Media Network

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७९,सोमबार

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सु; को विश्वस्तरीय प्रतिष्पर्धाका लागि इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकामार्फत नेपाल आउनुभएका नेपाली मुलका कलाकारलाई विशेष सम्मान गरेको छ । ९ अप्रील २०२३ मा संघको काठमाडौँस्थित सचिवालयमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मुलका २ सय जना कलाकारलाई सम्मान गरिएको हो । 

इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालसहित, भारत, थाइल्याण्ड, म्यानमार, अमेरिका, अष्ट्रेलिया, यूरोपेली विभिन्न मुलुक लगायतका नेपाली मुलका २ सय ४० प्रतिष्पर्धीहरु छन् । कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण,सम्बर्धन र प्रवर्धन गर्दै विश्वभरका नेपाली जातिलाई संस्कृतिका माध्यमबाट जोड्ने अभियानमा नेतृत्वदायी योगदान गरेकोप्रति सम्मान प्रकट गर्दै मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भव्य सफलताको शुभकामना व्यक्त गरे ।

दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने अभियानमा एनआरएनले लामो समयदेखि पहल गर्दै आएको अध्यक्ष केसीले बताए । उनले भने, “हामी सबै नेपाली जो जहाँ भएपनि सबैले नेपाललाई आमा भन्न पाउनुपर्छ, अझ दोस्रो पुस्ताले आफ्नो पुर्खाको भूमिलाई बिर्सनु हुन्न भनेर हामीले तपाईहरुलाई नेपालसँग जोड्न चाहेको छौँ, तपाई सबै जना अब नेपाली माटोसँग जोडिनुपर्छ ।” संसारभरिबाट आउने नेपालीले मातृभूमि र पितृभूमि सम्झेर देशको समृद्धिमा जोडिनुपर्ने अध्यक्ष केसीको भनाई थियो । हरेक गैरआवासीय नेपालीलाई नागरिकताको सुनिश्चिताका लागि आफू प्रतिबद्ध रहेको अध्यक्ष केसीको भनाई थियो । 

कार्यक्रममा संघका उपाध्यक्ष डिबी क्षेत्रीले दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्न गैरआवासीय नेपालीले गरिरहेको पहलको जानकारी गराउँदै संघले फाउण्डेशनसँग सहकार्य गर्दै नेपाली भाषी र नेपाली मुलका सबैलाई नेपालसँग जोड्ने महान अभियान सुरु भएको बताए । 

यस्तै, इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले गीत र संगीतका माध्यमबाट भाइचारासहितको नेपाली जातिय एकता सुरु गरेको र त्यसमा एनआरएनएको सहकार्यका लागि आभार व्यक्त गरे । थाइल्याण्ड, म्यानमार लगायतका देशमा रहेका नेपालीलाई पनि कानूनी आधारसहितको परिपत्र प्रदान गर्न गैरआवासीय नेपाली नीति संशोधनका लागि उनले आग्रह गरे । सचिव गोविन्द प्रसाद गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा संघका उपाध्यक्ष दुर्गा आचार्य लगायत नेपालमा रहेका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद