Media Network

बचतकर्तालाई ठगेपछि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौ । हेटौंडास्थित एक सहकारीका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । 

बचतकर्ताहरूकै उजुरीका आधारमा हेटौंडा उपमहानगरपालिका–२ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष धादिङ फूलखर्क घर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

दर्जनौं बचतकर्ताले सहकारीको पासबुकसहित उजुरी दिएकाले छानबिनका लागि अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सहकारीको बचत रकम हिनामिना भएपछि बचतकर्ता र नियमित पैसा संकलन गर्ने कर्मचारी समस्यामा परेका छन्। सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए ।

उजुरीमा उनीहरूले आफूहरूको पैसा फिर्ता माग्दा नदिइएको उल्लेख गरेका थिए । अध्यक्ष र कोषाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिनुअघि उनीहरूलाई साउन २० गते सटही हुने गरी चेक दिइएको थियो । तर चेक नसाटिएपछि उनीहरूले साउन २४ मा प्रहरीमा उजुरी दिएका हुन ।

सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक÷देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बानियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो । तर खातामा रकम नभएकाले ती चेक साटिएनन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद