Media Network

१० संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता

१० भाद्र २०८०,आईतवार

काठमाडौँ । प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसका रामहरी खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा, आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट ऋषिकेश पोखरेलले सार्वनजिक लेखा समितिको सभापतिमा र किरणकुमार शाहले महिला तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी माओवादीबाट कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमामा विमला सुवेदीले उम्मेदवारी दर्ता गरेकी छन् ।

त्यस्तै राप्रपाबाट दीपककुमार सिंहले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवार दर्ता गरेका छन् ।

त्यस्तै जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा, जसपाका राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा र एकीकृत समाजवादीका भानुभक्त जोशीले

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

रास्वपाको पनि उम्मेदवारी दर्ता

त्यस्तै सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीचको भागबन्डामा भाग नपाएको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि एउटा समितिमा उम्मेदवारी दर्ता गरेको छ ।

रास्वपाका काठमाडौँ ७ का सांसद गणेश पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद