Media Network

यसरी बन्न सक्छ फोहोरबाट मोहोर


खबरस्टोरी संवाददाता

४ पुष २०७८,आईतवार

विश्वमा यतिबेला फोहोरमैला व्यवस्थापन प्रमुख चुनौतीका रुपमा देखिन्छ  । औद्योगिकरणसँगै फोहोरमैला पनि क्रमश बढ्दै गएको छ ।सुरुवाती चरणमा सम्पूर्ण फोहोरमैलालाई एउटै डम्पिङ्ग वा ल्यान्डफिल्ड साइटमा थुपार्ने वा समुन्द्रमा लगेर फालेसँगै जल, वायु, माटो दुषित हुँदै गयो र यसबाट क्रमशः वातावरणमा नकारात्मक प्रभाव देखिन थाल्यो । यसबाट चिन्तित भएर केही वातावरणविद्हरुले वातावरणलाई जोगाउनु पर्दछ भन्ने अवधारणा अघि सारे । वातावरणको रक्षाका हेतुपनि फोहोरमैलाको उचित व्यवस्थापन हुनपर्दछ भन्ने मान्यता क्रमशः विकसित हुदै गएको पाइन्छ । विकसित राष्ट्रहरुले फोहोर मैलाको पूनः चक्ररण गरि केही हदसम्म भएपनि यसको उचित व्यवस्थापन गर्ने तर्फ ध्यान केन्द्रित गरिरहेको पाइन्छ भने आजपनि विकाशसिल र अल्पविकसित राष्ट्रहरुले सम्पूर्ण फोहोरलाई एउटै ल्यान्डफिल्ड वा डम्पिङ्ग साइटमा फाल्ने गरिएको पाइन्छ । जसको फलस्वरुप वातावरणमा यसले नकारात्मक प्रभाव दिनानुदिन पारिनै रहेको छ । यही नै प्रमुख समस्याको रुपमा खडा भएको छ ।

यदि नेपालको मात्र कुरा गर्ने हो भने पनि काठमाडौ उपत्यकाबाट मात्रै दैनिक रुपमा निस्कने फोहोर व्यवस्थापन गर्न मात्र सम्बन्धित निकायलाई हम्मे हम्मे परिरहेको तथ्य हामी माझ छर्लङ्गै छ । बढ्दो सहरीकरण सँगै बढ्दै गएको फोहोरलाई तत्कालिन समयमा घर, गल्ली,  चोक,  सडक पेटीबाट जम्मा गरी कुनै ल्यान्डफिल्ड साइटमा फाल्ने गरिएको छ । यसले एकातिर जमिनको ठूलो हिस्सा ओगट्दै लगेको पाइन्छ भने अर्कोतिर सम्पूर्ण किसिमको फोहोर एक ठाँउमा मिसिनुले यसको पुनः चक्ररण गर्न कठिन हुनुका साथै वातावरणमा यसको नकारात्मक प्रभावले क्रमशः मानव स्वास्थ्यमा समेत असर भइरहेको कुरा यिनै तथ्यबाट बुझ्न सकिन्छ ।

सडकपेटीमा थुपारिएको फोहोरले काठमाडौं उपत्यका भित्र मात्रै पनि फोहोरको उचित व्यवस्थापन हुन नसकेको हाम िदेख्छौ,यदि यही अवस्था रहने हो भने अबको केही बर्षमा काठमाडौ मानव स्वास्थ्यका हिसाबले बस्न योग्य सहर नरहन सक्ने कुरा तथ्यहरुबाट बुझ्न सकिन्छ ।

जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि पक्कै हुन्छ भन्ने उक्तिलाई चरितार्थ गर्दै भारतीय नागरिक एक इन्जिनियरले गजबको उपाय निकालेका छन् । जसमा सर्बप्रथम फोहोरमैलाको वर्गीकरण गरिनु पर्दछ त्यसपछि जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै प्रशोधन गरिनु पर्दछ। यस प्रयोगमा छाडा तथा वृद्ध अवस्थामा पुगेका गाइवस्तु तथा चौपायाहरुलाई जम्मा गरी फर्म स्थापित गरेर दिनहू  भान्साघर बाट निस्कने फोहोरलाई घरघरबाट प्रत्येक दिनको निश्चित समयभित्र जम्मा गरेर ति गाईबस्तुहरुका लागि भोजनको रुपमा प्रयोग गर्ने र यसरी छोटो अवधिमा कम्पोष्ट तयार गर्न सकिने कुरा यस प्रयोगले देखाएको छ । यसबाट जैविक फोहोरको स्पष्ट व्यवस्थापन हुनुका साथै  यसले दिनहुँ सवारी दुर्घटनाको प्रमुख कारणको रुपमा  रहेका छाडा चौपायाको समस्यालाई पनि समाधान गर्न सकिने र अर्को तर्फ हामीले कम्पोष्टका लागि छिमेकी राष्ट्रको भर पर्नु पर्ने समस्याको अन्त्य हुनुका साथै फोहोर व्यवस्थापनमा पनि ठूलो सहयोग पुग्नेमा दुइ मत छैन ।

छिमेकी मुलुक भारतमा डा. विनीत देशाईले प्लाष्टिकबाट इटा, टाइल जस्ता भौतिक संरचना निर्माणका वस्तुहरू उत्पादन गरिरहेका छन् जुन मूल्यका हिसाबले सस्तो टिकाउ हुनुका साथै वातावरण मैत्री पनि रहेको उहाँले बताएका छन्।

त्यस्तै नन्दन भट्टले ईकोकारीगरी कम्पनीको सञ्चालन गरिरहेका छन् यसमा उनले प्लास्टिकका प्याकेट ( प्लास्टिक र्यापर) को प्रयोग गरी वस्तुहरूको उत्पादन थालेको पाइन्छ। यसबाट प्लास्टिक वेस्ट कम गर्न मात्रै सहयोग पुगेको छैन केही मान्छेहरूले रोजगारी समेत पाएका छन् जसले फोहोरको उचित व्यस्थापनका साथ साथै वातावरण र अर्थतन्त्रलाई समेत टेवा पुगेको पाइन्छ।

तत्कालीन समयमा अभाव भईरहेको पेट्रोलिय पदार्थ समेत यस्ता जैविक र प्लास्टिक वेस्टको प्रयोग गरी बनाउन सकिने कुरालाई श्री सक्सेनाले आठ वर्षको लामो अनुसन्धान पछि ग्रो डिजेल कम्पनी सञ्चालन गरी उत्पादन गर्न सफल भएका छन् । यसले भविष्यमा अभाव हुनसक्ने पेट्रोलियम पदार्थको सहज उपलब्धता हुनुका साथै फोहोर मैलाको पनि उचित व्यवस्थापन गर्नमा ठूलो सहयोग पुग्ने र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । त्यस्तै छिमेकी देशहरुमा रिसाइकललाई प्राथमिकतामा राखिएको हुँदा सस्तोमा गुणस्तरीय वस्तुको उत्पादन गर्न सफल भएरहेको तथ्यबाट बुझ्न सकिन्छ ।

 प्लास्टिक वेस्ट बाट टेबल, दराज, बेच्न, पाइप, झ्याल ढोका समेत बनाउन सकिने कुरा विभिन्न प्रयोगले देखाएको छ । यसले भविष्यमा काठको प्रयोगमा कटौती गरी राम्रो  स्थान लिनसक्ने सम्भावना रहेको हुँदा, यसवाट बनबिनासलाई कम गर्नमा पनि ठूलो सहयोग पुग्ने देखिन्छ ।

सन् २०२० मा सम्पन्न भएको टोकियो ओलम्पिकमा सम्पूर्ण मेडलहरु नै ई वेष्टबाट बनाएको देखिन्छ त्यस्तै सन् २०१६ मा भएको ओलम्पिकमा पनि ३० प्रतिशत मेडलहरु ई वेष्टबाट बनाइएको तथ्य हामीमाझ रहेको छ । यसरी हेर्ने हो भने फोहोरमैला आफैमा कुनै समस्या होइन तर यसको उचित प्रयोग र व्यवस्थापन गर्न नसक्नु हाम्रो लागि समस्याको रुपमा रहेको प्रष्ट हुन्छ ।

यि र यस्ता थुप्रै उदाहरण भेट्न सकिन्छ जसले फोहोरलाई मोहोरमा बदलेका छन् । नेपालमा पनि यसको सुरुवात भएको छ । चन्द्रागिरी क्षेत्रमा कम्पोष्ट मल जैविक फोहोरबाट तयार गर्ने गरिन्छ र यसबाट राम्रो आम्दानी लिन सकिने कुरा स्वयं यसका सञ्चालिका गंगा स्याङ्गतानले एक अन्तरवार्तामा बताएकि थिइन् ।छिमेकी राष्ट्रलाई मात्र पनि हेर्ने हो भने त्यहाँ प्लाष्टिकको प्रयोग गरि विभिन्न सजावटमा वस्तु वनाउनुका साथै फर्निचर टाइल जस्ता भौतिक निर्माणका लागि अति आवश्यक सामाग्री समेत यसै बेष्टबाट बनाइरहेको तथ्य भेट्न सकिन्छ ।भारत र नेपालमा बस्ने मानिसहरुको चालचलन देखि लिएर व्यवहार पनि लगभग मिल्दो जुल्दो भएतापनि वातावरण संरक्षण र फोहोर मैला व्यवस्थापनमा हामी पछि परेको हाम्रा पछिल्ला घटनाक्रमले जनाइरहेका छन् ।

फोहोरमैला व्यवस्थापनको पहिलो चरण भनेको फोहोरको प्रकृतिअनुसार उचित विभाजन र सहि समयमा प्रयोग गरिनु नै हो भन्ने हो । यद्यपि नेपालमा अहिले प्लाष्टिक रिसाइकल गर्ने ठूला ठूला कम्पनिहरु तथा प्रशोधन केन्द्रहरुको स्थापना गरी प्रोसेसिङ गर्न त पक्कै पनि सम्भव नहोला तर प्रकृति अनुसार फोहोरलाई छुट्याएर राख्न प्रत्येक व्यक्तिले सक्छन् र त्यो सबैले गर्नु पर्ने हुन्छ । त्यसरी छुट्याइसकेपछि जैविकलाई कम्पोष्ट मल बनाइ त्यसबाट आम्दानी लिन सकिन्छ भने अजैविकलाई छुट्याएर प्रशोधन केन्द्र मार्फत पुन चक्ररण गरियो भने फोहोर नै हाम्रो लागि मोहोर बन्नेमा दुइमत छैनन ।

छिमेकी राष्ट्रहरुमा वातावरण प्रति व्यक्तिहरु सचेत भएको देख्दा कता कता नेपालमा पनि त्यस्तो जागरुकता भइदिएको भए सायद घरबाटै फोहरमैला को उचित व्यवस्थापन हुनसक्थ्यो होला। बागमती, विष्णुमति जस्ता नदीहरूमा आज स्वच्छ पानी बगिरहेको देख्न सकिन्थ्यो होला। हामीले सम्बन्धित निकाय र सरकारको भर नपरी आफ्नो घरबाट निस्कने फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ अलिकति पनि ध्यान दिन सके सायद फोहोरबाट मोहोर बनाउन सकिने कुरा नकार्न सकिदैन । अझै पनि प्रसस्त सम्भावनाहरु छन् त्यसैले फोहोर व्यवस्थापन को जिम्मा पाएको निकायले ल्यान्डफिल्ड साइट खोज्नु भन्दा पनि फोहोरबाट कसरी मोहोर बनाउन सकिन्छ भन्ने विकल्पतिर आफ्नो ध्यान केन्द्रित गर्नु पर्ने देखिन्छ ।

                                                                                                                                                                                                                                                            रेखा भट्ट

                                                      


Share:
Reaction :
ताजा समाचार
खेलकुद