Media Network

कालीगण्डकी नदीमा नियमित र्‌याफटिङ सञ्चालन


खबरस्टोरी संवाददाता

२० पुष २०७९,बुधबार

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफटिङ सञ्चालन गरिएको छ । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्याफटिङ सञ्चालन गरिएको हो ।

कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्याफटिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको थियो।

कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ । पर्वतको नयाँ पुलबाट विगत १४ वर्षदेखि र्याफटिङ गर्दै आएका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने भएकाले नियमित र्याफटिङ सञ्चालनको सम्भावना बढिरहेको छ।

गलेश्वरबाट सुरु भई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालन गरिएको पुनले बताए । गलेश्वरबाट बेनीको खुलामञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि रु एक हजार दुई सय शुल्क तोकिएको छ । यसमा यात्रुहरूलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ ।

अहिले तत्कालका लागि दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगा, नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा आगामी पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणका रूपमा प्रचार–प्रसार गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद