Media Network

डडेलधुरा अस्पताल विकास समिति : प्रधनान्त्रीको नियुक्ति आफूमर्जी बदर गर्दै स्वास्थ्यमन्त्रीले ओझालाई गरे नियुक्ति


अञ्जन बस्नेत

५ जेष्ठ २०८०,शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नियम विपरीत डडेलधुरा अस्पताल विकास समितिको अध्यक्ष  नियुक्ति गरेका छन्। । मन्त्री बस्नेतले प्रधानमन्त्रीस्तरबाट भएको निर्णय बदर गर्दै जेठ ३ गते डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझालाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८० वैशाख  २३ गतेदेखि लागु हुने गरी १७ गते डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिंहलाई नियुक्त गरेका थिए । 

मन्त्री बस्नेतले उक्त सिंहका नियुक्ति जेठ ३ देखि नै नियम विपरित बदर गरेका हुन्। बदरपत्र पठाए लगतै बस्नेतले बुधबार ओझालाई तीन वर्षका लागि नियुक्त गरेका हुन् ।

बस्नेतले ओझालाई डडेलधुरा अस्पताल विकास समिति गठन आदेश, २०७६ को दफा ३ को उपदफा (२) अनुसार मनोनीत गरेका हुन्।

उक्त गठन आदेशको दफा ३ को (३) मा दफा २ अनुसार नियुक्त अध्यक्ष तथा सदस्यहरूको पदावधि तीन वर्षको हुने उल्लेख छ ।

सोही आदेशको दफा ६ मा पदबाट राजीनामा दिएमा, पदावधि पूरा भएमा, मृत्यु भएमा र नेपालको कानुनविपरीत भएमा वा गैरकानुनी काममा संलग्न भएको पुष्टि भएमा पद रिक्त हुने व्यवस्था छ ।

यस्तै, दफा ३ को उपदफा ४ मा मन्त्रीलाई अध्यक्ष तथा सदस्य हटाउन सक्ने अधिकार दिइएको छ । “उपदफा ३ मा जुनसुकै कुरा लेखिए तापनि अध्यक्ष वा मनोनीत सदस्यले आफ्नो पदअनुरूप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ,” उपदफा ४ मा उल्लेख छ ।

सोही दफाको उपदफा ५ मा त्यसरी हटाइनुअघि अध्यक्ष वा सदस्यहरूलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ ।

तर, मन्त्री बस्नेतले गठन आदेशविपरीत सफाइको मौका नै नदिई सिंहलाई अध्यक्षबाट हटाएर हतारमा आफूखुसी नयाँ अध्यक्ष नियुक्त गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद