Media Network

सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगायौ:माधव नेपाल


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन्।आइतबार काठमाडौँमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधानलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगायौें भन्दै जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताएका हुन्।


उनले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनकै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन् भनेर विश्वास गर्न पनि  मतदातालाई आग्रह गरे। उनले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नपर्ने बताए।


अध्यक्ष नेपालले भने, ‘गठबन्धन दललाई तपाईंहरुले विजयी गराउनु पर्दछ। धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यक छैन। हामीले मुलुकलाई निकै ठूलो दूर्घटनाबाट बचाएका छौँ। संविधान नै धरापमा परिसकेको थियो। लोकतन्त्र नै धरापमा पर्ने अवस्था भइसकेको थियो। पटक–पटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो वाम–लोकतान्त्रिक गठबन्धनले महत्वपूर्ण भूमिका खेल्यो। त्यसमा निम्ति तपाईंहरुले यी सबै नेताहरुलाई धन्यवाद दिनु पर्दछ।’


अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराए। मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद