Media Network

तराइ मधेसका जिल्लामा आज होली मनाइँदै


खबरस्टोरी संवाददाता

४ चैत्र २०७८,शुक्रबार

बिराटनगर । आज तराई मधेशका जिल्लाहरुमा फागु अर्थात होली पर्व शुक्रबार हर्षोल्लासका साथ मनाइँदैछ । होली पर्वको अवसरमा तराई मधेश प्रदेशका जिल्लामा  सरकारले सार्वजनिक विदा दिएको छ । 

विहीबार काठमाडौंसहित पहाडी जिल्लाहरुमा फागु पूर्णिमा अर्थात् होली पर्व हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको थियो । 

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

समानता र निष्छलताको पर्व होली आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने हुँदा आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।

फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाईने गरिन्छ । त्यो बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । बिशेषगरी पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरु आज यो रङ्गिन चाड मनाउँदैछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद