Media Network

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

काठमाडौँ।रुपन्देही, बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी लु.४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् । लु.४१ प ४१६८ र लु.४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई लु.४१ प ४१६८ नम्बरको मोटरसाइकल पुनः लु.१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बझाङ, केदारस्युँ गाउँपालिका–१ धार्तडास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ च २६९० नम्बरको जिपको ठक्करबाट पैदलयात्री बित्थडचिर गाउँपालिका–९ रैकोसी बस्ने ६० वर्षीय गगन ओखेडाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।  साथै जिप समेत पल्टिदा घाइते भएकी जिपमा सवार बुंगल नगरपालिका–६ बस्ने २५ वर्षीया सन्जु खत्री बोहरालाई उपचारको लागि धनगढीतर्फ पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, वीरगंज महानगरपालिका–१५ ब्रमचोकमा ना.७ ख १८३७ नम्बरको बसले ना.४० प ३४७९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट मौलापुर गाउँपालिका–५ बस्ने ६५ वर्षीय तुल्सी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङ, विराटनगर महानगरपालिका–१८ देवन पेट्रोल पम्प छेउस्थित कर्ल्बटमा साईकल ठोक्किएर साईकलयात्री जहदा गाउँपालिका–१ भुटाहा बस्ने ४६ वर्षीय दिपचन शर्माको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।  

बाँके, राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको  छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो  । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद