Media Network

अवैध लागूऔषध सहित पक्राउ


खबरस्टोरी संवाददाता

१८ पुष २०७९,सोमबार

मोरङ।रंगेली नगरपालिका–१ बविया बस्ने ४० वर्षीय मनोज राजंवशीलाई अवैध लागूऔषध गाँजा ३ सय ५० किलो सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले तलासी गर्दा १५ वटा बोरामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको खुल्न आएका धनकुटा, धनकुटा शहिदभूमी गाउँपालिका–२ बस्ने २९ वर्षीय सबेचन भन्ने हस्त राईलाई समेत प्र.१–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ । 

धनकुटा, साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ५० ग्राम सहित सोही गाउँपालिका–७ बस्ने २५ वर्षीय राजु लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढीबाट धरानतर्फ जाँदै गरेको को.७ प ३७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

चितवन, ईच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजार तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङबाट गस्तीमा खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलामा राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने तेह्रथुम फेदाप गाउँपालिका–३ घर भएका ४४ वर्षीय नरेश बस्नेतलाई बाट नियन्त्रित लागूऔषध नुफिन ३५ थान, फेनारगन ५५ थान, डाइजेपाम ५६ थान, नाइट्रेभेट ३ सय ट्याबलेट, नाइट्राजेपाम ३ सय ट्याबलेट, स्पास्मो ९० ट्याबलेट, ट्रामाडोल ९० ट्याबलेट, काफ डि ४० ट्याबलेट र स्पास्मो प्रोक्सिभन प्लस ४ सय ३२ ट्याबलेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी ललितपुर हरिसिद्धिबाट पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद