Media Network

गोरखामा अवस्थित तल्लो अर्थात् 'कान्छो दरबार'को कथा


खबरस्टोरी संवाददाता

१५ माघ २०७८,शनिबार

काठमाडौँ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तल्लो दरबारसँग पृथ्वीनारायण शाहको इतिहास जोडिन्छ। नेपाल एकीकरण सुरु भएको र पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानको दरबारले पनि उत्तिकै महत्व बोकेको छ। गोरखा बसपार्कबाट थोरै उकालो चढेपछि रानीपोखरी आउँछ । त्यहाँबाट छेवैमा रहेको शिव, विष्णु र गणेशको मन्दिर हुँदै पँदेलीबाट ढुँगा छापेको बाटो पूर्व लागेपछि ठूलो आँगन पुगिन्छ । त्यसैको दक्षिणतर्फ तल्लो दरबार अवस्थित रहेको छ। वि.संं १८९६ सालमा बनेको गोरखास्थित तल्लो दरबारको मूलढोकामा काठमा कुँदिएको विष्णुको आकृति देख्न सकिन्छ । साँघुरिँदै गएको ठूलो आँगनमा कुनै बेला अड्डाको नामले चिनिने तल्लो दरबार अहिले भने गोरखा संग्रहालयमा परिणत भएको छ । 

दरबार निर्माणको प्रयोजन राजेन्द्र विक्रम शाहका रानीहरु जेठी राम्राज्यलक्ष्मी र कान्छी लक्ष्मीदेवीको आफ्नै छोरालाई राजा बनाउने ढिपीसँग जोडिएको छ । वि.सं. १८९४ सालमा राजा राजेन्द्र विक्रमले भीमसेन थापालाई अपदस्थ गरेपछि सिर्जना भएको अन्योलको वातावरणले नै राजगद्दीमाथिको चलखेल बढेको थियो । रानीहरुबीचको त्यही लडाइँका बीचमा कान्छी महारानीले राजगद्दी उत्तराधिकारीको परम्परागत नियमलाई तोडेर आफ्नो छोरालाई देशको बागडोर दिन प्रपञ्च रच्न थालेकी थिइन् । उनले आफू हाबी भएको अवस्थामा छोरा रणेन्द्रबिक्रम शाहलाई राजा बनाउने र स्वभाविक राजगद्दीको उत्तराधिकार सुरेन्द्रविक्रम शाहलाई व्यवस्थापन गर्नका लागि नै पुर्ख्याैली थलो गोरखामा लगेर राख्ने भन्ने योजनाका साथ यो दरबार बनेको हो ।

कान्छी महारानीको षड्यन्त्र सफल हुन भने सकेन । वि.सं. १९०३ सालमा कोत पर्व भएपछि घटनाक्रम फरक ढंगले विकसित हुने परिस्थिति देखापर्‍यो र सुरेन्द्रविक्रमलाई राजा नबनाउने प्रपञ्च तुहिएसँगै गोरखा तल्लो दरबार निर्माणको प्रयोजन पनि सकियो । १९०३ सालमा शक्तिमा आएका जङ्गबहादुर युरोप भ्रमणमा गएर फर्किएपछि उनले युरोपेली शैलीकै दरबारलाई नेपालमा बनाउन प्रोत्साहित गरे । त्यसपछि नै नेपालमा परम्परागत शैलीका दरबार नबनेका कारण गोरखा तल्लो दरबार नै नेपालको वास्तुकलाको इतिहासमा परम्परागत शैलीको सबैभन्दा कान्छो दरबार हो । 

जब सुरेन्द्र विक्रमलाई राख्ने प्रयोजनले बनाइएको दरबारको प्रयोजन सकियो तब राणा कालमा प्रमुख प्रशासनिक अड्डाका रुपमा प्रयोग गरियो । वि.सं. २०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सञ्चालन नहुँदासम्म दरबारमा जिल्लाका महत्वपूर्ण सरकारी अड्डाहरु रहेका थिए । त्यसैले कतिपय स्थानीय बासिन्दा अहिलेसम्म पनि तल्लो दरबारलाई अड्डाकै नामले चिन्छन् । अफिसहरु विस्तारै बाहिर सार्दै लगेपछि दरबारको मौलिक स्वरुप बचाइराख्न मद्धत पुगेको थियो ।

त्यसले गर्दा नै दरबारले आफ्नो मौलिकता गुमाउने डर बढिरहेको थियो । गोरखा दरबार संरक्षण परियोजनाको कामपछि दरबारको मौलिकता जोगाउन सहयोग पुग्यो । गोरखा दरबार संरक्षण परियोजनाले माथिल्लो दरबारका साथै तल्लो दरबारसम्मको काम वि.सं. २०५८ सालमा पूरा गर्‍यो । परियोजनाको काम सकिएपछि नै पृथ्वी स्मृति संग्रहालयका रुपमा विकास गर्ने काम अघि बढेको थियो । तर राजनीतिक घटनाक्रमका कारण नाममा उठेका सवालले गोरखा संग्रहालयका नाममा सर्वसाधरणका लागि समेत ०६५ सालमा दरबार खुला भयो ।

दरबार परिसरमै देखिने वास्तुकला तथा ऐतिहासिक एवं पुरातात्विक महत्वका सामग्रीहरू आफैंमा संग्रहालय जस्तो भए पनि संग्रहित गरिएका धेरै सामग्री तथा तस्बिरहरू संग्रहालयका अमूल्य निधि हुन्। संग्रहालयमा पृथ्वीनारायाणलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू संग्रहित छन्। गोरखादरबार संग्रहालयमा राष्ट्रिय संग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ। शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा छन्। दरबारको पहिलो र दोस्रो तलाका १९ वटा कोठा संग्रहालयका लागि प्रयोग गरिएको छ। 

गुरु गोरखनाथका पूजा सामग्री एवं बाजागाजाहरू साथै नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियारहरू पनि संग्रहालयमा छन्। त्यहाँ पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्रीहरू पनि अवलोकन गर्न सकिन्छ। काष्ठकलाले भरिपूर्ण तिनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरन्डा संग्रहालयका आकर्षण हुन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद