Media Network

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २ हजार ८ सय १० एम्पुल नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१८ सैबु बस्ने ३८ वर्षीय कानविन श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय ध्रुव लिम्बु र पर्सा बिन्दबासिनि गाउँपालिका–४ बस्ने ४० वर्षीय जमुना साह तेली रहेका छन् । 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूमध्ये श्रेष्ठलाई बुप्रेनोर्फिन २ सय ४३ एम्पुल, फेनारगन २ सय ४३ एम्पुल, डाइजेपाम २ सय ४३ एम्पुल र नगद २० हजार रूपैयाँ सहित बिहीबार ललितपुर महानगरपालिका–२ झम्सिखेलबाट, लिम्बुलाई बुप्रेनोर्फिन ५ सय ६० एम्पुल, फेनारगन ५ सय ८४ एम्पुल र डाइजेपाम ७ सय ३७ एम्पुल सहित र तेलीलाई बुप्रेनोर्फिन ९८ एम्पुल र डाइजेपाम १ सय २ एम्पुल सहित शुक्रबार काठमाडौं कालोपुलबाट पक्राउ गरेको हो । उक्त लागूऔषधहरू तेलीले लिम्बुमार्फत् श्रेष्ठलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठ यसअघि कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ४ महिना कैद भुक्तान गरि छुटेका थिए । 

पर्सा, वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित तीन जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१० बस्ने २७ वर्षीय सोनु मिश्र, भारतीय नागरिक १९ वर्षीय राहुल कुमार र १९ वर्षीय दिपु कुमार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद