Media Network

आज भाईटिका, उत्तम साइत विहान १० बजेर ५१ मिनेटमा


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०८०,बुधबार

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार भाइटीका पर्व मनाइदैछ । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दैसप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ । आज भाइ टीकाको उत्तम साइत विहान १० बजेर ५१ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उत्तम साइत १० बजेर ५१ मिनेट रहे पनि दिनभरी नै भाइटीका लगाउन सकिने अधिकारीले बताए । 

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीकाका साथै मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद