Media Network

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजना दोषी ठहर


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौ । सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित चारजनालाई बुधबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। यो प्रकरणमा लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्र प्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई विशेषले दोषी ठहर गरेको हो। यससँगै विशेषले अब उनीहरूविरुद्धको सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश दिएको छ। 

पूर्वडीआईजी शाहसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चारजनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो।उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६।८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी खाएको पुष्टि भएको अख्तियारको दाबी थियो। 

अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद