तो सरकारलाई गिरफ्तार गर्दा सरकारलाई नै नराम्रो पर्दछ।’ सेनापतिको कुरा सुनेपछि राजाले उनलाई दरबारमै बस्न आदेश दिए।

सेनामा उनी पछिका सुरेन्द्रबहादुर शाह पनि राजाको कदमप्रति सहमत हुन सकेनन्। सेनाको नेतृत्व कुको पक्षमा नदेखिएपछि राजाले राजदरबार भित्रकै सेनाका जेनरल समरबहादुर कुँवरको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई गिरफ्तार गर्न सैनिक खटाए ।

 “कू“ अघि कहाँ कहाँ गएका थिए महेन्द्र?
भुवनलाल जोशी र लियो ई रोजले लेखेको ’डेमक्र्याटिक इनोभेशन्स् इन नेपाल, अ केस स्टडी अफ पोलिटिकल अकल्चरेसन’ मा पनि राजा महेन्द्र उक्त भ्रमणबाट फर्कँदा श्रीनगर हुँदै नेपाल आएको उल्लेख छ।
क्यानडाको भ्रमण सकिएपछि महेन्द्र नेपाल फर्कँदाको प्रसङ्ग उल्लेख गर्दै उक्त पुस्तकमा लेखिएको छ (पृ. ३८२), “औपचारिक भ्रमण सकेर राजा महेन्द्र नेपालका लागि जुन १६ मा प्रस्थान गरे। लिस्बन, प्यारिस, फ्र्याङ्कफर्ट, भियना, तेहरान, काबुल, श्रीनगर र दिल्ली हुँदै उनी जुलाई २८ मा काठमाण्डू आइपुगे।“
हालै प्रकाशित पुस्तक ’परराष्ट्रका पात्र’का लेखक तथा पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई पनि आफू कूटनीतिक सेवामा रहँदा राजा महेन्द्रको श्रीनगर भ्रमणबारे सुनेको बताउँछन्।“मसँग पनि भारतका तत्कालीन शिष्टाचार महापालले महेन्द्रलाई कश्मीर भ्रमण गराएको बताएका थिए,“ उनले भने, “उनी पछि त्यहाँको विदेश मन्त्रालयमा उच्च पदमा पनि पुगेका र राजदूत पनि भएका थिए, तर उनको नाम चाहिँ अहिले सम्झना भएन।“
भट्टराईका अनुसार त्यस बेला राष्ट्रप्रमुखका भ्रमणहरू लामा हुने गरेका थिए।
त्यसै क्रममा राजा महेन्द्र पनि औपचारिक भ्रमणबाट फर्कँदा श्रीनगर हुँदै फर्केको र त्यहाँ निजी भ्रमणका रूपमा घुमफिर गरेको हुन सक्ने उनी बताउँछन्।
आफैँले कश्मीरको भ्रमण गरेका भए पनि महेन्द्रले कश्मीरको विषयलाई लिएर भारत वा पाकिस्तानको पक्ष भने नलिएको देखिने गरेको भट्टराई बताउँछन्।
उनले भने, “तर राजा महेन्द्रको स्वभाव राजनीतिक भिन्नता भए पनि व्यक्तिगत सम्बन्ध चाहिँ एकदमै निकट राख्ने खालको थियो। त्यसैले गर्दा यस्ता भ्रमणहरू भइरहन्थे।“
कश्मीरबारे राजा महेन्द्र
कूटनीतिक क्षेत्रका जानकारहरूका अनुसार कश्मीर विवादमा महेन्द्रले कसैको पनि पक्ष लिएको देखिँदैन।नेपालले भारत र पाकिस्तान छुट्टिएका बेला देखि नै त्यस्तै नीति अपनाउँदै आएको देखिन्छ।
भारत–पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू’रासन सकियो, हिउँ र जङ्गली साग खाएर लड्यौँ’
केआई सिंहले चाहिँ आफू प्रधानमन्त्री भएका बेला कश्मीर भारतको अभिन्न अङ्ग रहेको बताएका थिए।त्यसै कारणले पनि उनलाई चाँडै राजाले हटाएको हुन सक्ने अनुमान पनि गरिन्छ।
संगीता थपलियालले आफ्नो पुस्तक ’म्युचुअल सेक्युरेटीः द केस अफ इन्डिया एन्ड नेपाल’ मा सन् १९५७ अगस्ट ३ मा भएको एउटा पत्रकार सम्मेलनमा नेपालको लामो मौनता तोड्दै सिंहले भारतको पक्षमा बोलेको लेखेकी छन्।

सिंहलाई उल्लेख गर्दै उनले लेखेकी छिन् (पृ. ७५), “कश्मीर मुद्दामा हामी भारतको समर्थन गर्नेछौँ‘ कश्मीर भारतको थियो र हो अनि कश्मीरी जनता भारतीय सङ्घमा बस्न चाहन्छन्, हामी उनीहरूको चाहनालाई सम्मान गर्छौँ।“

राजकुमार सिंहले चाहिँ आफ्नो पुस्तक “ग्लोबल डाइमेन्शन्स अफ इन्डो–नेपाल पोलिटिकल रिलेशन्सः पोस्ट इन्डिपेन्डन्स’मा पाकिस्तानसँग भारतको तनाव बढिरहेका बेला सन् १९६५ मा भएको राजा महेन्द्रको दिल्ली भ्रमणमा कश्मीर मुद्दामा भारतीय नेताहरूले उनको समर्थन खोजेको लेखेका छन्।
उनी लेख्छन् (पृ. १६९), “त्यसबेला भारतीय नेताहरू कश्मीर मुद्दामा राजा महेन्द्रको समर्थन चाहन्थे। नयाँ दिल्लीको अनुरोधपछि राजा महेन्द्र संयुक्त वक्तव्यमा ’आत्मनिर्णयको सिद्धान्त आश्रित र विश्वास गरिएका क्षेत्रमा मात्र लागु हुन सक्छ र सम्प्रभु राष्ट्रको एकीकृत क्षेत्रसम्म विस्तारित हुन सक्दैन’ भन्ने वाक्य राख्न सहमत भए।“

उनले युद्धका बेला पाकिस्तानविरुद्ध गोर्खा फौजलाई प्रयोग नगर्न भारतलाई आग्रह गर्नु भनी पाकिस्तानले राखेको प्रस्तावलाई पनि नेपालले त्यसबेला नमानेको लेखेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद