Media Network

विश्व नारी दिवस : महिला सशक्तिकरण र समाज परिवर्तनको एक यात्रा


खबरस्टोरी संवाददाता

२४ फाल्गुन २०७८,मंगलवार

आज ८ मार्च, ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस। विश्वका महिलाले मुक्ति र समान अधिकारको लागि गरेको संघर्ष सम्झना गर्ने दिन। अन्तराष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने एक सय बाह्र बर्ष भन्दा पनि पुरानो प्रारम्भिक चरणको काल खण्डलाइ हामीले स्मरण गर्नुपर्ने हुन्छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा मिलमा सन् १८५७ मार्च ८ मा महिलाले पुरुष सरह नै ज्याला पाउनु पर्दछ भन्दै पहिलो पटक संगठित भएर आन्दोलन गरेका थिए । सोही मिलमा सन् १८६० मार्च ८ मा यिनै महिलाले राष्ट्रियस्तरको पहिलो महिला सम्मेलन सम्पन्न गरे । फ्रान्सको पेरिसमा सन् १८८९ मार्च ८ मा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना भयो । अमेरिकाको सिकागो शहरमा सन् १८९७ मार्च ८ कै दिन महिला अधिकारका लागि विशाल जुलुस, आमसभा र हडताल भएका थिए । उक्त आन्दोलनका मागहरुमा १० घण्टा भन्दा बढी कामको विरोध, पुरुष सरह ज्याला पाउनुपर्ने, मातृशिशुको अधिकार, मजदुर युनियनमा महिलाको पनि मताधिकार हुनुपर्ने आदि समावेश थिए ।

न्यूयोर्कमा नै तत्कालीन समाजवादी पार्टीको सन् १९०९ फेब्रुअरी २८ र सन् १९१० मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले नारीलाई पुरुष सरहको अधिकार हुनपर्ने मागसहित दिएको सुझावअनुसार प्रत्येक वर्ष नारी दिवस मनाउन थालिएको देखिन्छ । अन्तर्राष्ट्रिय रुपमा महिलाले उठाउने गरेका आन्दोलनहरुमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रियस्तरको एउटा नारी दिवस मनाइने प्रस्ताव भयो । फलस्वरुप सन् १९११ मार्च १९ मा प्रथम पटक अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्ड जस्ता देशमा लाखौं महिलाको सहभागितामा प्रथम अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाईयो । उक्त दिवसमा नारीलाई मतदान गर्ने अधिकारबाहेक व्यावसायिक तालिम प्रदान गरिनु पर्ने र नारीमाथि कुनै पनि किसिमको विभेद हुन नपाउने माग समावेश गरिएको थियो ।

महिला अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनको निरन्तरतामा सन् १९१३ र १९१४ र १९१७ मा तत्कालीन सोभियत सङ्घमा प्रथम विश्वयुद्धको विरोधमा (रोटी र शान्तिको नारा सहित) अन्तर्राष्ट्रिय नारी दिवस मनाइए । युरोपका कैयौँ देशका महिलाले क्लारा जेटकीन, रोजा लक्जम्वर्ग र टेरेसा मल्किएलहरुको नेतृत्वमा नारी आन्दोलनमा निरन्तरता दिए । यही नारी दिवस हाल आएर संसारमा नारी अधिकारको लागि महत्त्वपूर्ण दिनका रुपमा मानिन्छ । सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गर्‍यो । यस घोषणासँगै महिलामा उत्साहको सञ्चार मात्र भएन यसले चेतनास्थर वृद्धिमा पनि ठुलै फड्को मार्‍यो। यसपछि क्षेत्रीय, उपक्षेत्रीय र अन्तर्राष्ट्रिय स्थरमा महिला आन्दोलनको विस्तार भयो।

यधपि आजभन्दा ११२ वर्ष अगाडी महिलाको अवस्था जस्तो थियो आज पनि त्यस्तै छ भन्दा फरक नपर्ला। बरु उल्टै महिला शोसणको स्वरुपमा परिवर्तन आएको छ। नेपालकै सन्दर्भमा कुरा गर्दा, नेपालमा महिलाको अवस्था सुधारिएको देखिए पनि वास्तविक अवस्था भने दयनीय छ। नेपालले महिला बिरुद्द हुने सबै प्रकारका भेदभाव उन्मुल गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेको छ। राज्यले अन्तर्राष्ट्रिय महासन्धिमा भएका व्यवस्थालाई घरेलुकरण गर्न महिलासँग सम्बन्धित अधिकारहरुलाई कानुन र संविधानमा समेत व्यवस्था गरेको छ। नेपालको संविधान २०७२ ले महिलालाई थुप्रै हक र अधिकारको व्यवस्था गरेको छ। खासगरी संविधानको मौलिक हकअन्तर्गत धारा ३८ को महिलाको हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भएमा कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था छ।

यस्तै, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराइने, महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने व्यवस्था गरिएको छ। संविधानकै धारा १८ को समानताको हकमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, लिंगको आधारमा भेदभाव गरिने छैन भनिएको छ। त्यस्तै धारा २९ को शोषण विरुद्धको हकमा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भनिएको छ। तर नीति एकातिर, नियति भने अर्काेतिर छन्। जति नै महिला अधिकार र हिँसा विभेद अन्त्य गर्नुपर्ने नीति निर्माण भए ता पनि दिनानु दिन महिलाहरु माथि बर्बर हिँसा भई रहेको छ। घर भित्र देखि विभेद खेप्दै नारी समाजको मैदान सम्म बिभिन्न खाले जायज नाजायज नीति नियमको शिकार बन्दै प्रताडित भई रहेकी छिन् । पिढी जति सुकै परिवर्तन भए पनि ,समाज जति सुकै शिक्षित र सभ्य भए पनि नारी प्रतिको सामाजिक सोच भने अझै पुरानै संस्कारको घेरा भित्र कैद छ ।

यति मात्रै होइन राजनीति, सामाजिक क्रियाकलाप, निजामति सेवा, प्रहरी, सेनामा महिला सहभागिता न्यून छ। तथ्याङ्क हेर्ने हो भने अहिले पनि महिलाको अवस्था दयनीय छ। जनसङ्ख्याको ५० दशमलव ४ प्रतिशत महिला भएर पनि हरेक क्षेत्रमा महिलापछि परेका छन्। अहिले महिलाको साक्षरता प्रतिशत ७७ भन्दा माथि छ। आधाभन्दा बढी जनसङ्ख्या भएर पनि व्यवस्थापिका संसदमा लगभग २९ प्रतिशतमात्र महिलाको प्रतिनिधित्व छ। पहिलो संविधानसभामा ३३ प्रतिशत भएको महिला प्रतिनिधित्व दोस्रोमा घटेर २९ प्रतिशत बनेको हो। विगतको स्थानीय निर्वाचनमा जम्मा १९.३३ प्रतिशत महिला जनप्रतिनिधि थिए, तीमध्ये बढी निम्न तहका वडा सदस्य थिए। तथ्याङ्क हेर्दा आर्थिक रुपले सक्रिय महिला ७८.३ प्रतिशत देखिन्छ। तर पनि महिलाको अर्थतन्त्रमा गणना भने गरिँदैन।

इतिहासलाई हेर्दा आदिमकालबाट विकसित गरेर आजको यस अवस्थामा पुर्‍याउने प्रमुख भूमिकामा नारी नै थिए । त्यस समयमा पुरुष जंगलमा शिकार खोज्ने काम गर्दथे भने नारी वास बस्ने ठाउँमा कन्दमुल सञ्चय गर्ने, फलफुल खोज्ने र जङ्गली अन्नका बाला चुँडेर ल्याएर वासस्थानको वरिपरि उमार्ने काम गर्थिन्। जंगली पशुलाई पाल्तु बनाउने काम नारीले नै गरे । इतिहासदेखि नै नौलो कुराको आविष्कार र समग्र मानवजातिलाई समाजीकरणमा ल्याउने र समाजमा स्थायित्व ल्याउने काम नारीले नै गरेको हो । त्यसैले होला तत्कालीन आदिम समाजमा महिलाको स्थान उच्च थियो । यिनै महिलाका हक अधिकारहरु क्रमशः खोसिंदै गए र विस्तारै दोस्रो दर्जाको नागरिक बनाउन थालियो । र आज समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा महिलालाई मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । पुरानो उखान छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात्, ‘जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्” । तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ। सतिले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखाैं सामाजिक संकिर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै कारणले समस्या यथावतै छ ।

समाजमा दिनहुँजसो बालिका र महिलामाथि हुने गरेका यौन दुव्र्यवहार, बलात्कार, बेचविखन, बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, र हत्याका घटनाहरुको रोकथाम र नियन्त्रण राज्य प्रभावकारी कहिले बन्छ ? मिठा मिठा भाषण, नारा र ठूला होटलको मिष्ठान्न भोजनमा गएर समाप्त हुने दिवसले वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालहरुमा के गर्‍यो ?

नारी दिवस कुनै खुशियालिको उत्सव होइन। यो त सदियौं देखि जाति वर्ग, सामाजको,धर्म तथा संस्कार, नारिमाथि हुदै आइरहेको बिभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन, हिंसा जस्ता लैगिक विभेद र अमानवीय व्यवहारहरु बिरुद्धको आवाज हो । महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापी रुपमा बुलन्ध पार्दै, महान संकल्प र अठोटको साथ जारि राखिने एउटा यात्रा हो । तर, नेपाली महिला लैङ्गिक विभेदका शिकार हुने गरेका दुःखदायी शृङ्खलाहरु दिनानुदिन थपि रहदा मार्च ८ का दिन काठमाडौँ लगायतका शहरमा मनाइँदै आएको यस दिवसले हाम्रो देशका समग्र महिलाले स–सम्मान बाँच्न पाउने अधिकारको उपभोग गर्न पाएको प्रत्याभूति गर्न भने कदापि सकिने छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद