Media Network

महापर्व छठ विधिवत रुपमा शुरु


खबरस्टोरी संवाददाता

३० कार्तिक २०८०,बिहीबार

जनकपुर । मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ विहीबारदेखि विधिवत रुपमा सुरु भएको छ । छठपर्व गर्ने व्रतालुले विहीबार पहिलो दिन माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन् । उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ । जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा–अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ । प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ । 

छठपर्वको दोस्रो दिन भोलि व्रतालु नहाय खाय विधि गर्छन् । तेस्रो दिन शनिबार खरना मनाइन्छ । यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी मातालाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ ।

यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ । यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने  गरिन्छ । पर्वको अन्तिम अर्थात पाँचौ दिन सोमबार बिहान उँदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत रुपमा समापन गरिन्छ । 

छठपर्व विधिवत शुरु भएसँगै स्थानीय बजारहरुमा पूजा सामग्री खरिद बिक्री गर्नेहरुको घुइँचो लागेको छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् । छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले मिथिलान्चलका हरेक हाटबजारमा चहलपहल बढेको छ। छठ पूजामा अनिवार्य रहेको हरियो सागसव्जी (तरकारी), फलफूल किन्नेहरुको भिडभाड देखिन्छ ।

पूजा गर्नका लागि अहिले घाट बनाउन यहाँका युवाहरु व्यस्त देखिन्छन्। पायक पर्ने पोखरीका डिल, नदीका तट, तालतलैया लगायतका घाट सरसफाई गरी सामुहिक रुपमा घाट बनाउन लागिपर्छन् । चन्दा उठाएर भए पनि  घाट सजाउन लाखौँ रकम खर्चिएको हुन्छ । घाट सरसफाइ, सजावट र व्यवस्थापनका लागि अहिले धमाधम काम भइरहेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद