Media Network

समाजवादको यात्रामा बाधक मुर्रा राँगो


रोशन आचार्य

२३ जेष्ठ २०८०,मंगलवार

काठमाडौ । नेपाली राजनितीलाई हरेक पटक नयाँ र रोचक विषय तथा प्रसंङ्गले थप चर्चामा पुराएको हुन्छ । त्यस्तै यो पटक पनि चर्चामा आएको नयाँ विषय हो मुर्रा राँगो

प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणका क्रममा चर्चामा आएको मुर्रा खासगरी भारत सरकारले नेपाललाई उपलब्ध गराउन लागेको राँगा भए पनि चर्चामा भने मुर्रा भैंसी आयो ।

यद्यपी भारतले दिने उच्च प्रजनन मानका १५ वटा मुर्रा राँगो केही समयमा नेपाल आउने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।


मुर्राले ततायो संसद

चौतर्फी चर्चामा आएको मुर्रा राँगाको विषयमा प्रधानमन्त्री प्रचण्डले संसद्मा स्पष्टीकरण दिनपर्ने अवस्था नै आयो । राँगा ल्याउने सम्झौता अहिले नभएर सात वर्ष पहिलेकै सरकारले गरेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।

‘भैसीको कुरा अहिले भएको विषय होइन । यो आजभन्दा सात वर्ष अगाडि नै मुर्रा भैसी ल्याउने बारे समझदारी भएको रहेछ । आएकोमात्रै अहिले हो । सात वर्ष अगाडिको रहेछ मुर्रा भैसी । मान्छेले मलाई चाहिँ भैसी चढाएर हिडेका छन् । मुर्रा हो, मुर्रा,’– प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएलगत्तै बोलेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राँगा ल्याउने बारेमा आफ्नो पालामा पहल भएको स्वीकार गरे । नश्ल सुधारका लागि आफूहरुले भारत बाहेक अरु राष्ट्रहरुले पनि सहयोग गरोस् भन्ने चाहेको बताए ।

‘राँगा आयो । पहिले नै कुरा गरेको रहेछ । केपी ओलीको समयमा कुरा गरेको हो । नश्ल सुधारको कार्यक्रममा भारतले हामीलाई सहयोग गरोस् । गाई पालन, भैसी पालन, बाख्रा पालन अरु विभिन्न कुरामा सहयोग गरोस् । हामीले यस सम्बन्धमा अरुसँग पनि कुरा गरेका छौं । नश्ल सुधारका सम्बन्धमा । हामी उही च्याक्ले गाई, किर्ने भैसी भन्छन् नि त्यसैमा बसिरहने होइन । हामी नयाँ ढंगले अगाडि लान चाहन्छौं,’– ओलीले भने ।

यसबारे विवाद भएपछि कृषि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर प्रस्टीकरण दिएको छ। सन् २०१८ मा नै नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूह (जेएडब्लूजी)को बैठकमा भएको निर्णय अनुसार नेपाल सरकारले विभिन्न समयमा औपचारिक तथा अनौपचारिक तवरबाट भारत सरकारसँग उच्च प्रजनन मानका ३० वटा मुर्रा राँगो उपलब्ध गराउन अनुरोध गरेको कृषि मन्त्रालयले जनाएको छ।

जस अनुसार सन् २०२० मा भारतको मिनिस्ट्री अफ एनिमल हस्बेन्ड्रीलाई उच्च प्रजनन मान भएको बीउ राँगो आपूर्तिका लागि औपचारिक रूपमा नेपाल सरकारले प्रस्ताव गरेको थियो। नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिम नै १५ वटा उच्च नश्लका मुर्रा प्रजातिका पाडाहरू भारतीय पक्षले उपलब्ध गराउन लागेको जनाइएको छ।

यसरी प्राप्त राँगालाई पशुसेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। यी १५ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख ५० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराई नश्ल सुधार गर्ने र यसले भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने मन्त्रालयको भनाइ छ।


कस्तो हुन्छ मुर्रा भैंसी?

सरकारले भारतबाट १५ वटा मुर्रा राँगा ल्याउने विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

मुर्रा भैंसी पूर्ण रूपमा कालो रङको हुन्छ। पातलो र मुलायम छाला हुने मुर्रा भैंसीको सिङ चेप्टो र घुमाउरो, निधार सानो र चेप्टो, गर्धन लामो र पातलो अनि कल्चौंडो नाइटोदेखि पछाडि खुट्टाभन्दा बाहिरसम्म हुन्छ।

मुर्रा सामान्य भैंसीको तुलनामा तीन गुणा बढी दूध दिने प्रजाति हो। खानपानमा विशेष ध्यान दिन सक्ने हो भने दैनिक २५ लिटरसम्म दूध दिन्छ । यी भैंसीको सरदर दूध उत्पादन प्रतिबेत एक हजार ५०० लिटर, वयस्क भैंसीको सरदर तौल ४३० देखि ५०० किलोग्राम र वयस्क राँगोको तौल ५३० देखि ५७५ किलोग्राम हुने गरेको छ।

मुर्रा भैंसीका लागि खानपानमा विशेष ध्यान दिनैपर्छ। यसलाई प्रोटिन, क्याल्सियम, फोसफरस, भिटामिन ‘ए’ प्रशस्त पाइने खानेकुरा खुवाउनुपर्छ। घाँस, भुसा, दाना, मकै, गहुँ, गहुँको चोकर, ढुटो, जौ, बदाम, तिल, सोयाबिन, आलस, तोरी, सूर्यमुखी, बिग्रेको आलु समेत खुवाउन सकिन्छ।

मुर्रा प्रजातिको राँगाबाट प्राकृतिक गर्भाधान वा मुर्रा प्रजातिको राँगोको वीर्य प्रयोग गरी कृत्रिम गर्भाधानको विधिबाट प्रजनन गरिन्छ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद