Media Network

टमाटरको भाउमा अस्वाभाविक बृद्धि


अञ्जन बस्नेत

२४ श्रावण २०८०,बुधबार

काठमाडौं । भारतिय गोलभेडा (टमाटर) आउन नसक्दा केही दिनमै  गोलभेडाको  मूल्य अस्वभाविक रुपमा बढेको छ । डेढ महिनाअघि किसानहरुले टमाटरको भाउ नपाउदा सडकमा फ्याँकेर विरोध गरेका थिए। तर अहिले सोही टमाटरको होलसेल तथा खुद्रा मूल्य उच्च दरमा बढेको हो ।

 कालीमाटी तरकारी बजारमा बुधवार अर्थात् साउन २४ गते आज ठुलो नेपाली टमाटर प्रतिकेजी १५६ देखि १८० रुपैयाँसम्ममा बिक्री भएको छ । लोकल सानो टमाटर प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म पुगेको छ भने टनेलमा उत्पादन भएको टमाटर भने प्रतिकेजी ८० रुपैयाँदेखि ९५ रुपैयाँमा बिक्री भएको छ । बर्षात्का कारण अहिले कालीमाटी बजारमा भारतीय टमाटर भने आउन सकेको छैन । 

बर्षातका कारण ढुवानीमा पनि समस्या हुँदा भारतीय टमाटर पनि आउन सकेको छैन । पछिल्लो समय भारतमा पनि टमाटरको  मूल्य बढेको छ ।भारतमा यसको मुल्य प्रतिकेजी २०० माथि पुगेको छ । 

टमाटरको यो  मूल्य पछिल्लो डेढ महिनाको तुलनामा उच्च दरमा पुगेको देखिन्छ । गत असार १ गते ठुलो नेपाली टमाटर प्रतिकेजी न्यूनतम ३० रुपैयाँदेखि अधिक्तम ४० रुपैयाँसम्ममा बिक्री भएको थियो । ठुलो (भारतीय) टमाटर भने प्रतिकेजी न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँमा बिक्री भएको थियो । सोहीदिन लोकल सानो टमाटर भने प्रतिकेजी न्यूनतम ५ रुपैयाँदेखि अधिकतम ८ रुपैयाँमा बिक्री भएको थियो ।

टनेलको टमाटर भने प्रतिकेजी ८ रुपैयाँदेखि अधिक्तम १२ रुपैयाम टमाटरको होलसेल बिक्री भइरहेको थियो । त्योअनुसार असार १ गते टमाटरको मुल्य सामान्य अवस्थामा थियो । त्यसै बेला नै नेपाली किसानले २ रुपैयाँमा समेत बिक्री भएन भनेर टमाटर सडकमा फालेर आन्दोलन गरेका थिए । तर, अहिले टमाटरको  मूल्य अचाक्ली बढेको छ 

विशेषगरि मागअनुसार टमाटर नआउँदा मुल्य अस्वभाविक बढेको कालीमाटी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । अधिकारी श्रेष्ठले भन्छन्  ‘यसैपनि यो टमाटर उत्पादन हुने सिजन होइन । त्यसले गर्दा पनि उत्पादन कम छ।’ 

गत बर्षको यहि समयमा पनि नेपाली बजारमा टमाटरको मूल्यमा केहीमात्रामा बढेको थियो।२०७९ साउन २२ मा ठुलो नेपाली टमाटर ५५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म र भारतीय टमाटरको मुल्य प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म थियो । त्यसदिन सानो लोकल टमाटरको  मूल्य प्रतिकेजी ३५ देखि ४० रुपैयाँ र टनेलको टमाटरको  मूल्य प्रतिकेजी ४२ देखि ४७ रुपैयाँसम्म थियो ।

श्रेष्ठले भने,–‘गत बर्षको अपसिजन अर्थात् यही समयमा पनि टमाटरको  मूल्य बढेको थियो । तर, यसपाली अस्वभाविक  मूल्य बढेको हो । यसको मुख्य कारण मागअनुसार टमाटर नआएर नै हो ।’ 

कालीमाटी बजारलाई दैनिक ६५ टन टमाटर आवश्यक हुन्छ । अहिले बजारलाई दैनिक ६५ टनसम्म आवश्यक छ । हाल ३५ देखि ४० टन टमाटर मात्रै आउने गरेको छ । काठमाडौं उपत्यकामा रहेका अन्य तरकारी बजारमा पनि मागअनुसार टमाटर आएका छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद