Media Network

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वव्यापी रुपमा नै खाद्य संकट निम्त्याउन सक्छ !


खबरस्टोरी संवाददाता

३२ श्रावण २०८०,बिहीबार

काठमाडौँ।भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्वव्यापी रुपमा खाद्य संकटको समस्या बढ्ने सम्भावना आँकलन भएको छ ।

भारत चालम उत्पादकमा विश्वको शीर्ष स्थानमा रहेको छ। भारतले चामलको निर्यातमा लगाएको प्रतिबन्ध र रुस–युक्रेन युद्धका कारण युक्रेनबाट अन्न आपूर्ति रोकिनुले निकट भविष्यमा विश्वव्यापी रुपमा खाद्य संकट उत्पन्न हुने संकेत गरेको हो ।

निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ। महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतसँग वार्ता गर्ने भएको छ। भारतले केही सीमित प्रकारका चामलमा लगाएको प्रतिबन्ध हटाउन वार्ता गर्ने आइएमएफको भनाइ छ ।

भारतले जुलाई २० तारिखमा विभिन्न आन्तरिक कारणहरु देखाउँदै बासमती बाहेकका अरु चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । उक्त घोषणाले भारतका छिमेकी व्यापारिक  राष्ट्र नेपाल, बाङ्लादेशमा मात्रै नभई अफ्रिकी मुलुक–बेनीन, सेनेगल, टोगो, मालीमा समेत खाद्यान्न अभावको समस्या उत्पन्न गराएको छ । 

भारत चामल निर्यातमा विश्वकै ठूलो निर्यातक हो। गत वर्ष सेप्टेम्बरमा सरकारले टुक्रा चामल (कनिका) निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अन्य केही चामल निर्यातमा २० प्रतिशत भन्सार लगाएको थियो।

भारतले आर्थिक वर्ष २०१९–२० मा १.२५ करोड मेट्रिक टन, २०२०–२१ मा २.०२ करोड मेट्रिक टन, २०२१–०२२ मा २.२ करोड मेट्रिक टन र २०२२–०२३ मा २.२५ करोड मेट्रिक टन चामल निर्यात गरेको थियो। यस्तै चालू आवमा २.३ करोड मेट्रिक टन पुग्ने अनुमान सरकारले गरेको छ।

जलवायु परिवर्तनका कारण भारतले इल नीनो प्रभावको समस्या भोगिरहेको छ । । भारतमा इल नीनो प्रभावले समयमा मनसुनी वर्षा हुँदैन र लामो समयसम्म खडेरी पर्ने भइरहेको छ । त्यति मात्रै नभई इल नीनो प्रभावकै कारण भारी वर्षा हुने र अधिकांश भूभाग डुबानमा पर्ने समस्या बढ्दै गएको छ ।

समयमा वर्षा नहुँदा र धेरै वर्षा हुँदा चामलको उत्पादन प्रभावित हुने भएकाले भारत सरकारले चामलको उत्पादनमा कमी आउने आँकलन राखेको छ । रुसले युक्रेनमा हमला गरेपछि विश्वव्यापी रुपमा मानिसहरुले प्यानिक हुँदै खाद्य पदार्थ खरिद गरेका थिए । इल नीनो प्रभावका कारण उत्पादनमा कमी आउने घोषणा भारत सरकारले गरेपछि भारतभित्रै पनि मानिसहरुले प्यानिक भएर बोराका बोरा चामल खरिद गर्न थालेका छन् । जसका कारण भारतमा एक वर्ष अवधिमा मात्रै चामलको मूल्य १० प्रतिशतले बढेको छ ।

प्यानिक हुँदै बोराका बोरा चामल खरिद गर्ने अधिकांश राष्ट्रहरुमा अमेरिका र क्यान्डा समेत परेका छन् । भारतले बासमती चामलको निर्यातमा प्रतिबन्ध नलगाउने घोषणा गरे पनि मूल्य बढ्ने डरले मानिसहरुले बोराका बोरा चामल किन्ने गरेका छन् । जसका कारण अमेरिकाले एक परिवारलाई एक बोरा चामल खरिद गर्न दिने प्रावधान समेत सुरु गरेको छ ।

यसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्यानिक बाइङको शिलशिला बढ््दै जाँदा चामलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति हुन नसक्दा चामलको मूल्य बढेको भारतीय चामल निर्यातकर्ता नितिन गुप्ता बताउँछन् । उनी भन्छन्, “सन् २०२३ को सुरुवातमा ५५० डलरमा एक मेट्रिक टन चामल बिक्री हुने गरेको थियो भने हाल ६५० डलर पुगेको छ ।’

भारतले वार्षिक रुपमा १३५ लाख टन चामलको उत्पादन गर्दै आएको छ । भारतको आन्तरिक माग १०० लाख टन मात्र छ । तथापि जलवायु परिवर्तनका कारण उत्पादनमा कमी आउन सक्ने जनाउँदै आन्तरिक माग, बढ्दो मुद्रास्फीति र आकाशिएको खाद्य पदार्थको मूल्यलाई ध्यानमा राख्दै भारतले

चामलको निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा भारत बाहेक अन्य देशमा समेत चामलको मूल्य बढ्न सुरु भईसकेको छ ।

नेपालीहरुको भान्सामा प्रयोग हुने अधिकांश चामल भारतबाट आयात हुने गरेको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको मूल्य २० प्रतिशतले बढेको अनौपचारिक तथ्यांकले देखाउँछ । भारतबाट नेपालले उच्च स्तरीय बासमती चामलदेखी कनिका चामलसम्म खरिद गर्दै आएको छ । 

यस्तै अफ्रिकी मुलुक सेनेगल, माली लगायतका देशहरुले भारतबाट ठूलो मात्रामा कनिका चामल खरिद गर्दै आएका छन् । भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाउँदा अफ्रिकी मुलुकमा खाद्यान्न अभावको समस्या हुने देखिन्छ । यस अघि सन् २००७ मा भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा अफ्रिकन मुलुकमा खाद्यान्न अभावको समस्या उब्झिएको थियो । त्यति बेला भारतले गभर्मेन्ट टू गभर्मेन्ट सेल्सको अवधारणा लागू गरी भोकमरी फैलिन दिएको थिएन ।

अहिले पनि भारत सरकारले लगाएको प्रतिबन्धका कारण खाद्य सुरक्षामा अवरोध तथा खाद्यान्न अभावको समस्या देखिएमा गभर्मेन्ट टू गभर्मेन्ट (जीटुजी) को अवधारणा अघि सारिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद