Media Network

संसदमा सत्तापक्षको पनि अवरोध , एमाले सांसद बोल्दा सत्तारूढपक्षद्वारा विरोध


खबरस्टोरी संवाददाता

२६ श्रावण २०८०,शुक्रबार

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिए ।

एमाले सांसद साहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरे । ‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीय बाट ज्वाला कुमारी साहलाई दिएको छु । उहाँले बोलिसकेपछि यहाँहररुको कुरा के हो त्यो म सुनाउने छु ।’

तर, सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताए । 

‘माननीय सदस्यहरु आलोपालो मैले नियन्त्रण गरेको हुनपर्ने छ । मेरो कुराको आधारबाट यो सभा सञ्चालन गर्नुपर्ने छ’ सभामुख घिमिरेले भने ।

होहल्लाकाबीच एमाले सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन् । सत्तापक्षका सांसदहरुको होहल्लाका कारण ‘कुरा नसुनिएको’ उल्लेख गर्दै सभामुखले एमाले सांसद साहलाई बस्न आग्रह गरे ।

लगत्तै एमाले सांसदहरुले नारावाजी सुरु गरे ।

संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद