Media Network

नक्सा मागेपछि बालेन शाहले नक्सासँगै डोजर लिएर गए


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन कस्सिएर लागेका छन् । अण्डरग्राउण्ड पार्किङसहितको नक्सा पास गरेर ब्यवसायिक पसलहरु सञ्चालन गरेका तथा सार्वजनिक स्थल मिचेर निर्माण गरिएका भवनहरु हटाउन महानगरले ३५ दिने सूचना जारी गरे पनि अटेर गरेपछि मेयर बालेन एक्सनमा उत्रिएका हुन् । 

नयाँ बानेश्वरको अण्डरग्राउण्ड पसलहरु, सुनधारास्थित काठमाडौं मलदेखि खिचापोखरीको आरबी कम्प्लेक्ससमेतको अनधिकृत संरचनामा हटाउन काठमाडौं महानगरले डोजर बुधबार डोजर चलायो । अनधिकृत संरचना हटाउन अटेर गरेपछि डोजर लिएरै मैदानमा उत्रिएका बालेन शाहले एकपछि अर्को ठूला ब्यवसायिक कम्प्लेक्सहरुको कर्तुतको पर्दाफास गरेका छन् । 

विहीबार बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा पनि अनधिकृत रुपमा अण्डरग्राउण्डमा फार्मेसी सञ्चालन गरिएको ठाउँमा अनुगमन गर्न मेयर शाह पुगेका थिए । कम्प्लेक्सका निर्देशक द्विराज शर्माले उल्टै आफ्नो कम्प्लेक्सको नक्सा देखाउन मेयर शाहलाई च्यालेन्ज दिए । शाह शर्मासँग झोक्किँदै, तपाईँको घरको नक्सा मसँग हुन्छ, कि तपाईँसँग ? भन्दै प्रश्न गरे । तर शर्माले महानगरसँगै हुने भन्दै फेरि जवाफ फर्काए । त्यसपछि शाह त्याहाँबाट निस्किए । र, महानगरको कार्यालय पुगेर अल्फाबिटा कम्प्लेक्सको नक्सा निकाले । सँगसँगै महानगरको डोजर पनि सँगसँगै लिएर अल्फाबिटा पुगे । 

पेशाले इन्ट्रक्चर इन्जिनियर रहेका मेयर शाहले नक्सा देखाइदिए, अनि अनधिकृत सञ्चालित अल्फा फार्मेसीमा डोजर लगाउन निर्देशन दिए । ‘उहाँ (अल्फाबिटाका निर्देशक)ले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’– मेयर शाहले भनेका छन् । 

बालेन शाहले अबैधानिक रुपमा बनाइएका संरचना हटाइदिन सामाजिक सञ्जाल फेसबुकबाट पुनः अपिल गरेका छन् । ‘अब उप्रान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइदिनु होला, नक्सा जसरी पास भएको छ, त्यही अनुसार बनाइदिनु होला ।’– शाहले भनेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद