Media Network

कठ्याङ्ग्रिँदो चिसोमा पर्यटकलाई न्यानो आतिथ्य दिने ढोरपाटनको कथा


खबरस्टोरी संवाददाता

१३ पुष २०७८,मंगलवार

चारैतिर सेता हिमाल। मुनि राता डाँडा,त्यसमुनि हरियो जंगल । तल बस्ती अनि सङ्लो पानीसहितको बीचमा स्वच्छ नदी भएको ठाउँ हो ढोरपाटन । यहाँ पुग्ने जो कोही पनि यहाँको प्राकृतिक शुन्दरता देखेर मोहित हुने गर्छन । मुलुकको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्र वन, वन्यजन्तु र भूगोलका हिसाबले घुमघामका लागि एकदमै राम्रो गन्तव्यमध्येको एक हो । सरकारले वर्षेनी खुलाउने सिकारका लागि टेन्डर पारेर यहाँ यूरोप, अस्ट्रे्लिया,अमेरिकाका लगाएत विभिन्न देशहरूबाट सिकारी आउँछन् । यहाँ सिकार आरक्षमात्र नभई धेरै धार्मिक गन्तव्यहरू पनि छन् । उत्तरगंगा यहाँको चर्चित धार्मिक तीर्थस्थल हो । ढोरपाटन पुग्ने आन्तरिक पर्यटकले यहाँको दर्शन गरेरै फर्कन्छन् । जनै पूर्णिमा र वैशाख पूर्णिमालगायतमा यहाँ हजारौं भक्तजन पुग्छन् । छेन्टुङ गुम्बा, तिब्बतीहरुको शरणार्थी शिविर, आर्युवेद औषधालय र रुद्र ताल पनि नाम चलेका गन्तव्य छन् । त्यस्तै निसेल ढोर, बुकी, फागुने, रुकुम तर्फको मैकोट र हुकामजस्ता ठाउँ पर्यटकीय आकर्षणका स्थान हुन् । ढोरपाटन आफैंमा आकर्षक छ । हेर्दा सानो उपत्यका जस्तो लागे पनि घुम्न निकै समय लाग्छ । घोडा र अन्य पशुचरनले उत्तिकै रमाइलो दृश्य देखिन्छ । चारैतिर हरियाली, बीचमा मैदान र खोलाले यहाँको रौनकता बढी छ । 

तर हेर्दा सुन्दा सहज र भव्य लाग्ने ढोरपाटन साहसिक पर्यटन रुचाउनेका लागि आनन्दको गन्तव्य त हो स्थानीयका लागि भने यो क्षेत्र निकै नै सास्तीपूर्ण छ । यहाँ सिकार गर्न सिकारी र विदेशी पर्यटक हेलिकप्टर लिएर आउँछन् । आन्तरिक पर्यटकहरु जिप चढेर जान्छन् । तर, यहीँ जीवन गुजारेर दैनिक आउजाउ गर्नेलाई भने सहज साधन छैन । सञ्चालनमा रहेको सडक पनि जीर्ण छ । बोबाङदेखि अधिकांश बालबालिका र वृद्धवृद्धा समेत लठ्ठी टेकेर पैदलै ढोरपाटन आउजाउ गर्छन् । बालबालिकाहरुको विद्यालय समेत जाडोमा बेंसी र गर्मीमा लेकमा सारिन्छ । यहाँका बासिन्दाले शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका लागि सास्ती खेपेका छन् । 


अहिले जाडो मौसम शुरू भएसँगै बागलुङ ढोरपाटनका बासिन्दा बेसी (बोबाङ) झरिसकेका छन् ।  तर,  बागलुङ बुर्तिबाङबाट आएका जिप बोबाङ हुँदै उकाले लागेपछि ढोरपाटन नगरपालिका–९ बोबाङका १८ वर्षीय दीपक विक र १९ वर्षीय विक्रम विश्वकर्माको मन भने निकै खुसि हुन्छ । धेरैजसो बोबाङमै बस्ने उनीहरु जिप र मोटरसाइकलमा नयाँ मान्छे उकालो लाग्ने बित्तिकै घोडा लिएर घुमन्तेसँगै उक्लन्छन् । जिप पछ्याउँदै उकालो लागेका उनीहरु राति पाहुनासँगै गफिन्छन् । बोलीका धनी यी  दुई किशोर गीत गाउनसमेत उत्तिकै सिपालु छन् । रातमा रमाइलो गर्दै गरेका हुलमा मिसिन्छन् र गाउन सुरु गर्छन् । गीतैगीतमार्फत भोलिपल्ट बिहान घोडा चढ़ने बनाउँछन् । तीने फिरन्तेहरु बिहान उठ्नेबित्तिकै घाम रापसँगै घोडामा सवार हुन्छन् । ढोरपाटन उपत्यकामा देखिने घोडामध्ये धेरै जना विक्रम र दीपकको घोडा रोजाइमा पर्छन् । 

आफ्नो जीविका धान्नकै लागि उनीहरू ढोरपाटन घुम्न आएका पर्यटकलाई ‘घोडा सवार’ गराउँछन् र बोबाङ फर्किन्छन् । सानै उमेरमा पढाइ छाडेका उनीहरु अहिले पर्यटकलाई घोडा चढाएर राम्रो आम्दानी गर्छन् । हाल जाडोयाममा बोबाङबाट शुक्रवार विहानै घोडा चढेर ढोरपाटन जाने उनीहरू शनिवार ८ हजारदेखि १० हजार रुपैयाँसम्म कमाइ गरेर घर फर्कन्छन् । उनीहरुको घोडामा चढेको छुट्टै दररेट छ । चढेर फोटोमात्र खिचेको १ सय, केही पर गएको २ सय । यस्तै, ढोरपाटन क्षेत्र घुम्छु भनेमा २ हजारदेखि ५ हजारसम्म लिने गर्छन् । ढोरपाटन शिकार आरक्ष उपत्यकामा उनीहरुजस्तै ८/९ जनाको दैनिकी आरक्ष पुग्ने पर्यटकलाई घोडा चढाएरै बित्छ । आफूले सानै उमेरदेखि घोडामा पर्यटकलाई चढाएर आयआर्जन गर्दै आएको दीपक बताउँछन् । उनको घरमा अहिले तीनओटा घोडा छन् । घोडा सवारीमा पर्यटकले मनोरञ्जन लिने गरेको र यसबाट आफूहरूको आम्दानीको स्रोत समेत बढेको उनी बताउँछन् ।

घोडा सवारी गराएबापत आउने आम्दानीले घर खर्च धानेको उनको भनाइ छ । ‘पहिले दैनिक घोडा सवार गराउने गरे पनि अहिले चिसो शुरू भएकाले बोबाङ झरिसकेका छौं,’ उनले भने, ‘हप्तामा दुई दिन ढोरपाटन आएर पर्यटकलाई घोडा सवारी गराएर कमाएको रकमले घरमा चामल, नून र तेल किन्न पुगेको छ ।’ घोडालाई दैनिक पाँच सय रुपैयाँको दाना खुवाउने र अन्य रकम घरमा खर्च गर्ने गरेको उनले सुनाए । 

यस्तै विक्रम भन्छन् ‘धेरैजसो पर्यटक शुक्रवार र शनिवार छुट्टी मनाउन ढोरपाटन आउने गर्छन्, ‘त्यही समयमा घोडा सवारीबाट दैनिक ४/५ हजार रुपैयाँ आम्दानी हुन्छ ।’ गत वर्ष कोरोनाका कारण पर्यटक नआउँदा उनीहरुले काम पाएनन् । यसै वर्षको बैशाखदेखि भने केही आशा पलाएको उनिउहरु सुनाउँछन् । उनीहरु भन्छन्, अब हिउँ पर्ने सिजन सुरु भयो । त्यसैले पर्यटक ढोरपाटन आउन्नन् । बर्खामासमा पनि बाढीपहिरोले बाटो बन्द भएर पर्यटकले आरक्ष क्षेत्र टेक्दैनन् 'कहिले दिनमै १५ हजार कमाइन्छ । कहिले यत्तिकै बस्ने हो,' दीपकले भने, 'असार-साउनमा त बाटो बिग्रेर कोही आउँदैनन् । बाटो सहज भएर पर्यटक आइरहे आफूको रोजीटोली चल्ने हो। नभए विदेश जाने कि भनेर पनि सोच्दैछौं।'






Share:
Reaction :
ताजा समाचार
खेलकुद