Media Network

त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु


खबरस्टोरी संवाददाता

२२ पुष २०७९,शुक्रबार

काठमाडौँ। भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला  शुरु भएको बताइएको छ । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु हुन्छ ।

 साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको पाइएको छ ।माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ । त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेका छन् ।

 वर्तालुले खाली खुट्टा पैदल नै तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महिने व्रत समापन गर्ने परम्परा छ ।

वर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय वर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलशयात्रामा सहभागिता जनाउने परम्परा छ । 

वर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत  समापन गर्ने परम्परा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद