Media Network

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


खबरस्टोरी संवाददाता

३ भाद्र २०७९,शुक्रबार

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई पर्वका रुपमा मनाउने गरिएको हो ।  आजका दिन कृष्णमन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको रातलाई ‘मोहरात्री’ पनि भनिन्छ । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास रहिआएको छ । 

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । कृष्ण जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यस्तै, पाल्पाको तानसेनमा पनि कृष्ण जन्माष्टमीमा जात्रा लाग्ने गर्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद