Media Network

राष्ट्रियसभा सदस्य उपनिर्वाचन: गठबन्धन यथावत रहे कुमार दशौदीको पोल्टामा


खबरस्टोरी संवाददाता

१९ माघ २०७९,बिहीबार

बुटवल ।  नेकपा (एमाले)बाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उमेदवार हुन राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएपछि खाली रहेको सिटमा यही माघ २५ गते उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचनका लागि एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले मनोनयनपत्र दर्ता गराएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दल नागरिक उन्मुक्तिले पनि मनोनयन दर्ता गराएकाले राष्ट्रियसभामा कसले बाजी मार्ला, त्यो भन्न सकिने अवस्था रहेको छैन । 

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३०५ मतदाता छन् । यो निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मात्र मतदान गर्ने पाउने कानुनी व्यवस्था छ ।

मतभार-

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतभार कांग्रेसको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना गरिन्छ । स्थानीय तहका प्रत्येक प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना गरिन्छ ।

नपाली कांग्रेस:

प्रदेशमा कांग्रेसका कुल २७ सांसद छन् । उनीहरूको मतभार एक हजार २९६ हुन आउँछ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कुल ९२ जनप्रतिनिधि छन् । उनीहरूको मतभार एक हजार ६५६ हुन आउँछ । यसरी हेर्दा स्थानीय तह र प्रदेशसभातर्फ गरी कांग्रेससँग कुल दुई हजार ९५२ मतभार छ ।

नेकपा एमाले:

एमालेसँग स्थानीय र प्रदेशसभातर्फ गरी कुल २ हजार ५९८ मतभार छ । लुम्बिनी प्रदेशसभामा एमालेका २९ सांसद छन् । उनीहरूको मतभार एक हजार ३९२ हुन आउँछ । एमालेका स्थानीय तहतर्फ प्रमुख नौ, अध्यक्ष १८, उपप्रमुख १६ र उपाध्यक्ष २४ गरी ६७ जनप्रतिनिधि छन् । उनीहरूको मतभार एक हजार २०६ हुन आउँछ ।

प्रदेशसभा र स्थानीयतहतर्फ गरी नेकपा (माओवादी केन्द्र)सँग कुल एक हजार १६६ मतभार छ । प्रदेशसभामा माओवादीका १० सांसद छन् । उनीहरूको मतभार ४८० हुन आउँछ । स्थानीय तहतर्फ प्रमुख तीन, अध्यक्ष २२, उपप्रमुख चार र उपाध्यक्ष ११ गरी माओवादीका ४० जना निर्वाचित भएका छन् । उनीहरूको मतभार ७२० हुन आउँछ ।

अन्य दलहरु:

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कुल मतभार २४६ छ । जनता समाजवादी पार्टी (जसपा)को कुल मतभार २५२ छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कुल २१६ मतभार छ । राष्ट्रिय जनमोर्चाको मतभार १२० छ । जनता प्रगतिशील पार्टीको मतभार ३६ छ । जनमत पार्टीको १४४, नागरिक उन्मुक्ति पार्टीको १९२, स्वतन्त्र दुई सांसदको मतभार ९६ र नेकपा (एकीकृत समाजवादी)को मतभार ४८ छ ।

सत्ता गठबन्धन यथावत रहदा:

यसरी हेर्दा सत्तारूढ गठबन्धन (सात दल)को मतभार चार हजार ५९६ हुन आउँछ । त्यो कांग्रेसको भन्दा एक हजार २५४ बढी मतभार हो । कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र एकीकृत समाजवादीले साथ दिए तीन हजार ३४२ मतभार हुन्छ । अहिलेकै गठबन्धन कायम रहेको अवस्थामा एमालेका उम्मेदवारको जित निश्चित छ।

तर, जनता प्रगतिशील पार्टी र दुई स्वतन्त्र सांसदले कसलाई मतको अझै टुंगो छैन । उनीहरूले मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद