Media Network

थाती रहेका विधेयकलाई प्राथमिकतासाथ सदनमा लैजाने सहमति


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौं । सरकारले प्राथमिकतामा रहेका विभिन्न विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य थालेको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा विभिन्न दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा जनसरोकारसँग जोडिएका विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ ।

छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा नियमावलीलाई १५ दिनभित्र टुंगो लगाउने र यसअघि थाती रहेका विधेयकलाई प्राथमिकताका आधारमा अघि बढाउने सहमति भएको जानकारी दिए । संसद सुरू भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अब संसदलाई बिजनेश दिने विषयमा छलफल केन्द्रित भएको परियारले बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई व्यवस्थित गराउने र विधेकहरूलाई जनमुखी बनाउने तथा जनताका आवश्यकतासँग जोड्ने गरी विधेयकलाई अघि बढाउने विषयमा सबै दलहरुसंग छलफल गरिएको जानकारी गराए ।

सरकारले विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लैजाने तयारी गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद