Media Network

कसरी सुरु भयो नक्कली शरणार्थी प्रकरण ?


खबरस्टोरी संवाददाता

२२ बैशाख २०८०,शुक्रबार

काठमाडौँ। २०७६ सालमा गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदन तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए भने गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेका थिए।

सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको हो ।

गृह मन्त्रालयका पूर्वसविच प्रेम राई, महेश्वर न्यौपाने र टेकनारायण पाण्डेको पालामा भुटानी शरणार्थीका नाममा नेपालीको नक्कली परिचयपत्र बनेको खुलेको छ ।

उक्त प्रतिवेदन अझै सार्वजनिक भएको छैन। तर, ठगी गर्ने गिरोहले त्यही प्रतिवेदन हात पारेर नेपालीलाई नक्कली शरणार्थी बनाएका थिए।

कार्यदलले प्रतिवेदन गृहमन्त्रालय बुझाउँदा गृहसचिवमा प्रेम राई (हाल अख्तियार प्रमुख) थिए । राई २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए । उनीपछिका गृहसचिव महेश्वर न्यौपाने २१ माघ २०७६ देखि २७ साउन २०७८ सम्म रहे । हाल उनले अवकाश पाइसकेका छन् । न्यौपाने आफ्नो कार्यकालमा शरणार्थीसम्बन्धी कुनै काम नभएको दाबी गरेका छन्।

न्यौपानेपछि गृहसचिवमा टेकनारायण पाण्डे पुगे । उनी २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म बसेका थिए । पाण्डे हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् । यी तीन सचिव रहेको समयमा ठगी गिरोहले काम गरेको देखिएको छ ।

कतिले दिए उजुरी?

नककली भुटानी शरणाथी प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालका अनुसार उक्त प्रकरणमा हालसम्म २० वटा उजुरी परेका छन्।उनले भने, “अहिलेसम्म हामीकहाँ २० वटा उजुरी आएका छन्। त्यसमा १०६ जनाको नाम छ।”

“सबैले बुझाएको भनी दाबी गरेको रकम २३ करोड २५ लाख देखिएको छ।”

शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी भएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘गिरोह चलाएको’ आरोपमा सबैभन्दा पहिले प्रहरीले गत चैत दोस्रो साता तीन जनालाई पक्राउ गरेको थियो।

त्यस बेला मोरङका केशव दुलालसहित सानु भण्डारी र टेक गुरुङलाई प्रहरीले गिरफ्तार गरेको थियो।त्यसपछि प्रहरीले सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलाई पनि पक्राउ गरेको थियो।

सरकारले आरोप लागेकाहरूमाथि ‘ठगी तथा सङ्गठित अपराध’मा मुद्दा चलाउने गरी कारबाही अघि बढाएको अनुसन्धान अधिकारीहरूले  बताए।

शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रवक्ताले हालसम्म कैयौँ जाहेरी प्राप्त भएको र करोडौँ रकम ठगी भएको उजुरी आएको बताए।

कसरी फस्यो सञ्जाल

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘गिरोह’ले ठगी गरेको भन्दै केही मानिसहरू सबैभन्दा पहिले काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको प्रहरी अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा ठगीको गुनासो आएपछि प्रहरीले संलग्नहरूको विवरणसहितको उजुरी दिन मागेको थियो।त्यसपछि ठगीमा परेको भनिएका केहीले उक्त कार्यालयमा उजुरी दिएका थिए।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौर भन्छन्, “सुरुमा उनीहरूले यहाँ आएर हामी ठगियौँ भनेर उजुरी दिनुभयो, त्यसका आधारमा हामीले अनुसन्धान अघि बढाएन थालेको थियौ।

“उजुरी आएपछि नै यो घटना र गिरोहबारे थाहा भएको हो। सुरुमा ८१ जनाको उजुरी परेको थियो। हामीले आवश्यक अनुसन्धान गरेर काठमाण्डू प्रहरी परिसरलाई बुझाएका हौँ।”

उक्त कार्यालयले टेकुस्थित काठमाण्डू परिसरलाई बुझाएपछि त्यहाँ थप व्यक्तिहरूले उजुरी दर्ता गराए।

त्यसपछि प्रहरीले उक्त ‘सञ्जाल’बारे खोजी गर्न थाल्यो। खोजी गर्ने क्रममा उक्त प्रकरणमा बहालवाला र पूर्व उच्च अधिकारीहरूको संलग्नता रहेको कुरा बाहिर आएको हो।

को को मुछिए

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘गिरोह चलाएको’ आरोपमा सबैभन्दा पहिले प्रहरीले गत चैत दोस्रो साता तीन जनालाई पक्राउ गरेको थियो।

त्यस बेला मोरङका केशव दुलालसहित सानु भण्डारी र टेक गुरुङलाई प्रहरीले गिरफ्तार गरेको थियो।

त्यसपछि प्रहरीले सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलाई पनि पक्राउ गरेको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कठायतका अनुसार हालसम्म उक्त मामिलामा जोडिएका भनिएका आठ जना पक्राउ परिसकेका छन्।

पूर्वमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवं वर्तमान प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ।रायमाझीले भने सार्वजनिक रूपमै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरिसकेका छन्।

यद्यपि उनी हालसम्म पक्राउ नपरेको कठायतले बताए।

यसअघि बुधवार उक्त मामिलामा मुछिएका एक जना बहालवाला सचिव टेकनारायण पाण्डे गिरफ्तार भएका थिए।पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डे यसअघि गृह मन्त्रालयमा थिए।

त्यसअघि मङ्गलवार उक्त प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै बुधवारै प्रहरीले काठमाण्डू उपत्यका बाहिर रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको कठायतले जानकारी दिए।

त्यस्तै काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद