काठमाडौँ। नौ वर्षअघि आधुनिकतासँगै विश्वबजार प्रविधिमा रुमलिँदै गरेका बेला काभ्रेपलाञ्चोकको ‘चार मण्डन–तीन देउपुर’ भनिने मण्डनदेउपुर नगरपालिका सूचना–प्रविधि उपयोगको अवस्थामा थियो । तत्कालीन मण्डनका चार र देउपुरका तीन गाविसमा स्थानीय शैक्षिक नमूना ग्रामीण विकास केन्द्रद्वारा शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकतासँगै प्रविधियुक्त गाउँ बनाउन थालिएको थियो । जसलाई ‘इ–भिलेज’ नामाकरण गरियो ।
करिब तीन वर्ष ई–भिलेजका अवधारणाले मूर्तरुप लिँदै गर्दा गोर्खा भूकम्पले अभियन्ताको सपना चकनाचुर बनाइदियो । अवधारणालाई निरन्तरण दिन भौतिक पूर्वाधारले साथ दिएन । पुनःनिर्माणपछि प्रविधियुक्त गाउँ बनाउने अवधारणा उठाउने हिम्मत गर्दै केन्द्र आफैँ जसोतसो चलाएमान त बन्यो, तर निरन्तरता दिन सकेन । यद्यपि, त्यति बेलानै इन्टरनेट र यसको फाइदाबारे जानकार भइसकेका स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा व्यापारिक प्रतिष्ठानसँगै व्यक्तिका घरघरमासमेत हाल इन्टरनेटको पहुँच भने पुगिसकेकको छ । भूकम्पले थलाएको अवधारणालाई निरन्तरता दिन केन्द्रले एक विज्ञसहितको टोली बनाए पनि पुनःकोरोना महामारीले अवरोध पुर्यायो । हाल सोही कामको निरन्तरता दिन ‘सहयोगी हात’को खोजी भइरहेको केन्द्रका अध्यक्ष जनार्दन नेपालले बताउछन् । “प्रविधियुक्त गाउँ बनाउने अवधारण मरिसकेको छैन,पुनः ब्यूउताउन सहयोगीको खोजी गर्दैछौँ”, उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख प्रशासनिक सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव रहेका नेपाल हाल मण्डनदेउपुर क्षेत्रका प्राथमिक विद्यालयका लागि थप कम्प्युटर व्यवस्थापनको प्रक्रियामा छन् । तत्कालीन समयमा ‘ई–भिलेज’ नाम दिइएको उक्त क्षेत्रमा मण्डनका जैसिथोक, महादेवस्थान, चण्डेनी र ज्याम्दी तथा देउपुरका नयाँ गाउँ, गैरीबिसौना र बालुवापाटी बस्ती हुन् । जिल्लाको उत्तरपूर्वी यस क्षेत्रलाई ई–भिलेजका रुपमा विकसित गर्न विसं २०६९ मा मण्डनक्षेत्र गाउँ शिक्षा समन्वय समितिसँगको सहकार्यमा केन्द्रले यससम्बन्धी कार्ययोजना अवधारणा अघि सारेको थियो । भिलेजमा ई–एजुकेशनसँगै औषधि र कृषिको अवधारणालाई पनि क्रमैसँग लागू गर्ने कार्यक्रम बनाइयो । सो भिलेजका अत्यावश्यक क्षेत्र मानिएको यहाँका विद्यालयमा ई–एजुकेशनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरी सामग्री तयार पार्न त्यतिबेला सूचना प्रविधि उच्चस्तरीय आयोगले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सो भिलेज बनाउन सर्वेक्षणसमेत गरेको थियो । भूकम्पताका सबै गाउँमा ई–एजुकेशनका काम यस क्षेत्रका प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च मावि गरी ५३ विद्यालयमा भइरहेको थियो । ई–मेडिसिनका लागि सदरमुकामस्थित धुलिखेल सामुदायिक अस्पतालले स्थानीय स्वास्थ्यचौकीको समन्वयमा टेलिमेडिसिन तथा ई–एग्रिकल्चरका लागि सातै गाउँमा (तत्कालीन सात गाविसमा) कृषि सूचना केन्द्र स्थापना गरियो । एग्रिकल्चरका लागि भने स्थानीय उत्पादन तथा बजारबारे स्थानीय बासिन्दालाई गाउँमै जानकारी गराउन साझा वेबसाइट निर्माण गर्ने योजना बनाइएको केन्द्रका संस्थापक अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
सो भिलेजको ई–एजुकेशन मेडिसिन र एग्रिकल्चर कार्यक्रम सञ्चालानका लागि वाइरलेस् कनेक्टिभिटी इन्टरनेटको व्यवस्था गरिएको थियो । विद्यालयमा इन्टरनेट सञ्जाल विस्तार गर्न अप्टिकल फाइबर विच्याछउन सर्वेसमेत गरिएको थियो । यी सबै काम भूकम्पले रोकिदिएको थियो । ई–मेडिसिनका लागि सात गाविसका सात वटै स्वास्थ्यकेन्द्रमा ल्यापटप व्यवस्था गरिएको थियो । प्रविधिका सामग्रीका लागि एक्सन एड नामक संस्थाले सहयोग गरेको थियो । वायरलेस् प्रविधि प्रयोग गरी तत्कालीन सातै गाविसबीच आन्तरिक नेटवर्क बनाउन प्रविधिविज्ञ महावीर पुनले सहयोग गरेका थिए । सापकोटाका अनुसार सो भिलेज कार्यक्रममा स्थानीय विद्यार्थी प्रविधि जानकार हुने तथा यहाँका बासिन्दाले बुलेटिनमार्फत विश्वको सूचना सजिलै पाउनुकासाथै स्वास्थ्य र कृषि उत्पादन–बजारबारेसमेत जानकारी लिनसक्ने उद्देश्य थियो । त्यसबेलै केन्द्र र उपकेन्द्रबाहेकका विद्यालयलये भने लेखा तथा प्रशासनिक काम कम्प्युटरबाट गर्न सकेका थिए । अधिकांश विद्यालयले आफ्नै, विभिन्न निकाय स्थानीय स्रोतबाट कम्प्युटर कक्षा व्यवस्था गरेका थिए भने १३ माविले विज्ञान प्रयोगशाला व्यवस्थित गरेका थिए । त्यति बेलादेखिनै केही विद्यालयले कम्प्युटर विज्ञानका कक्षा चलाउँदै आएका छन् । माध्यमिकस्तरका विद्यार्थीले कम्प्युटरको आधारभूत शिक्षा पाउनुकासाथै इन्टरनेट चलाउन सिकिरहेका छन् । केही विद्यालयले प्राथमिक कक्षामा अङ्गे्रजी, विज्ञान र गणित विषयका कक्षा प्रोजेक्टमार्फत सञ्चालन गर्दै आएका कारण बालबालिका जिज्ञासु बन्दै शिक्षण सिकाइ प्रभावकारी बन्दै गएको उमा सहशिक्षालय उच्चमाविका प्रधानाध्यापक सालिकराम श्रेष्ठले बताए ।
साथै, महाकाली उच्च माविमा पुस्तकालय (ई–लाइबे्ररी) सञ्चालन गरी कम्प्युटर कक्षा तथा खाली समयमा विद्यार्थी कम्प्युटरबाट विभिन्न किताब पढ्ने नयाँ पाठ्यक्रमको खोजी गर्दथे । गोर्खा भूकम्पले ई–भिलेजको ५२ विद्यालयमध्ये ४६ क्षतिग्रस्त बनाउँदा भवनबाहेक १९५ कम्प्युटर, ११ प्रोजेक्टर, ११ डिस्प्ले बोर्ड, २२ युपिएस्, १८ वटा विज्ञान प्रयोगशाला, ४७ पुस्तकालय, ३५ शौचालय, तीन हजार २०० डेक्सबेञ्च, ५०० कुर्सी र २५० वटा टेबुल क्षतिग्रस्त भए । सापकोटा भन्छन्,“स्कुल नै नहुँदा सबै खत्तम बनाइदियो, सो भिलेजको छुट्टै कार्यक्रम शून्यबाटै सुरु गर्नुपर्नेछ, भूकम्पले संरचना ध्वस्त नपारेको भए यतिखेर हामी जिल्लाकै अन्य स्थानीय तहभन्दा निकै प्रविधियुक्त कार्यक्रम विस्तार गरिरहेका हुथ्यौँ ।” उनका अनुसार केन्द्र जिल्लाको सबै क्षेत्रमा यस्तै सञ्जाल जोड्ने अभियानमा थियो ।