Media Network

भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने घलानको कथा


खबरस्टोरी संवाददाता

१३ माघ २०७८,बिहीबार

काठमाडौँ।  काठमाडौंमा विक्रम संवत् १९८० को दशकदेखि मोटरबाटो बन्न सुरु भयो । त्यस समयमा उपत्यकाको सीमित सडक सञ्जाल थानकोटसम्म मात्र थियो भने वीरगन्ज (अमलेखगञ्ज) देखीको बाटो भीमफेदीसम्म मात्रै थियो ।

काठमाडौंमा सडक बनेपछि तत्कालीन शासकहरूमा मोटर चढ्ने मोह बढ्नु स्वभाविक थियो तर समस्या थियो भीमफेदीबाट थानकोटसम्म सडक नै नभएको ठाउँबाट कसरी मोटर ल्याउने ? उनीहरूले उपाय सुझाए मानिसको काँधमा बसाएर मोटर नेपाल उपत्यका ल्याउने । अनि सुरू गरियो मान्छेको काँध चढाएर उपत्यकामा मोटर गाडी ल्याउन ।

काठमाडौंमा मोटर ल्याउनका लागि सो समयमा वीरगंजदेखि मकवानपुरको भीमफेदीसम्म सडक खनिएको थियो र त्यहाँबाट भरियाको काँधको यात्रा गरी मोटरहरू शासकहरूको आँगनसम्म पुग्थे । शासकहरू मोटरकार मात्र बोकाउँदैन् थिए त्यसका लागि चाहिने इन्धनको भारी पनि बोकाउथे।

त्यतिबेला साना गाडीमा लामा-लामा काठ बाँधेर चार कुनामा ८/८, १६/१६ र २४/२४ जना भरियाहरूले गाडी काँधमा बोकेर हिँड्थे । भरिया तथा नाइकेहरूले ८/८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६/१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४/२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे ।

बेलायत तथा जर्मनीमा बनेका विलासी कारप्रति शासकहरूको राम्रै मोह थियो। त्यहाँबाटआयातित गाडी सुरुमा भारतको कलकत्ता बन्दरगाह हुँदैं रक्सौल सिमासम्म ल्याइन्थ्यो । अनि ती गाडी रक्साैलबाट अमलेखगञ्जसम्म रेलमा र त्यसपछि  भीमफेदीसम्म गुडाएर ल्याइन्थ्यो । बीचमा पर्ने खोलाहरूमा भने गाडीले डुंगामा बसेर यात्रालाई  निरन्तरता दिन्थे । मकवानपुरको तत्कालीन मुकाम भीमफेदी आइपुगेका मोटरगाडीमा पांग्रा झिकी नोल लगाइन्थे अनि सुरू हुून्थ्यो 'नेपाल' शहर तर्फको यात्रा ।

गाडीको आकार र भरियाको संख्याका आधारमा मोटरकार छिटोमा एक सातामा चिसापानी, देउराली, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि भञ्ज्याङ हुँदै काठमाडौंको थानकाेट गोदाम–चुनीखेलसम्म पुग्दथ्यो, जहाँ आफ्नो मोटरकार लिन शासकहरू तयारी अवस्थामा रहन्थे । सानो गाडी सात दिनमा, मझौला दस दिनमा अनि ठूलो गाडी भने बढीमा बाह्र दिनसम्ममा भीमफेदीबाट थानकोट पुग्थ्यो ।

तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्यका एक हुन्  हिराबहादुर घलान । उनको   गत वर्ष पुसमा निधन भयो । पुरन्डीका मकवानपुरका बासिन्दा घलानको ९१ वर्षको उमेरमा निधन भएको हो । काँधमा गाडी बोक्नेहरुमध्ये घलान दोस्रो पुस्ताका भरिया थिए ।

घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए । घलानले लगातार २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याए । त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । ‘अहिले गाडीले मान्छे बोक्छ । त्यति बेला मान्छेले गाडी बोक्थे,’ घलान भन्ने गर्थे । 

उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोकेका थिए भने भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे ।

थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए । आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले केहि समय अगाडि सुनाएका थिए ।

घलानले संचारकर्मीहरूलाई बताए अनुसार उनी आफू बलियो र अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सुरुमा उनले ३२ जनाको टोलीमा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं पुर्‍याएबापत उनको टोलीलाई राणाहरूले २० रुपैयाँ बक्सिस दिएका थिए ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद