Media Network

कीर्तिपुर अर्थात नासकाटपुरको कथा


खबरस्टोरी संवाददाता

८ मंसिर २०७८,बुधबार

कीर्तिपुरको चर्चासँगै पृथ्वीनारायण शाहको ऐतिहासिक साहसिक कदमबारे बहस नगरिरहन सकिदैन ।

शाहलाई नेतृत्वकला, युद्धकला, युद्धरणनीतिमा र एक सफल प्रशासकका रुपमा लिएको भन्दै हिजोआज माओवादी पृष्ठभूमिका नेताहरुले समेत चर्चा गर्न थालेका छन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्न थालेका छन् । नेपाल एकीकरणका सन्दर्भमा शाहको भूमिकाबारे विभिन्न आलोचनात्मक टिप्पणी पनि भइरहेका हुन्छन् । 

प्रचण्डले तत्कालीन जनयुद्धका क्रममा युद्ध सम्बन्धि ऐतिहासिक अध्ययन कलामा आफू पृथ्वीनारायण शाहबाटै प्रेरित भएकोसमेत भन्न भ्याए । प्रचण्डले हिजोआज बेलाबेलामा पृथ्वीनारायण शाहको रणनैतिक युद्धकलाको चर्चा गर्ने गरेका छन् । 

खासमा नेपाल एकीकरणका सन्दर्भमा पृथ्वीनारायण शाहले गरेको संघर्षपूर्ण इतिहास वास्तवमै महान कार्य हो । टुक्रा टुक्रा भएको विभाजित देशलाई उनले एउटा विशाल नेपाल बनाएर एक अलग्गै सभ्यताको विकास गरे । यस सन्दर्भमा पृथ्वीनारायण शाहले सिङ्गो नेपालको उद्धार गरेका थिए ।

इतिहासको अध्ययनका क्रममा शाह राजाहरुको प्रत्यक्ष शासनकालमा राजाहरुकै गुणगान मात्रै गाउने, उनीहरुका कमी कमजोरीहरुलाई ढाकछोप मात्र गर्ने बाहिर नल्याइने प्रचलन थियो । स–साना राज्यहरुको एकीकरण गरेका हुनाले नै पृथ्वीनारायण शाहलाई इतिहासकारहरुले राष्ट्रपिताको संज्ञा दिएका छन् । 

यद्यपि पृथ्वीनारायणको नेतृत्वमा सैनिक हमलाका क्रममा ती राज्यहरुमा त्यहाँका जनताहरुले खेपेका दमनहरुलाई पनि छोप्ने प्रयासहरु नभएका होइनन् ।

वि.स. १८१४ मा कालु पाण्डे र पृथ्वीनारायण शाह आफैले एक फौज सञ्चालन गरि कीर्तीपुरमाथि आक्रमण गरेका थिए तर सो आक्रमण सफल हुुन सकेन । र, हारलाई एउटा पाठको रुपमा लिँदै थप शक्ति सञ्चय गरेर उनले अर्को राज्य मकवानपुरमाथि विजय हासिल गरेका थिए । 

त्यसपछि पुनः पृथ्वीनारायण शाहले कीर्तीपुरमाथि दोस्रो पटक आक्रमण गरे । यसपटक पनि उनले फेरि पराजय नै बेहोर्नुप¥यो ।  त्यसपछि भने शाहले रणनैतिक रुपमा कीर्तिपुरलाई घेराबन्दी गरेर रातको समय पारेर आक्रमण गरे । अन्ततः विजय हासिल गरे ।  

आखिर के हो त नासकाटपुरको यथार्थता ?

विशेषतः पृथ्वीनारायण शाहले किर्तिपुरका जनताहरुको नाक काटेको बिषयमा विभिन्न लेख, रचनाहरु तथा इतिहासकारहरुबीच नै मत भिन्नता रहेको पाइन्छ । 

केही इतिहासविद्हरु उक्त कुरामा सत्यता नरहेको बताउँछन् । उनीहरु पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका विजय गरेपश्चात देश निकालामा परेका इसाईहरुले त्यस खालको अतिरञ्जितपूर्ण कुरा गरेको बताउँछन् ।

कीर्तिपुरको उक्त घटनाबारे सर्वप्रथम फादर गुस्सेपेले खुलासा गरेका थिए । त्यसै क्रममा गुस्सेपेले आफू सो घटनाको प्रत्यक्षदर्शी रहेको भन्दै इतिहासबारे लेखेका छन्–“ लामो समयको घेराबन्दीका कारण निकै थाकेका कीर्तिपुरका बासिन्दाको नाममा गोरखाका मानिसहरुले आम माफि मागेका थिए ।

आफूलाई दिएको बचन पूरा हुने आशासहित कीर्तिपुरका जनताले बन्दीका रुपमा आत्मसमर्पण गरे । त्यही बेला गोर्खाली सेनाले सहरमा कब्जा गरे । नुवाकोटमा रहेका पृथ्वीनारायण शाह दुई दिनपछिको लामो थकानपूर्ण यात्रा छिचोलेर कीर्तिपुर पुगे । त्यहाँ पुगेर उनले आफ्ना भाइ सुरजप्रताप शाहलाई आमाको काखमा रहेकाबाहेक सहरका सबै बासिन्दाहरुको नाक र ओठ काटेर एक ठाउँमा जम्मा पार्न लगाउदै कीर्तिपुर सहरको नाम ‘नासकाटपुर’ राख्न आदेश दिए । ‘नासकाटपुर’ अर्थात नाक काटिएकाहरुको सहर । 

शाहको यस्तो आदेशविरुद्ध फादर माइकल एन्जेलो सुरजप्रताप शाहको घरमा गएर कीर्तिपुरबासीको पक्षमा अनुनयविनय गर्दै पीडाका कारण कतिपय कमजोरहरुले प्राण त्यागेको र कतिपय उपचारका लागि आफूकहाँ आएको कुरा फादर गुस्सेपेको ‘अ काउन्ट अफ दी किङडम अफ नेपाल’ भन्ने सन् १७९९ मा प्रकाशित पुस्तकमा उल्लेख गरेका छन् । 

यद्यपि केही इतिहासविद्हरु भने उक्त कुरालाई इन्कार गर्दै आइरहेका छन् । सो कुरामा सत्यता नरहेको उनीहरु बताउँदै आइरहेका छन् । सन् १७६६ को मार्च १४ मा आत्मसमर्पण गरेका कीर्तिपुरेहरुमाथि कब्जा जमाउन पृथ्वीनारायण शाहले भाइ सुरप्रतापलाई पठाए र उनले त्यहाँ पुगेर १२ बर्ष उमेर समूहका सबै पुरुषहरुलाई भेला हुनका लागि आदेश दिए ।

जुन भेला नयाँ राजालाई सम्मानका लागि आयोजना गरिएको बताइएको थियो । त्यहाँ पृथ्वीनारायण शाह आफै भने उपस्थित थिएनन् । भेलामा उपस्थित सबैलाई उनले क्रुरतापूर्वक व्यवहार गरे । त्यहाँ सहरका मुली मानिसहरुको निर्ममतापूर्वक हत्या गरियो । उनले बाँकी मध्ये अधिकांशको नाक काट्ने आदेश दिए ।

कीर्तिपुरको किल्लामा आगजनी गरियो । त्यहाँका घरहरुमा समेत आगजनी गरियो । कीर्तिपुर युद्धका क्रममा सुरप्रतापको एउटा आँखा फोडिएको कारण पृथ्वीनारायण शाह कीर्तिपुरबासीहरुसँग रिसाएका थिए । यसैको बदलालिनका लागि उनले सबैको नाक र ओठ काट्न आदेश दिएको इतिहासकारहरुको दाबी छ । 

नाक काटिएको विषयमा पृथ्वीनारायण शाहका पादरीमध्येका एक समकालीन कवि ललितबल्लभले लेखेका छन् । त्यसबेला नाक, कान काट्ने आदेश भोटेहरुलाई दिएको कुरा इतिहासमा पाइन्छ । सो समयमा नाक काटिएकाहरुको संख्या ८ सय भन्दामाथि रहेको कुरा पनि इतिहासमा पाइन्छ ।

यसरी कीर्तिपुरलाई नासकाटपुर सहरको रुपमा चिनाएको कुरा तात्कालीन समयका आलेखहरु, शिलापत्र मार्फत तथा विभिन्न इतिहासविद्हरुले प्रकाशित गरेका लेखरचनाहरुले समेत पुष्टि गर्दछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद