Media Network

जेठ १९ को ‘त्यो कालो रातमा’


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । ‘अल्पविकसित देशको एक गरिब व्यक्तिले पौष्टिक आहारा खानै पाउँदैन । संसारमा यस्ता गरिबको संख्या करोडौं छ ।’ –०३८ साल भदौ १६ गते फ्रान्सको पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा तत्कालिन राजा बीरेन्द्र शाहले गरिब देशका नागरिकको चित्रण गरे । उनले यतिमात्र भनेनन्, शक्ति राष्ट्रहरुले गरिबलाई बस्तुसँग बिक्री गर्ने गरेको आशय ब्यक्त गर्दै अशान्तिको बिऊ रोप्ने काम गरेको टिप्पणी गरेका थिए । 

‘दालभातको लागि कराइरहेको एउटा बालकलाई हामी उसलाई दाल, भात अथवा रोटीको बदला बम दिन्छौं । ऊ दयाको भीख माग्दै हामीतिर हेर्छ, तर हामी उसलाई निर्दयताको तिरस्कार दिन्छौं र ऊ शान्तिको कामना गर्छ, हामी युद्धको तयारी गर्छौं ।’–वीरेन्द्रले आफ्नो सम्बोधनमा भनेका थिए । वीरेन्द्रको यो सम्बोधन निकै मर्मस्पर्शी मात्र रहेन, विश्वकै नजरबाट तारिफयोग्य बन्यो । 

यिनै राजा बीरेन्द्र आजभन्दा २१ वर्षअघि २०५८ साल जेठ १९ गते आजकै दिन नारायणहिटी दरबारभित्रै गोली हानी मारिए । उनी मात्र होइन, सँगसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू एउटै चिहान भए । तर वीरेन्द्रसँगै मारिएका दीपेन्द्रले नै सबैलाई सोत्तर बनाएको र आफूलाई आफैलाई गोली हानी आत्महत्या गरेको भन्ने रिपोर्टबाहेक अन्य बास्तविक तथ्यहरु अहिलेसम्म पनि उजागर हुन सकेका छैनन् । 

बीरेन्द्रकै पालामा २०३७ सालमा जनमत संग्रह भएको थियो भने २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गरिएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा उभिएर ‘शान्ति क्षेत्र नेपाल’को प्रस्ताव गर्ने पनि यिनै वीरेन्द्र थिए । तर, प्रजातन्त्र पुनःस्थापना भएको ५ वर्षपछि तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र संघर्षको थालनी गर्यो । माओवादीले भिषण आक्रमण थालेपछि माओवादीसँग वार्ता र संवादको तयारी हुँदै गर्दा दरबार हत्याकाण्ड भएका कुराहरु पनि केही पुस्तकहरुमा लेखिएका छन् । 

बाल्यकालदेखि नै शान्त, सौम्य, मधुरभाषी र दयालु स्वभावका वीरेन्द्रलाई नेपाली जनताले भने अहिले पनि स्मरण गरिरहेका छन् । उनको सम्झनामा दीप प्रज्वलनहरु गरिएका छन् । 

दरबारमा भएको अर्को डरलाग्दो हत्याकाण्ड 

राजा वीरेन्द्रको बंश बिनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डभन्दा अघि पनि दरबारमा यस्ता काण्डहरु नमच्चिएका होइनन् ।

वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रियपात्र एवम् तत्कालिन मन्त्रिपरिषद्का सदस्य गगन सिंहको रहस्यमय हत्या भयो । यो घटनालाई गगन सिंहका छोरा क्याप्टेन वजिरले नजिकबाट देखेका थिए । यो देखेपछि वजिरले नै रानी राज्यलक्ष्मीकोमा खबर पुर्याए । सिंहको हत्या भएपछि आक्रेशित बनेकी राज्यलक्ष्मीले सबै भारदारहरुलाई उपस्थित हुनका लागि मध्यरातमा काजी अभिमान सिंहलाई बिगुल फुक्न लगाइन् ।

बिगुल बजेपछि ढोकाटोलसँगै जोडिएको पूर्वपट्टिको कोतमा सबै भारदारहरु जम्मा भए लक्ष्मीदेवीकै आदेशमा जंगबहादुरको सेनाले रातमा जम्मा भएका भारदारहरुलाई एउटै चिहान बनाएको इतिहासविद्हरु बताउँछन् ।

घटनामा ५५ जना भारदारको हत्या हुनुका साथै २७ जनाले भागेर ज्यान बचाए भने २५ जनालाई देश निकाला र २ सय जनालाई बन्दी बनाइएको इतिहासविद्हरुले विभिन्न पुस्तकहरुमा लेखेका छन् ।

यहि घटनापछि लक्ष्मीदेवीले जंगबहादुर राणालाई कमाण्डर इन चिफ घोषणा गरिन् र नेपालमा २०४ वर्षे जहानिया राणा शासनको उदय भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद