Media Network

यसकारण तुहियो सिटौलाको राष्ट्रियसभा छिर्ने सपना


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासहित २० सांसदको अवधि आगामी फागुन २० बाट सकिँदै छ । म्याद सकिनुभन्दा एक महिनाअगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधानबमोजिम रिक्त स्थान पूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदै छ । अध्यक्ष बन्नकै लागि नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रिय सभामा सांसद हुने चाहना राखेका छन् । २० सांसदमध्ये १९ जना निर्वाचनबाट र १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।

आगामी महिना हुने राष्ट्रिय सभाको निर्वाचनमार्फत शक्तिमा उदय हुने नेता कृष्ण सिटौलाको सपना कांग्रेस केन्द्रीय समितिमा भएको निर्णयका कारण तुहिएको छ।पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभामा सन्तुलनका आधारमा नयाँ अनुहारलाई अवसर दिने निर्णय गरेको छ ।

योसँगै पहिला निर्वाचन लडेका तर राष्ट्रिय सभा सदस्य हुँदै सरकारमा र शक्तिमा पुग्ने चाहना राख्ने नेताको बाटो बन्द भएको छ। यसअघि सिटौलालगायत गोपालमान श्रेष्ठ र आनन्दप्रसाल ढुंगाना पनि राष्ट्रिय सभा छिर्ने चर्चा थियो।संविधान जारीपछिका दुई संसदीय निर्वाचनमा पराजय बेहोरेका सिटौलाले जीवनको उत्तरार्द्धमा सक्रिय राजनीतिबाट सम्मानजनक बहिर्गमन खोज्दै आएका छन् । 

दोस्रो संविधानसभामा मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौला त्यसपछि भएका ०७४ र ०७९ को संसदीय निर्वाचनमा पराजय भएपछि उनको राजनीति यात्रामा ठूलो धक्का पुर्‍याएको थियो । पार्टीभित्रै पनि सिटौला शक्तिहीन बन्दै गएका छन् । तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी भएर सिटौलाले पार्टीभित्र तेस्रो धारको बीजारोपण गरेका थिए । संसदीय निर्वाचनको हार र प्रभावशाली युवा नेताहरू महामन्त्री गगन थापा र केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ पाउन छाडेपछि सिटौला नेतृत्वको तेस्रो धारको अस्तित्व संकटमा पर्दै आएको छ । तर थापा र पौडेल पनि सभापति देउवासँगको सहकार्यमा अघि बढ्न थालेपछि सिटौलाको साथ छोडे ।

एक वर्षअघिको संसदीय निर्वाचनबाट पराजित हुनासाथ सिटौला राष्ट्रपति बन्ने दौडधुपमा पनि लागे । तर सत्ता गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने सहमत भएपछि सिटौलाले हात झिकेका थिए ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद