Media Network

ह्वील चियरमा अडिएको चुडामणिको कथा


खबरस्टोरी संवाददाता

७ मंसिर २०७८,मंगलवार

विहान कुखुराको डाकोसँगै गोठधन्दाबाट शुरु हुन्छ, चुडामणिको दैनिकी । चुडामणि गोठमा गाईभैंसीको गोबरसोत्तर गर्न लाग्छन् । श्रीमति दुहुनबाहन गर्न शुरु गर्छिन् ।

नवलपुर कावासोती नगरपालिका १३ गैरीका ५५ वर्षीय चुडामणि बोहरा जो, ह्वील चियरको सहाराले बाँचिरहेका छन् । ह्वील चियर उनको साथी हो । त्यसैको सहारामा उनले गोठका सबै धन्दाहरु गर्छन् । 

विहानको गोबरसोत्तर गरेर धुहुनबाहन सकिएपछि चुडामणि गोठमा पानीको मोटर जोडेर गाईभैंसी नुहाइधुवाई गर्नतिर लाग्छन् । न त जाडो न त गर्मी उनी हरेक दिन गाईभैंसीलाई ब्रसले रगडी रगडी नुवाइदिन्छन् । रातभरी गोबरले लत्पतिएको गाईवस्तु विहान चिल्ला देखिन्छन् । 

चुणामणिलाई गोठधन्दा गर्न कसैको सहारा चाहिँदैन । उनी आवश्यक परेकाबेला गाईभैंसीसमेत आफै पनि दुहुन्छन् । ह्वीलचियरमा बसेर दुहुन अलि अप्ठेरो हुने भएकाले पनि उनी त्यो काम गर्छन् । बाल्टी राखेर दुहुन अलि गाह्रो हुने भएको हुँदा पत्नी शोभाले दुहुनबाहनको काम गर्ने गरेको उनले बताए ।

चुणामणिको जीवनको अन्तरंगमा भोगेका भोगाई निकै पीडादायी छ । तर उनी जीवनको पीडामा कहिल्यै पीडाबोध गर्दैनन् । उनको कामप्रतिको लगाव र मेहनत देख्दा जोकसैको पनि आँखा रसाउँछ । 

...

चुणामणिलाई ह्वील चियरले मात्रै चिनेको छैन, उनका गोठका गाईभैंसी सबैले चिनेका छन् । त्यसैले गाईभैसीको स्याहारसुसार गर्दा निकै आनन्द मान्छन् । 

चुडामणिलाई गोठको थरी सफा राखिराख्नुपर्छ । गाईवस्तुले गोबर्याए कि उनी गोबर तानेर किनारा लगाइसक्छन् ।    

यसरी काम गर्दा झनै स्फूर्ति बढ्ने चुडामणि बताउँछन् । उनी यसरी काम गर्दा आफूलाई आनन्द महशुश गर्छन् । 

‘काम नगरेर त्यसै बस्दा शरीर पाटिन्छ, यसरी काम गर्दा आफ्नो शरीर पनि फुर्तिलो हुन्छ ।’ – चुडामणिले भने । 

हरेक विहान गोठको धन्दा सकेपछि बल्ल उनी नित्यकर्ममा लाग्छन् । त्यतिबेलासम्म चुडामणिकी पत्नि शोभा घाँस काटेर पनि घर आइसक्छिन् । 

एक जनाले गोठ हेर्नेपर्ने हुन्छ । त्यसैले चुणामणिले पूरा ड्यूटी सम्हालेका छन् ।

पशुपालन ब्यवसाय गर्नु भन्दाअगाडिदेखि नै चुडामणि ह्वील चियरको सहारामा बाँच्न बाध्य भएका हुन् । तर उनी आफू अपाङ्ग भएर काम गर्न नसकेको महशुश कहिल्यै गर्दैनन् ।

चुडामणि दम्पत्तिले २०६० सालमा २२ सय रुपैयाँमा एउटा पाडी किनेर ल्याए । एउटा पाडी ल्याएर भैंसी पाल्न शुरु गरेका उनीहरुका गोठमा अहिले साना ठूला गरी २० वटा गाईभैंसी छन् । 

पशुपालन ब्यवसायबाट चुडामणि दम्पतिले हार मानेका छैनन् । तर दूधको मूल्य पानी बराबर र दानाचापडको मूल्य मनोमानी हुँदा दिक्क छन् । 

.....

घाँस लगाउने प्रशस्त जग्गाजमिन उनीहरुसँग छैन । त्यसमाथि मध्यवर्ति क्षेत्रको ऐलानी जग्गा । प्रशस्त जग्गा नहुँदा निकुन्ज क्षेत्रको जंगलमा घाँस काट्न जानुपर्ने बाध्यता । एक्लै दुक्लै जाँदा गैंडाले आक्रमण गर्छ कि भन्ने डर । त्यसैले चुडामणिकी श्रीमति शोभा घाँस काट्ना जाँदा पनि साथीहरुसँगै जान्छिन् । 

ब्यवसायीक रुपमा पशुपालन गरे पनि चुणामणि दम्पतिको जग्गा ऐलानी हो । ऐलानी जग्गा भएकाले फर्म दर्ता गर्न समेत उनीहरुलाई धेरै समय लाग्यो । स्थानीय तहबाट गोठ सुधारका नाममा थोरै थोरै पाउने राहत पनि उनीहरुले पाउन सकेनन् । 

पछिल्लो समय स्थानीयको पहलमा मध्यवर्तिले सिफारिस गरिदिएपछि ‘बोहोरा पशुपालन फर्म’ दर्ता भयो । फर्म दर्ता भएपछि गण्डकी प्रदेश सरकारले दिएको साढे २ लाख रुपैयाँले खरले छाएको गोठ सुधार गरेर ट्रस बनाए । चल्तापूर्जा ठूला किसान भन्नेहरुले कृषि अनुदानका नाममा करोडौं अनुदान लिएर राइँदाईँ गरिरहँदा चुडामणिले पाएको राज्यबाट पाएको राहत भनेको त्यहि दुई लाख रुपैयाँ हो । 

शुरु शुरुमा यस्ता अपाङ्गले पनि भैंसी पाल्छन् र भन्ने छिमेकीहरुले नै खिसीट्युरी गरे । तर अहिले आफूबाट प्रभावित भएर धेरैले पशुपालन ब्यवसाय थालेको देख्दा भने चुडामणि औधि खुशी छन् । 

...

०६० सालअघि मध्यवर्ति क्षेत्रका सानोतिनो होटल गरेर चुडामणि दम्पत्तिले गुजारा चलाउँदै आएका थिए । यसले दैनिक गुजारा चलाउन पनि मुश्किल परेपछि गाईभैंसी पाल्ने बोहोरा दम्पत्तिमा सोंच पलायो । ‘अहिले राम्रैसँग गुजारा चलेको छ, आफ्नै काममा रमाउन पाएका छौं ।’– उनीहरुले एउटै श्वरमा भने ।

पहिले कुरा काट्ने गरेका छिमेकीले अहिले चुणामणि दम्पत्तिको कामको प्रशंसा गर्न थालेका छन् । अहिले तिनै गाउँलेले उनको टोलको नाम शोभा चोक राखिदिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद