Media Network

हेन्डिक्राफ्टमा जेलिएका दिवसका सपनाहरु


खबरस्टोरी संवाददाता

१४ फाल्गुन २०७८,शनिबार

काठमाडौ । राजधानीको ललितपुरस्थित कुपण्डोलको मुल सडकको किनारमा रहेको छ आर्यमन हस्तकला ।

जसको सञ्चालक अनि डिजाइनर हुन पूर्वी इलामका दिवस श्रेष्ठ, आफ्ना बाउ बाजेको पालादेखि नै पुस्तान्तरण हुदै हाल आफ्नो पालासम्म आईपुगेको सो व्यवसाय झण्डै ७० बर्षको इतिहाससम्म जोडिएको छ । हेर्दा सामान्य लाग्ने हेन्डिक्राफ्टका उत्पादनहरु उनी आफै पनि डिजाइन गर्छन् । देश तथा अन्तराष्ट्रिय बजारमा समेत यसको बढ्दो मागसँगै काठमाडौको कलंकीमा ३० जना भन्दा बढी ज्यालादारी मजदुर राखेरै उद्योग सञ्चालन गरेर ग्राहकको मागलाई सम्बोधन गर्छन् दिवसले । 

पछिल्लो समयमा नेपालीहरु बढ्दो विदेशीने क्रमसँगै हातमा सीप छ भने विदेशी जानुपर्दैन भन्ने मान्यता बोकेका उनले प्रकृतिले नेपाललाई प्रदान गरेको चीजको संरक्षण, सबंद्घन र त्यसको सही सदुपयोग गर्न सकेमा मात्रै पनि नेपालमा अथाह सम्भावना देख्छन् । कोरोना संक्रमणले थलिएको नेपाली अर्थतन्त्रसँगै उनी जस्ता हजारौं व्यवसायीहरु आर्थिक व्यय भारले थिचिएका छन्, झण्डै १ करोडको हाराहारीमा बैकिंग ऋण भार बोकेका उनी हालको परिस्थिति कठिन भएता पनि कत्ति पनि विचलित छैनन्, लोड छ तर पनि बजार मागको हालको अवस्था हेर्दा ऋणमुक्त्त हुन अब धेरै समय छैन उनी भन्छन्, मेहनत र पसिनाको कमाईमा जुन आनन्द छ, त्यो अन्य विदेशी भुमिमा बेचेको श्रममा कहाँ मिल्ला र ?

राष्ट्रले चिन्न नसकेको यस्ता धेरै कुराहरु नेपालमा छन्, जसलाई देश तथा विदेशमा हजारौ डलरमा बेच्न सकिन्छ,नेपाली अर्थतन्त्र मजबुद पार्न सकिन्छ,जसमध्ये बाँस एक हो, जसबाट निर्मित हेन्डिक्राफ्टका सामानहरु चाइना, बेलायत, भारत र युरोपका अधिकांश सहरहरुमा निर्यात हुने गर्दछ । उनले मात्रै विश्वका ५ देखि १० वटा मुलुकहरुमा आफ्ना उत्पादनहरु पुराउँछन्, र आम्दानका हिसाबले पनि सन्तुष्ट नै रहेको बताँउछन्, विदेशमा मात्रै नभई हिजोआज त नेपालमै व्यापार व्यवसाय, अफिस, होटल लगायत मनिसहरुले आफ्ना घरहरुमा समेत बाँसबाट बनेका सामाग्रीहरुको प्रयोग गर्ने गर्छन् हेर्दा पनि आकर्षक, टिकाउ अनि स्थानीय उत्पादनको पनि उपयोग हुने भएकाले यसको भविष्य राम्रो देखेका छन् दिवसले । 

राष्ट्रिय स्तरमा यस्ता केहि सम्मानहरु पनि उनले नपाएका होइनन्, तर ती सबै सम्मानहरु कागजी खोस्टो र क्षणिकको लागि मात्र रहेको उनी बताउँछन् । राष्ट्रले यस्ता खालका उत्पादनमा पहल गर्नुपर्छ, तराइका धेरै स्थानहरु बाँझो नै छन् त्यहाँ बाँसखेती गरेर हामीजस्ता व्यवसायीहरुलाई संरक्षण गर्नुपर्छ । यही अवस्था रहने हो भने अबको केहि बर्षमै हामीहरुले बाँस पनि इण्डियाबाट ल्याउनुपर्ने हुन्छ, अब त झन स्थानीय निकायहरु छन्, तिनिहरुले पनि स्थानीय स्तरमा यस खालको व्यवसायलाई साथ दिनुपर्छ ।

हाल धनकुटा र इलामबाट उनले बाँस ल्याएर त्यसलाई विभिन्न डिजाइन दिएर बजारसम्म पुर्याउँछन् । हेर्दा सामान्य लाग्ने यो अत्यन्त सुक्ष्म र मेहनतको काम हो, एउटा सामानलाई पूर्ण रुप दिनमात्रै एकदिन पूरा खर्चिनुपर्छ, त्यसपछि त्यसलाई अन्तिम रुप दिन तथा सुन्दर देखाउन सानो आगोको रापमा हल्का पोलेर आकर्षक बनाउनुपर्ने हुन्छ, मोटामोटी गर्दा एक र अर्को आधा दिनको मेहनतपछि सामाग्री बिक्रीका लागि बजारयोग्य हुन्छ ।

कुर्ची, सोफा, हेग्गिङ्ग चेयर, झलुङ्गो, गिफ्टका सामाग्रीहरु, टोकरीहरु,  ह्याङ्गर, फोल्डिङ कुर्चीदेखि टेबलसम्म उनी आफैले नै डिजाइन गर्छन्, झट्ट हेर्दा पनि मनलाई सहजै लोभ्याउन सक्ने खालका सामाग्रीहरु उनीकहाँ पाइन्छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद