Media Network

पशुपतिनाथमा रहेको बिरुपाक्ष अर्थात ‘कलि’को कथा


खबरस्टोरी संवाददाता

१४ माघ २०७८,शुक्रबार

काठमाडौ । आम हिन्दुहरुको आस्थाको प्रतिकका रुपमा रहेको मन्दिर हो पशुपतिनाथको मन्दिर । राजधानी काठमाडौंमा रहेको यो मन्दिरमा दर्शन गर्नका लागि बिदेशी तथा स्वदेशी पर्यटकहरुको दिनहुँजसो नै घुँइचो लाग्ने गर्दछ । पशुपतिनाथको मन्दिर भन्दा तल्लोपट्टि बिरुपाक्ष अर्थात् कलिको मुर्ती हामी देख्न सक्छौं । 

आखिर ब्रह्मनाल नजिकै रहेको कलिको उत्पत्ति कसरी भयो ? यो सबै हिन्दु धर्मालम्बीहरुको चासो र रहस्यको रुपमा रहेको छ । कलियुगको सुरु कसरी भयो र कसले बिरुपाक्षको मुर्तिलाई पशुपतिनाथमा स्थापित गरे यो सर्वाधिक चासोको विषय हो । 

हिन्दू धर्मशास्त्रका अनुसार ब्रम्हाण्डमा चार युग रहेका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्दछन् । शास्त्रहरुका अनुसार अहिलेको यो सयम कलियुग अन्तर्गतको कालखण्ड हो, जुन अन्तिम पनि हो ।

विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक पाइएको छ । चार युग मध्येको पहिलो युग सत्य युग हो । कलियुगपछि पुनः सत्ययुगको शुरुवात हुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

आम जनमानसमा यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आएपछि संसारको अन्त्य हुने विश्वास छ । सगँसगै कलियुगको अन्त्य पनि ।

बिरुपाक्ष अर्थात ‘कलि’ र १२ सय दिव्य वर्षको एक कलियुग । शास्त्रहरुका अनुसार कलियुगको शुरुवात महाभारत युद्ध सकिएको केही वर्षपछि ३१३७ इसापूर्वमा भएको थियो ।


महाभारत युद्ध भएको ३५ वर्षपछि भगवान कृष्णको देहान्त भएको थियो, त्यसपछि कलियुगको आरम्भ भएको विश्वास गरिन्छ । कलियुगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख छ । भनिन्छ, बिरुपाक्षको एकदमै गरीब परिवारमा जन्म भएको थियो । उनको जन्म पश्चात उनका पिता कमाउनका लागि परदेश हिँडे । त्यसपछिका दिनहरुमा उनका आमाले एकदमै दुःख गरेर पालिन् । जब बिरुपाक्ष विस्तारै बढ्दै गए र घरपरिवारका बारेमा बुझ्ने भए । उनले आमासँग पिताको खोजीमा जाने कुरा बताए । धेरै वर्ष आफूले दुःख गरेर बढाएको छोराले पनि श्रीमानले छाडेर गएझैं छोडेर जाने भन्ने कुरा सोचेर आमाले रुदैँ भनिन् ‘छोरा दुःखसुख मागेर खाउँला । तँ पनि नभए म कसरी बाँचु ?’ तर जिद्दी बालक बिरुपाक्षले भने बाँचेको भए साथै लिएर आउँछु मरेको भए दाहसंस्कार गरेर फर्कन्छु तर पिताको बारेमा पत्ता नलागेसम्म फर्कन्न भन्दै आमालाई रुवाउँदै पिताको खोजीमा हिंड्छन् ।

भनिन्छ, यसरी पिता खोज्न निस्कदा बिरुपाक्षको उमेर सात वर्षको मात्र थियो । धेरै वर्ष बितिसक्दा पनि बिरुपाक्षले आफ्नो पिताको बारेमा केही थाहा पाउँदैनन् । उनी सोंच्छन्, मरेकै भए पनि पिताको दाहसंस्कार गर्नैपर्छ र आमालाई पनि यही बचन दिएको छु । यसरी खोज्दै जाने क्रममा बालक बिरुपाक्ष तरुण भइसक्छन् । उनी १७ वर्षको जवान भइसक्दा पनि पिताको बारेमा कहिँकतै केहि पनि पत्तो लगाउन सक्दैनन् ।

तर अचानक एक रात जंगलको बाटो हिडिरहँदा उनी एउटा ओडारमा बास बस्न पुग्छन् । त्यो ओडारमा एक जना अधवंैशे महिला पनि हुन्छिन् । रात छिपिप्दै जाँदा उनीहरुबीच यौन सम्पर्क हुन्छ । उनकी आमा पनि लामो समयसम्म छोरा र श्रीमान नआएपछि उनीहरुको खोजीमा निस्केकी हुन्छिन् । संयोगवश त्यो रात उनीहरुको ओडारमा भेट हुन्छ । अँध्यारोमा एक अर्काबीच चिनजान नभएपछि यौवनले उन्मात्त बिरुपाक्ष र यौवन नओइलाएकी अधवंैशे आमाबीच सम्भोग हुन पुग्छ । अध्याँरोमा एकले अर्कौलाई चिन्दैनन् । एउटै ओडारमा फरक फरक प्रयोजनका लागि एक रातको बास बसेका हुन्छन् ।


भोलिपल्ट छुट्टिने बेलामा कोसँग रात बिताएको रहेछु भनेर बुझ्न खोज्दा उनले त आमासँग यौन सम्पर्क गरेका हुन्छन् । यो थाहा पाएपछि आफूले आफैलाई धिक्र्काछन् । आफूलाई सम्झाउन जसो गरी पनि नसकेपछि आफ्नो गल्ती प्रायश्चित गर्नका लागि पशुपतिनाथसँग उपाय माग्न पशुपति आइपुग्छन् । उनले पशुपतिनाथसँग पापबाट मुक्त गराइदिन अनुरोध गर्छन् ।

तर भाङ खाएर लठ्ठिएका शिव तथा पशुपतिनाथले उनलाई १२ धार्नी तामा तताएर पिएपछि सबै पाप नाश हुने बताउँछन् ।

यसरी, बिरुपाक्ष आफ्नो पापबाट मुक्त हुने विश्वासका साथ १२ धार्नी तामा तताउन थाल्छन् । ठोस तामा तताएर पिउन तयार हुँदै गर्दा तामा तात्यो कि तातेन भनेर भाँडाको ढकन खोलेर हेर्न खोज्दा तातो तामाको रापले बिरुपाक्षको अनुहार सबै डढ्छ । 

भनिन्छ, यसरी अनुहार डडेकै कारण उनको नाम कुरुप अर्थात बिरुपाक्ष रहन गएको हो । गाँजा र भाङले मातेका पशुपतिनाथले आफूले अन्जानमा गरेको गल्तीको बदलामा आफूलाई मार्न खोजेको भन्दै पशुपतिनाथलाई गाली गर्न थाल्छन् । शिवको मुर्तीमा लात हान्दै गाली गर्दै नदी किनारमा बस्छन् ।

त्यसैगरी, एक दिन उनी शिवजीको निन्दा गर्दै हिड्दा भगवान बुद्धलाई देख्छन् र आफूले गरेको गल्तीको प्रायश्चित गर्दै पापबाट मुक्त हुने उपाय बताउनका लागि विन्ती गर्दछन् । बुद्धले आफूले लगाएको बोधीचित्तको माला फुकालेर दिँदै उनलाई यो माला तबसम्म गन्नु जबसम्म खुइलिदैन भन्छन् ।

त्यसपछि उनी माला लिएर अहिलेको कलिको मूर्ती जहाँ छ, त्यही बसेर माला गन्न थाल्छन् । महिना दिनसम्म बितिसक्दा पनि माला नखुइलिएको देखेर उनलाई बुद्धसँग पनि रिस उठ्छ र माला फालिदिन्छन् । त्यसैबखत उनले त्यहाँ एउटा फाटेको कपडा लगाएको बालकले ढुङ्गामा फलाम घोटिरहेको देख्छन् । उनलाई त्यो दृश्य बडो अचम्म लाग्छ र बालकलाई सोध्छन् ‘किन यसरी फलाम घोटिरहेका छौं ।’ ‘मेरो कपडा च्यातिएको छ, म फलामको पाता घोटेर सियो बनाउँछु र कपडा सिलाउँछु ।’ बालकले भन्यो ।


भनिन्छ त्यो बालक बुद्धको अर्को रुप थियो । कलिको मूर्तीको अगाडि घाटको दाहिने पट्टी अहिले पनि बुद्धको छापको पाइला देख्न सकिन्छ । बालकको त्यो धैर्यता र आँटदेखि कायल भएका बिरुपाक्ष पुनः उही स्थान गएर माला गन्न थाल्छन् । एक दिन त्यो माला खुइलिने विश्वास लिन्छन् । तर उनले महादेवको निन्दा गरेको र लामो समयसम्म पशुपति परिसरमा बसेकै कारण माला गन्दै गरेका बिरुपाक्षलाई पशुपतिनाथका भक्तहरुले जमिनमुनि गाडिदिन्छन् ।

यसरी विरुपाक्षले आमासँग सम्भोग गरेपछि कलियुगको सुरुवात भएको हो, र यसरी नै विरुपाक्षलाई कलिको नामले चिनिन थालिएको धार्मिक विश्वास छ । गाडिएको उनको मुर्ति ब्रह्माको समय अनुसार जब पृथ्वीबाट बाहिर निस्कन्छ तब विरुपाक्षले पशुपतिनाथमा बसेर आफ्नो गल्तीको प्रायश्चित गर्दागर्दै मान्छेहरुले आफूलाई जमिनमुनि गाडेको रिसको कारण पृथ्वीसँग उनले बदला लिनेछन् । यसैबेला शिवजी आएर उनको अन्त्य गर्नेछन् । तब कलियुगको अन्त्य भई सत्ययुगको सुरुवात हुनेछ भनी धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद