Media Network

पाकेको धान वर्षाले नष्ट, आर्थिक वृद्धिदर नै खुम्चने संकेत


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७८,शुक्रबार

बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । यहि बेमौसमी वर्षाका कारण पहाडी जिल्लामा आएको बाढीपहिरोले मानवीय क्षति निम्त्याएको छ । आज बिहानसम्ममा बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । सरकारले मानवीय क्षति भएको परिवारलाई राहत दिने निर्णय गरिसकेको छ। घर भत्केकालाई तत्काल बसोबास गर्न ५० हजार रुपैयाँ दिने निर्णय समेत मन्त्रिपरिषद्‌को बैठकले गरिसकेको छ। तर, तराईमा ठूलो परिमाणमा भएको धानको क्षतिपूर्ति दिने विषयमा भने सरकार मौन छ । 

किसनले यस्तो सास्ती पाएको आजको दिनमा मात्र होइन अधिकांश किसानले भोग्नुपर्ने हैरानीको चाङ निकै ठुलो छ । बाली लगाउने वेला सहुलियतमा मल र उन्नत बीउबिजन पाउँदैनन् । खेतबारीमा सिंचाइको कुलो पुगेको छैन, रोग/कीरा लाग्दा उचित परामर्श छैन,  भित्र्याइएको बालीनाली भण्डारणको विधि सिकाइएको छैन । यस्तो सास्ती व्यहोरेर उब्जाएको कृषि उपजले सहजै बजार पाउँदैन, बजार भेटिए उचित मूल्य पाउँदैन  र, बिक्री भएको फसलको रकम वेलैमा हात पर्दैन । यस्तो दुश्चक्रले किसानको जीवन असाध्यै कठिन बनाएको छ । 

पछिल्लो केहिदिन यता आएको बेमौसमी अविरल वर्षाले लुम्बिनी प्रदेशमा तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये एक लाख २९ हजार हेक्टर क्षेत्रफलमा क्षति पुर्‍याएको  छ। सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टर क्षेत्रफलमा रोपिएको धानमध्ये २० देखि ३० प्रतिशत क्षति भएका विवरणहरु प्राप्त भएका छन्। प्रदेश २ मा यसवर्ष चार लाख तीन हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि क्षतिको एकिन विवरण भने आउन बाँकी नै छ । 

कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगट्छ भने त्यसमा पनि सबैभन्दा धेरै प्रतिशत हिस्सा धानको देखिन्छ । तर,यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने निश्चित भएको छ । धान काटे पनि कुन्यू लगाउन नपाउँदा धान बालीमा ठूलो क्षति हुन पुगेको छ । यसले यो वर्ष धान उत्पादन कम हुने, खाद्य संकट निम्तिने र आगामी वर्ष धान आयातसमेत बढ्ने सम्भावना देखिएको छ । 

उत्पादनमा ह्रास

नेपालमा २७ लाख हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये  १५ लाख ५२ हजार ४६४ हेक्टरमा धान खेती हुँदै आएको छ । पछिल्लो समय धान खेतीयोग्य जमिन पनि वृद्धि भइरहेको कृषि मन्त्रालयले जनाएको छ । नियमित वर्षा र मलखादको सहज आपूर्तिले यस वर्ष सात प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरिएका बेला बेमौसमी अविरल वर्षाले धान बालीलाई क्षति पुर्‍याएको छ । वर्षाका कारण ५ लाख मेट्रिक टन धान उत्पादनमा ह्रास आउनसक्ने कृषि विभागका अर्थविज्ञ महादेवप्रसाद पौडेल बताउछन्। गत वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष सरकारले साढे ५८ लाख मेट्रिक टन धान उत्पादन गर्न लक्ष्य राखेकाे थियाे । तर, बेमौसमी अविरल वर्षाका कारण यो वर्ष धान उत्पादनमा कमि आउने देखिएको छ।  


अर्थतन्त्रमा धक्का 

कोभिड-१९ को महामारीपछि नेपालमा आर्थिक क्रियाकलाप केही चलयमान भएको र समयमै मनसुन भित्रिएकाले कृषि उत्पादन राम्रो हुने अपेक्षा थियो । यसले समग्र आर्थिक वृद्धिमा टेवा पुग्ने अनुमान पनि गारिएको थियो तर कार्तिके वर्षाले यो अपेक्षालाई ठेस पुर्‍याएको छ ।  बेमौसमी वर्षाले  देशभरको धानबालीमा पुर्‍याएको क्षतिको असर मुलुकको अर्थतन्त्रमै देखिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार तीन दिन परेको वर्षाका कारण देशभर २० अर्ब रुपैयाँभन्दा धेरैको धानबाली नष्ट भएकाे अनुमान छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको धानबाली नष्ट हुँदा मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)देखि आर्थिक वृद्धि समेत प्रभावित हुने देखिएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ५० अर्ब ७८ करोड रुपैयाँबराबरको धान–चामल आयात भएको  थियो  । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा ५०.९ प्रतिशतले बढी हो । नेपालले भारत, अमेरिका र चीनबाट धान–चामल आयात गर्दै आएको छ  । यस अवधिमा सबैभन्दा बढी भारतबाट ५० अर्ब ४७ करोडको धान–चामल आयात भएको छ । त्यस्तै, अमेरिकाबाट २४ करोड तीन लाख र चीनबाट ६ करोड ७१ लाख मूल्यबराबरको धान–चामल आयात भएको तथ्यांक छ । अब धानबालीमा पुगेको क्षतिका कारण उत्पादन कम भई आयात अझ बढ्न सक्ने देखिन्छ । 

यसै बिषयमा अर्थविद् केशव आचार्य भन्छन् 'नेपालको समग्र अथर्तन्त्रमा धानको योगदान ४ प्रतिशत रहेको छ । नेपालको कूल गाहर्स्थ उत्पादन जीडीपी ४२ खर्ब रुपैयाँको छ भने यसमा धानको योगदान १ खर्ब ६४ अर्ब रुपैयाँको हुन्छ । यस हिसाबले अहिले क्षति पुगेका क्षेत्र र त्यहाँको उत्पादन तथा उत्पादकत्वमा १५ प्रतिशतसम्म कमि आयो भने पनि ०.२ प्रतिशतसम्मको आर्थिक वृद्धिदरमा संकुचन आउँछ'।


किसानलाई राहत
 
हाल नेपालको कृषि  यस्तो अवस्थामा पुगेको छ कि एकदम सुदूर गाउँका कैयौं सामान्य किसान परिवारसँग अहिले एउटा बाख्रो पाल्न, तरकारी लगाउने कुनै स्रोत नै छैन। स्रोत उपलब्ध भए पनि, खेतीपातीमा आश्रित भएर किसानको जिन्दगी चलेको छैन। साना किसान लक्षित सरकारी अनुदान र सहयोग पनि बिचौलियाले उम्काएको छ। अझ आजको समयमा बाली लगाउन गरेको परिश्रम, लगानी आफ्नै अगाडि डुबेको देख्दा किसानको आँसु थामिएको छैन। 

यस्तो परिस्थितिमा किसानका उत्पादनमा हानि नोक्सानीको भरपाइ कस्तो सयन्त्रमार्फत गर्ने भन्नेमा ध्यान जान जरुरी छ। जलवायु परिवर्तनका कारण मौसम परिवर्तन भएको अवस्थामा यससँग जुध्न कस्तो बाली लगाउने भन्नेमा किसानलाई राज्यको सहयोग र परामर्श आवश्यक छ। मंसिरमा धान काट्ने यसअघिको प्रचलन हाल आएर बिथोलिएको छ। छिटो पाक्ने धानका प्रजातिका कारण पनि यसप्रकारका विपद् आएको कतिपयको तर्क छ। सूचना प्रविधिमा आधुनिक विज्ञानले गरेको प्रगतिका कारण मौसम पूर्वानुमान गर्न सजिलो भएको छ। 

समयमै गरिएको पूर्वानुमान किसानसम्म पुर्‍याउन सृदृढ सञ्चार प्रणाली आजको आवश्यकता बनेको छ। धानका पाँजामा पछिल्ला दिनहरूमा देखिएको विपद्को कारुणिक दृश्य नदोहोर्‍याउन पनि सरोकारवालाले तत्काल ध्यान दिन जरुरी भएको छ। खेतमै बाढीका कारण डुबुल्की मारेका धान बाली किसानको मात्र समस्या होइन। यो राज्यको समस्या र राज्यको उत्तरदायित्वको विषय हो। राज्यले आफ्ना सुरक्षा संयन्त्र परिचालन गरेर भए पनि डुबेको धान जोगाउन प्रयास गरे केही हदसम्म भएको बाली जोगाउन सकिन्छ।  

 दीर्घकालीन समस्या समाधानका लागि मौसम परिवर्तनले निम्ताएको संकटसँग कसरी जुध्ने र अनुकूलित हुने भन्नेमा ध्यान जान जरुरी छ। खेतीपातीलाई क्लाइमेट स्मार्ट बनाउन सके किसानले जलवायुमैत्री खेतीकिसानीमार्फत हानि/नोक्सानी कम गर्न सक्छन्। नेपालले अब  तत्कालीन, मध्यकालीन र दीर्घकालीन कृषि  रणनीति र योजनासहित अगाडि बढ्न आवश्यक भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिको निरीक्षण गर्न बिहीबार सुदूर पश्चिमको भ्रमण गरेका छन्। यो सकारात्मक प्रयास हो। तर जनतालाई निरीक्षण र अनुगमन भ्रमण भन्दा पनि आफ्नो घर/आँगनमा राहतको अनुभूति दिन आवश्यक छ।  


 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद