Media Network

नेपाल संवतको नयाँ वर्ष आज, ठाउँ ठाउँमा र्याली


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०८०,मंगलवार

काठमाडौँ ।  नेपाल संवत ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो । लिच्छविकालअघि शंक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् मानिन्छ । 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । 

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । तर अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । सोमवार पुनः प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपाल सम्वतलाई आजदेखि सरकारी हरेक पात्रो तथा कागजातमा राख्न निर्णय गरेको छ । 

यसैबीच, काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँमा नेपाल सम्वतको नयाँ वर्षको अवसरमा ¥याली निकालिँदैछ । नेवा खल ः कास्कीले मौलिक तथा राष्ट्रिय संवत ११४४ को स्वागतका लागि पोखराको विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक पोसाकसहित ¥याली निकाल्दैछ । नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक वर्ष जस्तै यसवर्ष भिन्तुना ¥याली आयोजना गर्ने भएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद