Media Network

सडक नालीमा मरेको गैडाको कथा, आखिर दोषी को ?


खबरस्टोरी संवाददाता

१० माघ २०७८,सोमबार

चितवन । आइतबार पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा दिउँसो करिब ३ः३० बजे मृत अवस्थामा भेटियो ।अन्दाजी ८÷१० वर्षको पोथी एकसिङ्गे गैँडा निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर मरेको थियो । गैँडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैँडा मृत अवस्थामा भेटिएको थियो । विश्वमै दुलर्भ मानिने एकसिङे गैंडा पछिल्लो ६ वर्षको अवधिमा नेपालमा १०७ वटा रहेका छन्, देशमा एक सिङ्गे गैंडाको संख्या सबभन्दा बढी चितवनमा नै रहेको छ ।

गत चैत ९ गते वनमन्त्री प्रेमबहादुर आलेले सिटी फुकेर राष्ट्रिय गैंडा गणना २०७७ को उद्घाटन समेत गरेका थिए ।गैंडा गणना २०७७ अनुसार चितवनमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाटामा १७ वटा, बर्दियामा ३८ वटा र पर्सामा ३ वटा गैंडा रहेको छ।चितवन राष्ट्रिय निकुञ्जसहित देशभरमा गैडाको संख्या ७ सय ५२ छन् । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।योसँगै चालु आर्थिक वर्षमा मात्रै झण्डै २१ वटा गैँडाहरु मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । पछिल्लो समयमा वन्यजन्तु चोरी निकासीका अलावा प्राकृतिक कारणहरु भन्दा पनि मानव क्रियाकलापहरुका कारण मर्ने गरेको पाईएको छ ।


यसै सन्दर्भमा हिजो मृत अवस्थामा भेटिएको उक्क्त गैडा पनि वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक निर्माण र विस्तारको कारणले गर्दा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । आवश्यक मापदण्ड र प्रक्रियासँगै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनको नियमलाई नै मिचेर सडक निर्माण थालिएकाले पनि सो घटना भएको निकुञ्जले प्रतिक्रिया दिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल सरकार लगायत विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले गैडा संरक्षणकै लागी भनेर बर्षेनी करोडौ रकम खर्चिने गरेका छन् । तरपनि यसको व्यवस्थापन लगायत संरक्षणका लागी सम्बन्धित निकायहरुबाट गरिएका सबै कार्यहरु अपूरो देखिएका छन् । प्राकृतिक कारण भन्दा पनि मानवीय कारणले नै दिनानुदिन वन्यजन्तुहरु मर्ने र मारिने गरिएका छन् ।








Share:
Reaction :
ताजा समाचार
खेलकुद